‘नेपाल सरकारको धारणा बेइजिङबाट थाहा पाउनु अचम्म’



नेपाल समाचारपत्र, काठमाडौं।अमेरिकाको तथाकथित इन्डो प्यासिफिक रणनीतिलाई अस्वीकार गर्ने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताउनुभएको चिनियाँ विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

चिनियाँ विदेशमन्त्री वाङ यी मंगलबार स्वदेश फर्केपछि चिनियाँ विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्यो।

विज्ञप्तिमा यी र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटघाटबारे उल्लेख गरिएको थियो।

उक्त भेटमा भएको कुराकानी उद्धृृत गर्दै प्रचण्डले नेपालले अमेरिकाको इन्डो प्यासिफिक रणनीतिलाई अस्वीकार गर्ने बताएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।

बेइजिङले निकालेको विज्ञप्तिबारे समाचार आएपछि काठमाडौंस्थित अमेरिकी राजदूतावासले यसबारे नेपाल सरकारको आधिकारिक धारणा मागेको छ।

उसले नेपाल सरकारको धारणा बेइजिङको विज्ञप्तिबाट थाहा पाउनु अचम्मको कुरा भएको बताएको छ।

‘नेपाल असंलग्न नीतिलाई पूर्ण रूपमा अंगीकार गर्छ र अमेरिकाको तथाकथित इन्डो प्यासेफिक रणनीतिलाई अस्वीकार गर्छ।

कसैले चीनको विकास रोक्न प्रयास गरे विरोध गर्छ, चीनको विकास नेपालका लागि अवसर हो भन्नेमा सधैँ विश्वास गर्छ र चीनको सफल अनुभवबाट सिक्न चाहन्छ,’ प्रचण्डको भनाइ उद्धृृत गर्दै विज्ञप्तिमा भनिएको छ।

‘हामी नेपाल सरकारको आधिकारिक स्पष्टीकरण पर्खिरहेका छौं र हाम्रो बेइजिङस्थित दूतावासलाई पनि त्यो विज्ञप्तिको पुष्टिका लागि भनेका छौं,’ दूतावासकी प्रवक्ता एन्डी डी आर्मेन्टले भन्नुभयो– ‘यदि यो सत्य हो भने नेपालको धारणा बेइजिङबाट निस्किने विज्ञप्तिबाट थाहा हुन्छ भने त्यो अचम्मको कुरा हो।’

प्रतिक्रिया दिनुहोस्