पोर्चुगलको जितमा रोनाल्डोको ४ गोल



लन्डन, (एजेन्सी)। क्रिस्टियानो रोनाल्डोको ४ गोलको मद्दतमा पोर्चुगलले युरोकप छनोटमा लिथुआनियामाथि शानदार जित निकालेको छ।

लिथुआनियामा मंगलबार राति भएको खेलमा रोनाल्डोको ४ गोलको सहयोगमा पोर्चुगलले घरेलु टोलीलाई ५–१ को फराकिलो गोलअन्तरले पराजित गरेको हो।

पोर्चुगलले खेलको सातौं मिनेटमा रोनाल्डोको पेनाल्टी गोलबाट सुरुआती अग्रता बनाएको थियो। मिकोलिउनासले जोओ फेलिक्सलाई फल गरेपछि प्राप्त पेनाल्टीमा रोनाल्डोले सहजै गोल गरेका थिए। २८औं मिनेटमा भेटाउटास एन्ड्रियुसकेभिसले बराबरी गोल फर्काउँदा पहिलो हाफ बराबरीमा सकिएको थियो।

यस्तै ६२औं मिनेटमा राफा सिल्भाको पासमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि पोर्चुगलले २–१ ले अग्रता बनायो। त्यसको तीन मिनेटपछि नै बर्नाडो सिल्भाको पासमा रोनाल्डाले ह्याट्रिक पूरा गरे।

त्यस्तै रोनाल्डोले ७६औं मिनेटमा बर्नाडोकै पासमा चौथो गोल गरे। अन्तिम मिनेटमा विलियम कार्भाल्होले गोल गर्दै पोर्चुगललाई ५–१ को फराकिलो जित दिलाए।

पोर्चुगलका लागि ९३ गोल गर्दै सर्वाधिक गोलकर्ता रहेका रोनाल्डोले समग्रमा आठौं अन्तर्राष्ट्रिय ह्याट्रिक पूरा गरेका हुन्।

उनी आयरल्यान्डका रोबी किनको २३ गोलको कीर्तिमानलाई तोड्दै युरो छनोटमा सर्वाधिक गोल गर्ने खेलाडी पनि बने।

मंगलबार राति ह्याट्रिक गरेका रोनाल्डोले २५ गोल पूरा गरेका हुन्। रोनाल्डोले हालसम्म १ सय ६० म्याच खेल्दै ९३ अन्तर्राष्ट्रिय गोल गरेका छन्।

अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलको कीर्तिमानी इरानका अली देइको नाममा रहेको छ। सन् १९९३ देखि २००६ को बीचमा इरानको प्रतिनिधित्व गरेका अलीको नाममा १ सय ४९ म्याचबाट १ सय ९ गोल गरेको किर्तिमान रहेको छ।

प्रभावशाली जितसँगै पोर्चुगल समूह ‘बी’ मा ४ खेलबाट ८ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। लिथुआनिया १ अंकसहित पुछारमा छ।

यसै समूहको अर्काे खेलमा सर्वियाले लक्जेमवर्गलाई ३–१ ले हरायो। सर्बिया ७ अंकसहित तेस्रो तथा लक्जेमवर्ग ४ अंक जोडेर चौथो स्थानमा छ।

फ्रान्सको सहज जित

युरोकप छनोटमा समूह ‘एच’ अन्तर्गत मंगलबार राति घरेलु मैदानमा फ्रान्सले एन्डोरामाथि ३–० को सहज जित निकालेको छ। फ्रान्सको जितमा किङ्सले कोमान, क्लेमेन्ट लेङलेट र विसाम विन यडरले गोल गरेका थिए।

जितसँगै यस समूहको एक खेलमा पराजित भएको फ्रान्सको ६ खेलबाट १५ अंक रहेको छ। समान ६ खेलबाटै टर्कीको १५ अंक छ। हेड टु हेडका आधारमा टर्की शीर्ष स्थानमा छ।

टर्कीले मंगलबार राति नै माल्दोभालाई ४–० ले पराजित गरेको थियो। यही समूहमा अल्वानियाले आइसल्यान्डलाई ४–२ ले पराजित गरेको छ। समान ६ खेलमा आइसल्यान्डको १२ र अल्बानियाको ९ अंक रहेको छ।

इंग्ल्यान्डको सानदार जित

युरो २०२० छनोटअन्तर्गत इंग्ल्यान्डले घरेलु मैदानमा कोसोभोलाई ५–३ गोलअन्तरले हराउँदै सानदार जित दर्ता गरेको छ।

पहिलो मिनेटमै गोल बेहोरेको इंग्ल्यान्डले त्यसपछि सम्हालिँदै जित आत्मसात गरेको हो। खेलको ३४औं सेकेन्डमा नै कोसोभोले गोल गर्दै खेलमा अप्रत्याशित अग्रता लिएको थियो।

डिफेन्डर माइकल किनको गल्तीको फाइदा उठाउँदै भालोन बेरिसाले गोल गरेका थिए।
तर इंग्ल्यान्डले पहिलो हाफमा नै ५ गोल गर्दै फराकिलो अग्रता कायम गर्यो। खेलको आठौं मिनेटमा नै रहिम स्टरलिङले गोल गर्दै खेल बराबरीमा ल्याए।

रहिमकै पासमा कप्तान ह्यारी केनले १८औं मिनेटमा दोस्रो गोल गरे। ३८ औं मिनेटमा कोसोभोका मेर्गिम बोज्बोदाले आफ्नै गोलपोस्टमा बल छिराएपछि इंग्ल्याण्डको अग्रता दोब्बर बनेको थियो।

खेलको ४४औं र ४५औं मिनेटमा जादोन सान्चोले गोल गरेपछि पहिलो हाफसम्म इंग्ल्यान्ड ५–१ ले अघि रह्यो। खेलको ४९ औं मिनेटमा कोसोभोका लागि बेरिसाले नै काउन्टर अट्याकमा गोल गरे।

त्यसपछि ह्यारी मगाएरले पेनाल्टी क्षेत्रभित्र भेदात मुरिकीलाई लडाएपछि प्राप्त पेनाल्टीमा उनैले गोल गरे। ६५औं मिनेटमा कप्तान केनले पेनाल्टी मौका पाएपनि त्यसमा गोल गर्न नसक्दा इंग्ल्यान्डको अग्रता बढेन।

जितसँगै शीर्षस्थानको इंग्ल्यान्डले ४ खेलबाट १२ अंक जोडेको छ। समूह ‘ए’ कै अर्को खेलमा चेक गणतन्त्रले मोन्टेनेग्रोमाथि ३–० को जित दर्ता गर्यो।

जितसँगै चेक अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। चेकको ५ खेलमा ९ अंक छ भने समान खेलमा कोसोभोको ८ अंक छ। मोन्टेनेग्रो र बुल्गेरियाको २–२ अंक रहेको छ।

प्रतिक्रिया दिनुहोस्