काभ्रेमा भेटिए डेंगुका ६ बिरामी



काभ्रे, (नेस)।देशभर फैलिएको डेंगु रोगका बिरामी काभ्रेमा पनि देखिन थालेका छन्। बुधबारसम्म ६ जना बिरामी अस्पतालमा भर्ना भएको स्वास्थ्य कार्यालय काभ्रेले जानकारी दिएको छ।

भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धुलिखेलले आयोजना गरेकोे जुनोटिक रोग सम्बन्धी अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले व्यक्तिको घरमा जम्मा भएर बसेको सफा पानीलाई तत्काल हटाउन, टायर तथा प्लास्टिकजन्य वस्तुमा जमेको सफा पानीमा लामखुट्टेले बच्चा जन्माउने र त्यहीबाट फैलँदै व्यक्तिलाई टोकेर डेंगु फैलिएको बताउनुभयो।

डेंगु हुन नदिन तत्काल घरवरपरको वातावरण सफा गर्नुपर्ने उहाँले बताउनुभयो।

जिल्लामा बुधबार साँझसम्म ६ जना व्यक्ति डेंगुका कारण अस्पतालमा भर्ना भएका छन्। डा. झाका अनुसार जिल्लाको कोशीपारी, पाँचखाललगायतका क्षेत्रबाट आएका बिरामीमध्ये ६ जनालाई डेंगु देखिएको छ।

स्वास्थ्य कार्यालय काभ्रेले जिल्लाका १३ वटै स्थानीय तहमा त्यस बारेमा जनचेतना फैलाउन र अभियान सञ्चालन गर्न परिपत्र गरिसकेको छ भने स्थानीय सरकारले पनि नागरिकको स्वास्थ्यलाई ख्याल राख्दै डेंगुबाट बच्न र हुनै नदिन अपनाउनुपर्ने सतर्कताका बारेमा ध्यानार्कषण गराउन थालेका छन्। पनौती, धुलिखेल, मण्डन देउपुर नगरपालिकाले अभियान शुरू गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्