एटीएममा समस्या आए हामीलाई फोन गर्नुस्, तत्काल भुक्तानी दिलाउँछौं ः राष्ट्र बैंक



परिवर्तन देवकोटा, काठमाडौं। भारत लगायत, अन्य देशहरूमा रहेका नेपालीहरूले एटीएममा समस्या आएको गुनासो आएसँगै नेपाल राष्ट्र बैंकले त्यसलाई सम्बोधन गर्ने भएको छ।

स्वास्थ्य उपचार लगायतका विविध कामले भारत, सिंगापुर, थाइल्याण्डलगायतका देशहरूमा रहेका नेपालीहरू आफूले बोकेको एटीएम कार्ड नचलेर सास्ती पाएको समाचार नेपाल समाचारपत्रमा छापीएसँगै राष्ट्र बैंकले तत्काल त्यसलाई सम्बोधन गरेको हो।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले समस्यामा परेका सेवाग्राहीहरूलाई सहजताका लागि राष्ट्र बैंकका सम्पर्क गरे २४ घण्टाभित्रै रकम भुक्तानीको व्यवस्था मिलाईने दावी गर्नुभयो।

नेपाल समाचारपत्रसँगको कुराकानीमा उहाँले भन्नुभयो, ‘उहाँहरूले नेपालमा रहेका आफ्ना आफन्तमार्फत मलाई नै सम्पर्क गर्नुभयो भने मात्रै पनि, हामी २४ घण्टाभित्र मै रकम भुक्तानीको व्यवस्था गर्छौं।’

बुधबार एटीएम नचल्दा सेवाग्राहीहरू मर्कामा भन्ने शीर्षकका नेपाल समाचारपत्रका समाचार छापिएको थियो। त्यसपछि राष्ट्र बैंकले सेवाग्राहीलाई समस्या नपरोस् भनेर तत्काल सुनुवाईको व्यवस्था मिलाएको हो।

प्रवक्ता निरौलाले भन्नुभयो , ‘समस्यामा परेकाको आफन्तले मेरो व्यक्तिगत नम्बर ९८५१२१०९१९ मा सम्पर्क गरौं, २४ घण्टाभित्रै भुक्तानीको व्यवस्था हामी मिलाउछौं।’ चिनियाँ ह्याकरहरूले नेप्सको सिस्टम नै ह्याक गरि एटीएमबाट रकम निकालेका थिए।

अहिले नेप्सको सिस्टम तथा नेटवर्कहरू अपग्रेड गर्ने काम भैरहेको छ। ती कामहरू छिट्टै सकिने भएकाले यसको विकल्प अपनाउन समेत प्रवक्ता निरौलाले आग्रह गर्नुभएको छ।

बैंकहरूले सेवाग्राहीलाई समस्याबारे नम्र भएर जानकारी दिनुपर्ने र काम कारवाहीहरू सञ्चालनमा ल्याउनुपर्ने उहाँले बताउनुभयो।

नेपाल समाचारपत्रको कुराकानीमा राष्ट्र बैंकका प्रवक्ता निरौलाले भन्नुभयो, ‘बैंकहरूको एटीएममा समस्या आएको छ, सेवाग्राहीले सेवा पाएका छैनन्, यति हुँदा पनि बैंकका कर्मचारीले उनीहरूलाई थर्काउने ? यो त मिल्दैमिल्दैन।’

कुनै सेवाग्राहीले यो बैंकले हामीलाई झर्को फर्को ग¥यो भनेर नामसहित भनेमा राष्ट्र बैंकले त्यो बैंकलाई कारवाही गर्ने पनि उहाँको भनाई छ।

प्रतिक्रिया दिनुहोस्