विद्यालयको शिक्षा गुणस्तरीय बनाऊ



विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न सामुदायिक विद्यालयलाई सबल बनाउनुको कुनै विकल्पै छैन।

विद्यालयशिक्षामा न्यून लगानी, शिक्षक अभाव, शिक्षा क्षेत्रमा भएको राजनीतीकरण आदि कारणले सामुदायिक विद्यालय धराशयी हुँदै गएको अवस्था साँचो हो।

तर सामुदायिक विद्यालय अचानक धराशयी भएका भने पक्कै पनि होइनन्। यो त लामो समयसम्म राज्यले सामुदायिक विद्यालयमा गरेको बेवास्ताको परिणति हो। राज्यका नियमन निकायहरूले जिम्मेवारी निर्वाह गर्न नसक्दा यस्तो स्थिति आएको हो।

यदि सामुदायिक विद्यालय जोगाउने हो भने शिक्षण पेसालाई आकर्षक र मर्यादित बनाउँदै गुणस्तरीय शिक्षक उत्पादनमा ध्यान दिनुपर्छ।

नेपालमा सामुदायिक विद्यालय सुधारको प्राथमिक सर्त भनेको पेसा र जिम्मेवारीप्रति प्रतिबद्ध प्रधानाध्यापक र शिक्षक उत्पादन गरी उनीहरूलाई विद्यालयका कक्षा कोठासम्म सिकाई सहजीकरणका लागि पुर्याउनु हो।

योग्य र दक्ष शिक्षक भएमा विद्यार्थीको इच्छा, चाहना र क्षमताअनुसार सिक्ने सिकाउने वातावरण सिर्जना गर्न सक्षम हुन्छ। दक्ष जनशक्ति नै देशका लागि विकास र प्रगतिको वाहक हुन्।

नेपालमा शिक्षक तयारी, सीप विकास तथा पेसागत विकासका विभिन्न पर्यत्न भएका छन्। तथापि अपुग छन्। त्यसैले अरू उत्कृष्ट बनाउन थप प्रयास गर्नु जरुरी छ। अझ प्रतिस्पर्धात्मक बनाउन शिक्षक सेवाको उत्तीर्ण प्रतिशत बढाउनुपर्छ।

अनिवार्य तालिम दिने र कक्षामा त्यसको प्रयोगको अनुगमन गर्ने व्यवस्था गर्नुपर्छ। शिक्षक लाइसेन्सको अद्यावधिक गर्नु पनि अनिवार्य छ।

अब शिक्षकको योग्यता स्नातकचाहिँ हुनै पर्ने आवश्यकता देखिएको छ। जग बलियो भए मात्र घर बलियो हुन्छ।

सिकाइका दृष्टिकोणले सबैभन्दा महत्व दिनुपर्ने प्राथमिक तथा आधारभूत तहका विद्यार्थीलाई भने नेपालको शिक्षा प्रणालीले सबैभन्दा धेरै उपेक्षा गरिरहेको छ।

त्यसैले यस तहका कक्षामा बालबालिकालाई राम्रोसँग सिकाउन सकिएन भने माथिल्ला कक्षामा उनीहरूले राम्रो गर्ने सम्भावना न्यून हुन्छ।

तर अधिकांश सामुदायिक विद्यालयले तल्ला कक्षामा पढ्ने बालबालिकाको सिकाइ प्रक्रियामा पर्याप्त ध्यान दिएको देखिँदैन।

समस्या यहीँ छ। त्यसैले अबको मुख्य सुधारको फोकस प्राथमिक तह नै हुनुपर्छ। र, नीति निर्माण तहदेखि कार्यान्वयन तहसम्म प्राथमिक तहलाई शिक्षा सुधारको केन्द्र बनाउनुपर्छ।

विद्यायलको सिकाइले वास्तविक जीवन जगत् र विद्यालयलाई समाज र सामाजिक संस्थाहरूसँग जोड्नुपर्छ। पढाइलाई सीपसँग र सीपलाई व्यवहार, श्रम र मूल्यसँग जोड्ने गरी दिनुपर्छ।

धन सम्पत्ति आर्जनमा भन्दा संस्कार सिकाउने र शुद्ध आचरणको निर्माणमा जोड दिनुपर्छ। विद्यालय सिकाइ वातावरण मैत्री, रचनात्मक सिकाइ वातावरणको सिर्जना र बालमैत्री सिकाइलाई जोड दिनुपर्छ।

शिक्षक–विद्यार्थी, पाठ्यक्रम–बहुपाठ्यपुस्तक, नीति–निर्माता र समाजलाई एक–आपसमा जोडेर सिकाइमा साझेदार बनाउने नयाँ सिकाइ अवधारणा ल्याउनुपर्छ।

सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूका लागि राज्यले दिने सेवा–सुविधा पर्याप्त मात्रामा नहुँदा झन् समस्या निम्तिएको छ।

केही समयअगाडि कतिपय स्थानीय सरकारले विद्यालयमा दिवा खाजाको व्यवस्था गर्ने निर्णय पनि गरे। तर, आर्थिक संकटका कारण यस्तो निर्णय जोगिन सकेन। यो हामी सबैको लागि दुर्भाग्य हो। शिक्षकहरू पारिश्रमिकबाट बाँच्ने अवस्थामा छैनन्।

सामुदायिक विद्यालयमा राम्रा जनशक्ति आकर्षण गर्न सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि थप उत्प्रेरित गरिनुपर्छ।

शिक्षकलाई विद्यालयमा थप जिम्मेवारी दिएबापत आर्थिक वा अन्य थप सुविधा दिनुपर्ने देखिएको छ।

विद्यार्थीलाई पाठ्यपुस्तक र छात्रवृत्तिको अलावा दिवाखाजा, पोशाक खर्च, थप शैक्षिक सामग्री र बहुपाठ्यपुस्तक, खेल र मनोरञ्जनात्मक कार्यक्रममार्फत सिकाइमा उत्प्रेरित गर्नुपर्छ।

सरकारले विद्यार्थी उपस्थितिलाई आधार मानेर आकर्षक पुरस्कारको व्यवस्था गर्दा विद्यार्थी विद्यालयमा टिकाउदर बढ्छ। त्यसले उपलब्धि बढाउन मद्दत गर्छ। यता पनि सरकारको ध्यान जान जरुरी देख्न्छि।

– शारदा अर्याल, भीरकोट, स्याङ्जा।

प्रतिक्रिया दिनुहोस्