जागरण अभियानको अपेक्षा



संघीय संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दोस्रो चरणको जागरण अभियानअन्तर्गत देशव्यापीरूपमा सक्रिय छ।

सरकारको गलत क्रियाकलापविरुद्ध जनमत सिर्जना गर्ने र कांग्रेसप्रति आम जनतालाई आकर्षित गर्ने मात्र हैन, इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुगेको पार्टी संगठनलाई चलायमान र अझ सशक्त बनाउने प्रमुख उद्देश्यका साथ प्रारम्भ भएको दुईहप्ते जागरण अभियान पहिलो चरणको तुलनामा परिणाममुखी हुने अपेक्षा गरिएको छ।

३ सय ३० प्रदेश क्षेत्र केन्द्रित जागरण अभियान पार्टी संस्थापक नेता बीपीको १०६औं जन्मजयन्तीका अवसर पारेर शुरू गरिएको छ।

पर्यावरण र पार्टीको चुनाव चिह्नलाई समेत समेटेर हरेक क्षेत्रमा १ सय ६ नै बिरुवा रोपेर देशभर एकैसाथ शुरू गरिएको अभियानमा १ लाख युवालाई बीपीको विचार र संस्कार सम्प्रेषण गर्ने जनाइएको छ।

जागरण अभियानका क्रममा सामाजिक संवाद, युवा केन्द्रित विशेष संवाद, संविधान दिवसका कार्यक्रम, वडास्तरीय अन्तरक्रिया, स्थानीय तहको दुईवर्षे समीक्षा कार्यक्रम, पार्टी प्रवेश कार्यक्रमलगायतका गतिविधि पनि समावेश गरिएका छन्।

यसअघि पहिलो चरणअन्तर्गत एकमहिने देशव्यापी जागरण अभियानमा कांग्रेसले आम कार्यकर्ताबाट नेतृत्वको चर्को आलोचना खेप्नुपरेको थियो।

गुट–उपगुटले केन्द्रदेखि गाउँसम्म जरा गाडेको कांग्रेसभित्र पहिलो चरणको अभियानका क्रममा आएका गुनासाहरूको सम्बोधन गरे पनि नेतृत्वप्रति अझै गुनासा बाँकी नै छन्।

जागरण अभियानप्रति कांग्रेसको सशक्त भातृ संस्था नेपाल विद्यार्थी संघका नेताहरूले त पत्रकार सम्मेलन नै गरेर आपत्ति जनाएका छन्।

पहिलो चरणको जागरण अभियानमा पार्टीको भ्रातृ तथा शुभेच्छुक संघ–संगठनहरू गठन गरी पार्टीका विभागहरूसमेत तयार पारेर पार्टीमा एकता र मेलमिलाप अभियानका साथ दोस्रो चरणको जागरण शुरू गर्ने जनतासँग भएका प्रतिबद्धता झूटो सावित भएको नेविसंघले जनाएको छ।

कांग्रेसको नर्सरीका रूपमा रहेको नेविसंघ महिनौंदेखि नेतृत्वविहीन छ भने पछिल्लो अधिवेशनदेखि नै चार नेताको केन्द्रीय समितिमा सीमित भएको नेपाल तरुण दलको पनि म्याद सकिन लागेको छ।

बाँकी रहेका कैयन भ्रातृ तथा शुभेच्छुक संघ–संगठनको अवस्था पनि यस्तै रहेको छ।
सरकार दिन–प्रतिदिन आलोचित बन्दै गएको सन्दर्भमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई सरकारविरुद्ध जनमत सिर्जना गर्न यो अभियान फलदायी हुने त देखिन्छ तर आफ्नो पार्टी संगठनलाई सशक्त बनाउन यो अभियानमा पार्टी नेतृत्व एकताबद्ध भएर अघि बढेको आम कार्यकर्तालाई सन्देश दिनु आवश्यक छ, तर यो काम चुनौतीपूर्ण देखिन्छ।

कांग्रेसका आम कार्यकर्ताले ‘हामी जागृत छौं नेतृत्वलाई नै जागरण आवश्यक छ’ भनेर यसअघि पटक–पटक भनेका छन्।

लामो राजनीतिक इतिहास बोकेको र ठूल्ठूला राजनीतिक परिवर्तनको नेतृत्व गरेको मात्र हैन पटक–पटक गरी लामो समय सत्ताको बागडोरसमेत सम्हालिसकेको कांग्रेसप्रति आम जनता अझै आशावादी भएका कारण नेतृत्वले जुँगाको लडाइँलाई त्यागेर अघि बढ्ने हो भने फेरि देशको सबैभन्दो ठूलो राजनीतिक दल बन्न कठिन छैन।

कांग्रेसको यो जागरण अभियानले नेतृत्वमा कायम रहेको गुट–उपगुट त्याग्न सफलता देओस्, शुभकामना !

प्रतिक्रिया दिनुहोस्