बजेट अभावमा स्वास्थ्य चौकीको काम अलपत्र लाखौंको लगानी बालुवामा पानी



कविराज नेपाल, पाल्पा।एकातिर छरपष्टरूपमा गिट्टी, बालुवा र छड छरिएको, अर्काेतिर पिल्लर ठड्याइएको भए पनि खिया लागेको, वरिपरी झार र घाँस उम्रेका यो दृष्य पश्चिम पाल्पाको एउटा निर्माणाधीन स्वास्थ्य चौकीको भवनको हो।

यो अवस्थाले नेपालको निर्माणको परिपाटी, सम्बन्धित निकायको चासो र चिन्ता अनि बजेटको दुरुपयोगको अवस्थालाई राम्ररी झल्काउँछ।

तत्कालीन समयमा शान्ति मन्त्रालयबाट ५१ लाख रकम विनियोजन भई डीबी कन्स्ट्रक्सन कम्पनीमार्फत काम शुरू भएको थियो। भवनको ७० प्रतिशत काम भएपनि लामो समय बित्दासमेत निर्माण कार्य नहुँदा निर्माणाधीन भवनको अधिकांश संरचनाहरू जीर्ण बन्दैगएका छन्।

हो यस्तै अवस्थाबाट गुज्रेको छ पश्चिम पाल्पाको एउटा निर्माणाधिन स्वास्थ्य चौकी। सम्बन्धित निकायबाट बजेट आउने बाटो नै बन्द हँुदा मुझुङ स्वास्थ्य चौकी चार वर्षदेखि अलपत्र परेको छ।

रैनादेवी छहरा गाउँपालिका–५ मा रहेको मुझुङ स्वास्थ्य चौकी तत्कालीन समयमा शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट बजेट विनियोजन भई काम शुरू भएको चारवर्ष बितिसक्दासमेत बजेट नआउँदा भवन अलपत्र परेको हो।

पछिल्लोपटक शान्ति मन्त्रालय खारेज भएपछि भवन निर्माणको कामले गति लिन त सकेको छैन निर्माणाधीन संरचना पनि भत्किने अवस्थामा पुगेको छ।

२०७२ सालमा शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट क्रमागत योजनामा परेको भए पनि बजेट नआउँदा भवन अलपत्र परेको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताउनुभयो।

संघीय सरकारमार्फत सञ्चालन भएको योजना भएकाले अपुरो योजनालाई तत्काल सञ्चालन गरी जनताको स्वास्थ्य सेवामा सहजता ल्याइदिन संघीय सरकारलाई अध्यक्ष कार्कीले आग्रह गरेको भए पनि अझै सुनुवाइ भै नसकेको अध्यक्ष कार्कीको भनाइ छ।

तत्कालीन समयमा शान्ति मन्त्रालयबाट ५१ लाख रकम विनियोजन भई डीबी कन्स्ट्रक्सन कम्पनीमार्फत काम शुरू भएको थियो। भवनको ७० प्रतिशत काम भएपनि लामो समय बित्दासमेत निर्माण कार्य नहुँदा निर्माणाधीन भवनको अधिकांश संरचनाहरू जीर्ण बन्दैगएका छन्।

स्वास्थ्य संस्थाको भवन निर्माण कार्य पूरा हुन नसक्दा पानी चुहिने, पुरानो र जीर्ण कोठाबाट सेवा प्रवाह गर्नुपरेको वडाध्यक्ष हुमानसिंह कार्कीले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘अन्य प्रयोजनका लागि बनाइएको भवनबाट स्वास्थ्य सेवा दिनुपरेकाले सेवा प्रवाहमा समस्या भएको छ।’

भवन निर्माणको लागि लाखौं खर्च भए पनि यो पूरा हुन नसक्दा बजेट बालुवामा पानी पो हुने हो कि भन्ने चिन्ता स्थानीय बासिन्दाको रहेको छ।

समयमै भवन निर्माण नहुँदा उपचारका लागि आएका बिरामीको स्वास्थ्य उपचार साथै औषधीको भण्डारमा समेत कठिन भएको स्वास्थ्य संस्थाका प्रमुख विशेश्वरनाथ गोसाईंले गुनासो गर्नुभयो।

स्वास्थ्य चौकीमा दैनिक १५–२० जना बिरामी आउने गरे पनि एकै ठाउँबाट सेवा दिनुपरेको हेल्थ असिटेन्ट दुर्गा राहुले बताउनुभयो।

शान्ति तथा पुनर्निर्माण मन्त्रालयको बजेटबाट निर्मित भवनको निर्माण व्यवसायीले काम गरी म्याद थप गरे पनि मन्त्रालयले बजेट निकासा गर्न पहल नगरेको र स्थानीय सरकारले यस विषयमा जानकारी गराएको गाउँपालिकाका प्रवक्ता विष्णु पोखरेलले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्