आत्महत्याको अवस्था भयावह:पाँच वर्षमा ५ सय १३ जनाले गरे आत्महत्या



गणेश घिमिरे, इलाम।इलाममा आत्महत्या दर वर्षेनी बढ्दै गएको छ। आत्महत्या गर्नेमा सबैभन्दा बढी पुरुष रहेका छन्।

जिल्ला प्रहरी कार्यालय इलामको तथ्यांकअनुसार जिल्लामा पाँच वर्षको अवधिमा ५ सय १३ जनाले आत्महत्या गरेका छन्। जसमध्ये सबैभन्दा बढी आर्थिक वर्ष ०७४/०७५ मा एक सय ११ जनाले आत्महत्या गरेका छन्।

सो आर्थिक वर्षमा ७२ जना पुरुष, ३७ जना महिला र एकजना बालिकाले आत्महत्या गरेका छन्। त्यसमा झुण्डिएर ९२ जना, विष सेवन गरेर १६ जना तथा आगो लगाएर, हाम फालेर र हतियार प्रयोग गरेर आत्महत्या गरेका छन्।

प्रहरी तथ्यांकअनुसार ५ वर्षको अवधिमा ३ सय १५ जना पुरुष र १ सय ९८ जनाले आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी इन्सपेक्टर सन्तोषकुमार बुढाथोकीका अनुसार चालु आर्थिक वर्षको डेढ महिनाको अवधिमै आत्महत्या बढेको छ।

उहाँका अनुसार हालसम्म ११ जनाले आत्महत्या गरिसकेका छन्। झुण्डिएर आत्महत्या गरेका मध्ये पाँचजना पुरुष, तीनजना महिला, दुईजना बालिका र एकजना बालक छन्।

तथ्यांकअनुसार आर्थिक वर्ष ०७१/०७२ मा ९७ जनाले आत्महत्या गरेका थिए। ५६ पुरुष र ४१ महिलाले आत्महत्या गरेका थिए। जसमध्ये सबैभन्दा बढी ९१ जनाले झुण्डिएर आत्महत्या गरेको तथ्यांकमा उल्लेख छ।

त्यस्तै ५ जनाले विष सेवन गरेर र १ जनाले हाम फालेर आत्महत्या गरेका थिए। आर्थिक वर्ष ०७२/०७३ मा ९४ जनाले आत्महत्या गरेका थिए। त्यसमा ५७ पुरुष, ३९ महिला, ४ बालक र २ बालिका छन्।

त्यसमा सबैभन्दा बढी ९१ जनाले झुण्डिएर आत्महत्या गरेको प्रहरी तथ्यांकमा उल्लेख छ। यस्तै आर्थिक वर्ष ०७३/०७४ मा १ सय ८ जनाले आत्महत्या गरेका थिए। ६२ पुरुष र ४४ महिला र एक/एकजना बालक र बालिकले आत्महत्या गरेका थिए। त्यसमा सबैभन्दा बढी ९९ जनाले झुण्डिएर आत्महत्या गरेका थिए।

गत आर्थिक वर्षमा ९९ जनाले आत्महत्या गरेका थिए। त्यसमा ६३ जना पुरुष, ३४ जना महिला र दुईजना बालकले आत्महत्या गरेका थिए। आत्महत्या गर्नेमा झुण्डिएर ९२ जनाले गरेका थिए।

यसरी पाँच वर्षको इलाममा आत्महत्याको संख्यालाई हेर्ने हो भने झुण्डिएर आत्महत्या गर्नेको संख्या सबैभन्दा बढी देखिएको छ।

पाँच वर्षमा झुण्डिएर मात्र ४ सय ६५ जनाले आत्महत्या गरेको प्रहरी तथ्यांकमा उल्लेख छ। आत्महत्याको मुख्य कारण मानसिक समस्या नै रहेको मनोचिकित्सकले बताएका छन्।

दुव्र्यसनी, दीर्घ रोगी, पारिवारिक अवहेलना, घरेलु हिंसा, आर्थिक विपन्नता, पारिवारिक कलह, इच्छाएको पूरा नहुनुजस्ता कारणले मानिसमा डिप्रेसन हुँदै आत्महत्यासम्म पुग्ने गरेको आत्महत्यासम्बन्धी अध्ययन गर्दै आएको टीपीओ नेपालका कार्यकारी निर्देशक मनोचिकित्सक डा. कमल गौतमले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्