प्युठान अस्पतालको हरिबिजोग : दरबन्दी छ, डाक्टर छैनन्



प्यूठान। जिल्लाकै पुरानो र ठूलो प्युठान जिल्ला अस्पतालमा सरकारी चिकित्सक दरबन्दी १४ हो । हाल एकजना पनि दरबन्दिका विशेषज्ञ चिकित्सक छैन्न।

करारका दुई जना डाक्टरको भरमा सरकारी अस्पताल धानिएको छ। दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सक नहुँदा उपचारका लागि आएका बिरामीले यहा सास्ती खेप्नुपरेको छ ।

दैनिक २५० बढीले ओपीडी सेवा र भर्ना भई उपचार हुने अस्पताल विशेषज्ञ चिकित्सक बिहिन अबस्थामा छ। बिरामीहरू उपचार नगरी घर फर्कन बाध्य छन ।

निकसाइमन इन्स्टिच्युटले छात्रवृत्ति करारमा पठाएका एमबीबीएस डा। सत्य वैद्य र सुनील सुनारले शल्यक्रियासहितको सुत्केरी सेवा र आकस्मिक सेवा धानेका छन् ।

चिकित्सक अभावका कारण २४ घण्टा डिउटी गर्नुपरेको डा बैद्यले बताउनुभयो । समयमै कर्मचारी व्यवस्था नहुने हो भने अस्पताल बन्द गर्नुपर्ने स्थिति छ उहाले भन्नुभयो ।

८ जना विशेषज्ञसहित ११ औं तहको मेडिकल सुपरिटेण्डेन्टको दरवन्दी अहिलेसम्म पूरा हुन सकेको छैन ।

३ बर्ष अघि मन्त्री परिषदको निर्णयले १५ शैयाको अस्पताललाई स्तरबृद्धि गरि ५० शैयाको बनाए पनी हाल सम्म बिशेषज्ञ सेवा पुग्न नसकेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख विशाल सुवेदीले बताउनुभयो।

जनशक्तिसँगै अस्पतालमा भौतिक सुविधा, प्रयाप्त औषधि र उपकरण समेत उपलब्ध हुन नसकेको उहाको भनाई छ। औषधि किन्ने अख्तियारी कसैलाई छैन ।

अस्पतालको खातामा लाखौं रुपैयाँ हुँदाहुँदै पनि कार्यालय प्रमुख नभएको र अरुलाई आर्थिक जिम्मेवारी नभएकाले समस्या देखिएको सुबेदिले बताउनुभयो ।

साताअघि निमित्त अस्पताल प्रमुख शेषराज घिमिरेले जानकारी र निमित्त नै नदिई अस्पताल छोडेपछि जिल्ला अस्पतालको सेवा थप प्रभावित भएको छ ।

सोमबार अस्पतालको अवस्थाबारे बुझ्न प्युठान पुगेका प्रदेश ५ को स्वास्थ्य निर्देशनालय प्रमुख डा. विनोदकुमार गिरीसँग समेत कर्मचारीले अस्पताल अस्तव्यस्त भएको र असारदेखि पारि श्रमिक पनि नपाएको गुनासो पोखेका छन ।

निर्देशक गिरीले कार्यालय प्रमुखलाई अस्पताल छाड्नुको कारणबारे स्पष्टीकरण माग्ने र एक–दुई दिनमै काजमा प्रमुखको जिम्मेवारी तोकेर चिकित्सक पठाउने आश्वासन दिएका छ्न ।

धेरैले संघअन्तर्गतका अस्पताल रोजेकाले प्रदेशअन्तर्गतका अस्पतालमा चिकित्सकको अभाव भएको उहाले बताउनुभयो । मेडिकल अधिकृत घिमिरे र सरस्वती सुर्खेती खबरै नगरी हिँडेको पाइएको गिरीले बताउनुभयो ।

चिकित्सक सुशीला थापा सुत्केरी बिदामा छन् । दुई वर्षदेखि अस्पताल प्रशासन कर्मचारीविहीन छ ।

लेखापाल नहुँदा औषधि खरिदलगायतका काममा समस्या छ । जिल्ला स्वास्थ्य कार्यालयका लेखापालबाट काम चलाउँदै आए पनि साउन महिनायता लेखाको पूरै काम ठप्प छ ।

प्युठान सहित छिमेकी जिल्ला गुल्मी,बागलुङ, अर्घाखाँची र रोल्पाका बिरामीले अस्पताल भरिभराउ छ ।एउटै बेडमा २ बिरामी राखेर उपचार गरिएको छ ।

यस्तो बेला अस्पताल लथालिंग पारेर निमित्त प्रमुखले अस्पताल छाडेर गएकाले अस्पतालमा समस्या थपिएको प्यूठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले बताउनुभयो।

‘अस्पतालमा सेवा नभएपछि बिरामीले निजी क्लिनिकमा महँगो शुल्क तिरेर सेवा लिने गरेका छन् । स्वास्थ्य बिमा गरेका बिरामीले औषधि नपाएको गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्