दशैंको मुखमा खाद्यान्न तथा किराना पसलमा अखाद्य वस्तु



रामचन्द्र विक, रामेछाप।जिल्लाको मुख्य बजार भनेर चिनिने मन्थली बजारका खाद्यन्न तथा किराना पसलहरूमा अखाद्य वस्तु भेटिन थालेको छ।

जिल्लाको सदरमुकामसमेत रहेको मन्थलीका अधिकाशं पसलहरूमा बेच्न राखिएको अवस्थामा म्याद गुज्रेका सामाग्री ठूलो परिमाणमा भेटिएको जिल्ला प्रशासन कार्यालयले जानकारी गराएको छ।

दशैं नजिकिएसँगै व्यवसायीले उपभोक्तालाई ठग्न सक्ने भन्दै जिल्ला प्रशासनले सोमबारदेखि चलाएको बजार अनुगमन अभियानमा म्याद गुज्रेका पिय पदार्थ, विस्कुट, चियापत्ती, कुरमुरेलगायतका सामग्री भेटिएको प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेले बताउनुभयो।

त्यस्तै किराना पसलमा अनुमतिबिना सुर्तीजन्य पदार्थसमेत बिक्री गर्न राखिएको अवस्थामा भेटिएको प्रजिअ केसी पाण्डेले बताउनुभयो।

व्यवसायीले आफूले व्यवसाय दर्ता गराउँदा उद्देश्यमा उल्लेख भएबमोजिमका सामग्री मात्रै बिक्री गर्न पाउने भए पनि त्यसको बेवास्त गर्दै खुलेआम रुपमा त्यसरी बिक्री गर्नु राम्रो नभएको प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘हामीले पटक–पटक बजार अनुगमनका क्रममा गल्ती गर्नेलाई कारबाहीसमेत गरेका छौँ तर उहाँहरूले त्यसको बेवास्त गर्दै त्यस्तै हर्कत दोहोर्याइरहनुभएको छ।

व्यवसायी उद्योग वाणिज्य संघसँग बढी नजिक हुने हुँदा उनीहरूलाई त्यस्ता गल्ती दोहोर्याउँदा भविष्यमा हुने जोखिमको बारेमा र आफूले व्यापार गर्दा पूरा गर्नुपर्ने मापदण्डका बारेमा पूर्ण रुपमा जानकारी नगराइएको जस्तो देखिन्छ।

तसर्थ यसमा उद्योग वाणिज्य संघ, सेवाग्राहीलगायत सरोकारवाला निकाय बढी जिम्मेवार हुनुपर्छ।’

उता रामेछाप उद्योग वाणिज्य संघका महासचिब जगन्नाथ दाहालले उद्योग वाणिज्य संघले व्यवसायिहरूकै हितमा हुने गरी धेरै पटक सचेना गराउँदा व्यवसायीहरूले आफ्नो सानो कमजोरीलाई समेत सुधार नगरेको गुनासो गर्नुभयो।

मन्थलीका सबै व्यवसायीलाई उद्देश्यअनुसार सामग्री राख्नेदेखि लिएर व्यवसायीलाई आवश्यक पर्ने जानकारीसहितको चेक लिस्ट वाणिज्य संघले उपलब्ध गराएको भए पनि त्यसको प्रयोग नभएको महासिचव दाहालले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्