घरेलु उद्योगमार्फत व्यापारघाटा न्यूनीकरण हुने



नेपाल समाचारपत्र, काठमाडौं मुलुकको व्यापार घाटालाई कम गर्ने मुख्य आधार लघु, घरेलु तथा साना उद्योग भएको सरोकारवालाले जोड दिएका छन्।

नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको नेपाल सरकारले विभिन्न मुलुकका लागि नियुक्त गरेका नवनियुक्त महावाणिज्यदूत तथा राजदूतहरूसँगको भेटघाटमा उनीहरूले मुलुकमा चुलिँदै गएको व्यापारघाटा कम गर्न लघु, घरेलु तथा साना उद्योगलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका हुन्।

आफुहरूले काम गर्ने मुलुकमा साना उद्योगीका नेपाली उत्पादन र वस्तुको प्रवद्र्धन सघाउने प्रतिबद्धता उनीहरूले व्यक्त गरेका हुन्।

कतारका लागि नेपाली राजदूत नारद भारद्धाजले कतारमा अन्य मुलकको तुलनामा नेपाली पहिचान बोकेका वस्तुको मूल्य र महत्व उच्च

रहेको भन्दै घरेलु उद्योगलाई प्रतिस्पर्धी बनाउन आग्रह गर्नुभयो।लघु, घरेलु तथा साना उद्योगीकै प्रतिनिधि भएर कार्य क्षेत्रमा खटिने भन्दै उहाँले यस्ता उद्योगको उत्पादकत्व र क्षमता बढाएर महत्वपूर्ण क्षेत्र पहिचान गर्न आग्रह गर्नुभयो।

ग्वाङझाउका लागि महावाणिज्यदूत हरिशरण पुडासैनीले आफ्नो काम नै निर्यात व्यापारमा सघाउने भएको भन्दै परम्परागत नेपाली पहिचान बोकेका घरेलु उद्योगका उत्पादनको बजारीकरणका लागि लागिपर्ने बताउनुभयो।

आयात गरिएका कच्चा पदार्थ भन्दा पनि स्थानीय कच्चा पदार्थमा आधारीत उत्पादनमा ध्यान दिन आग्रह गर्दै उहाँले उत्पादनको गुणस्तरसँगै उत्पादकत्व बढाउन पनि आग्रह गर्नुभयो।

झण्डै ७० प्रतिशत निर्यातको हिस्सा ओगट्ने घरेलु उद्योगहरूको उत्पादनलाई विश्व बजारमा प्रचार प्रसार गर्ने आफूहरूको प्रमुख जिम्मेवारी रहेको उहाँहरूको भनाइ थियो।

महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले नवनियुक्त राजदूत र महावाणिज्यदूतलाई स्वागत गर्दै ती दुई देशमा नेपालको निर्यात व्यापार वृद्धि गर्न, त्यहाँका बढीभन्दा बढी पर्यटक नेपाल भित्र्याउन र नेपालमा रहेका घरेलु तथा साना उद्योगलाई आवश्यक उन्नत प्रविधि भित्र्याउन विशेष पहल हुने अपेक्षा गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्