सिभिल इन्जिनियरिङमा भर्ना भए प्रशासकीय अधिकृत

कक्षामा शिक्षकले खटाउँछन्, पालिकामा उनले



नेपाल समाचारपत्र, हेटौंडा। अध्ययनप्रतिको मोह कसलाई हुन्न र ? यही मोहले तानेको छ एक राष्ट्रसेवक कर्मचारीलाई।

मकवानपुरको भीमफेदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन कँुवर एलएलबी र अन्य विषयको मास्टर्स तहको अध्ययन सकेर पनि स्थानीय महेन्द्र माविमा १८ महिने सिभिल इन्जिनियरिङ कक्षामा भर्ना भएर अध्ययन गरिरहनुभएको हो।

गुल्मी भीरकोट गाउँपालिका–३ मा २०४५ मंसिर १५ गते जन्मिनुभएका उहाँले दीपक मावि भनभने, गुल्मीबाट एसएलसी, रेम्बो इन्टरनेसनल कलेज काठमाडौंबाट स्नातक (गणित, बीए), नेपाल ल क्याम्पस काठमाडौंबाट एलएलबी, त्रिभुवन विश्वविद्यालयबाट मास्टर इन पब्लिक एड्मिनिस्ट्रेसन (एमपीए) र पोलिटिकल साइन्स (एमए) त्रिभुवन विश्वविद्यालयबाट गरिसक्नुभएको छ।

‘मैले खास गरी आफूले काम गर्न थालेको अवधिको दौरानमा स्थानीय तहमा काम गर्दा पूर्वाधार विकाससम्बन्धी काम गर्नुपर्ने तर आफूलाई यसमा प्राविधिक ज्ञान कम भएकाले फिल्डमा जाँदा प्राविधिक समस्या आएकाले सिभिल इन्जिनियरिङ अध्ययन गर्ने सोच बनाएको हुँ’ उहाँले कारण खोतल्नुभयो।

हरेक योजनाको डिजाइनिङ, स्टिमेट, मूल्यांकन गर्दा कठिनाइ भएको महसुस विगत तीन–चार वर्षदेखि उहाँले गरिरहनुभएको थियो।

आफ्नो कार्यथलोमा प्राविधिक शिक्षालय रहेको हुनाले यसपाली अध्ययन गरौं र सोबाट हासिल गरेको ज्ञानले आफ्नो दैनिक कार्यमा सहजता ल्याउने भन्ने आफ्नो सोच रहेको उहाँले प्रस्ट्याउनुभयो।

‘मेरो रिटायर्ड लाइफमा पनि आफूसँग प्राविधिक ज्ञान भए आफ्नै व्यावसायिक काम गर्न पनि सकिन्छ भन्ने हो,’ उहाँले थप्नुभयो– ‘भीमफेदीमा बस्दा प्राविधिक शिक्षाप्रतिको नयाँ विद्यार्थीको मोह र विश्वास विद्यालयप्रति बढाउनु उद्देश्य हो।’

‘प्राविधिक शिक्षा पढ्नुपर्ने रहेछ भन्ने हौसला नयाँ विद्यार्थीमा बढ्छ भन्ने पनि मेरो अपेक्षा हो। बाहिरका नयाँ मान्छेलाई यसले आकर्षित गर्नेछ’ –उहाँले भन्नुभयो।

बिहानको कक्षा भएकोले ९ बजेसम्म उहाँ विद्यालयमा पढ्नुहुन्छ। एक–दुई वटा कक्षा चाहिँ उहाँले छाड्नुपर्छ। त्यो चाहिँ स्वअध्ययन अथवा ट्युसनमार्फत् व्यवस्था मिलाउने उहाँले बताउनुभयो।

गत वैशाखबाट गाउँपालिकामा जिम्मेवारी बहन गरिरहनुभएका कँुवरले यसअघि विभिन्न क्षेत्रमा आफ्नो जिम्मेवारी पूरा गरिसक्नुभएको छ। पुनरावेदन अदालत जनकपुरमा दुईवर्ष नासु पदबाट जागिर शुरू गर्नुभएका उहाँले सर्वोच्च अदालतमा २०६९ सालमा एकवर्ष कार्य गर्नुभएको थियो।

वैदेशिक रोजगार न्यायाधीकरणमा तीनवर्ष (२०७०–२०७३) आफ्नो भूमिका निर्वाह गर्नुभएका उहाँले अधिकृतमा नाम निकाली बाजुराको हिमाली गाउँपालिकामा २०७४ मा आफ्नो पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो।

कैलालीको चुरे गाउँपालिकामा २०७४, पिछडिएको समुदाय उत्थान विकास समिति ललितपुरमा पनि उहाँले सेवा गर्नुभयो। यसपछि जिम्मेवारीको सिलसिलामा भीमफेदी आइपुग्नुभएको हो।

प्रतिक्रिया दिनुहोस्