मिलेर अघि बढ्ने प्रहरीको प्रतिबद्धता

व्यावसायिक वातावरण बनाउन ध्यानाकर्षण



न्यूज अफ नेपाल , ललितपुर ।
महानरीय प्रहरी परिसर ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले अपराध न्यूनीकरण र शान्ति सुरक्षाको प्रत्याभुतको लागि सबैसंग मिलेर अघि बढ्ने बताउनुभएको छ ।

जावलाखेल प्रहरी परिसरमा ललितपुरका उद्यमी व्यवसायीहरुसंगको भेटमा उहाँले सो कुरा बताउनुभएको हो । प्रहरी वरिष्ठ राईले अपराध न्यूनीकरण र शान्ति सुरक्षाका लागि सबैको सहयोग, सदाशयताको खाँचो पनि औल्याउनुभयो । उहाँले चाडपर्व नजिकै गर्दाको सुरक्षा चुनौतीलाई केलाउँदै सुरक्षा नीति बनाउने गृहकार्य भइरहेको पनि जानकारी दिनुभयो।

अपराध अनुसन्धानमा लामो समय काम गरेको अनुभवलाई उच्चत्तम सदुपयोग गर्ने बताउँदै प्रहरी वरिष्ठ उपरीक्षक राईले प्रहरीप्रति जनविश्वास बढाउन व्यावसायिक मूल्य र मान्यतामा रहेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

भेटमा ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष किरणभाई बज्राचार्यले सुनको मूल्यमा भएको उच्च मूल्यवृद्धिसंगै चोरी, लुटपाटको सम्भावना पनि बढेकोले विशेषतः पुल्चोक, लगनखेल, गाबहाल, हःखा, मंगलबजार लगायत सुनचाँदी पसलहरु भएको स्थानमा निगरानी बढाउन पनि आग्रह गर्नुभयो । अध्यक्ष बज्राचार्यका अनुसार सुन मूल्यवान र सहजै लुकाउने सक्ने भएकोले चोरी र लुतपाटको पहिलो निशाना बन्ने गरेको छ ।

अध्यक्ष बज्राचार्यले विगतमा सुनचाँदी व्यवसायी समेत हत्या हुने, चोरी, लुटपाटका घटनाहरु भइरहने अवस्था अहिले नभएपनि शान्ति सुरक्षाको प्रत्याभुत गर्न कुनै कसर बाँकी राख्न नहुने धारणा राख्नुभयो ।

सो अवसरमा ललितपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एंव समाजसेवी अजरमान जोशीले प्रहरी प्रशासनले समन्वयात्मक र सहकार्य गरेर अघि बढ्दा अपेक्षाकृत नतिजा हासिल गरेको थुप्रैै उदाहरण रहेको बताउनुभयो ।

व्यवसायीहरुले नाफा कमाउने कार्यमात्र सीमित नभई समुदायको आवश्यकता बोध गरेर प्रहरी र समुदाय साझेदारी कार्यहरु गर्दै आएको पनि उहाँले बताउनुभयो ।

भेटमा संघका महासचिव सुविन बज्राचार्य गलत कार्य गर्ने व्यवसायीलाई कानूनी दायरामा ल्याउनुपर्ने पक्षमा व्यवसायी रहेको बताउँदै यस बारे कामकारवाहीमा प्रहरीले संघसंग सहकार्य गरेर अघि बढ्न पनि आग्रह गर्नुभयो ।

सो अवसरमा प्रहरी उपरीक्षक दुर्गा सिंह, प्रहरी नायब उपरीक्षक सन्तोष तामाङ, देवन्द्र पाण्डे, संघका निर्वतमान अध्यक्ष रुपकुमार शाक्य लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्