छाडा पशु व्यवस्थापन गर्न कार्यदल गठन



दीपेन्द्र शर्मा, सुर्खेत।कर्णालीमा रहेका छाडापशुको व्यवस्थापन गर्न कार्यदल गठन गरिएको छ।भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अगुवाइमा बुधबार मन्त्रालयमा आयोजना गरिएको सर्वपक्षीय छलफलपश्चात ७ सदस्यीय कार्यदल गठन गरिएको हो।

पशुपन्छी विकास निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डाक्टर टंकप्रसाद प्रसाईंको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको छ।

कार्यदलको सदस्यमा मन्त्रालयका पशुपन्छी विकास महाशाखाका प्रमुख, पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख, सुर्खेतका स्थानीय तहका पशुपन्छी शाखाका प्रमुखमध्ये वीरेन्द्रनगर पालिकाको प्रतिनिधि सदस्य रहेको मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले जानकारी दिनुभयो।

सचिव भारीका अनुसार सदस्यमा पशुपन्छी व्यवसायी मध्येबाट १ जना, कानुन व्यवसायी १ जना र वन उपभोक्ता महाँसंघ सुर्खेतका प्रतिनिधि रहेका छन्।

सुर्खेतलगायत प्रदेशका अन्य ठाउँमा बेवारिसे रूपमा छोडिएका छाडा पशुको दीर्घकालीन व्यवस्थापन गर्न कार्यदल गठन गरिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिनुभयो।

मन्त्री केसीका अनुसार कार्यदलले गठन भएको १५ दिनभित्र आफ्नो रायसहितको प्रतिवेदन मन्त्रालयलाई पेश गर्नेछ।छाडा पशुको समस्यालाई अल्पकालीन र दिर्घकालीन रूपमा समस्या समाधान गर्न कार्यदल गठन गरिएको उहाँले बताउनुभयो।

कार्यदलको प्रतिवेदनपछि मन्त्रालयले आवश्यक निर्णय लिने मन्त्री केसीको भनाइ छ।भदौ १२ गते राति सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको– १४ कटकुवा तथा आसपासका सडक छेउछाउका क्षेत्रमा बेवारिसे छोडिएका ३९ वटा गाई मरेका थिए।

नेपालगन्जबाट ८ वटा ट्रकमा ल्याइएका २ सय ९१ गाईमध्ये ३९ वटा गाई मरेका थिए भने दुई सय ३३ वटा गाईहरू नेपालगन्ज फिर्ता पठाइएको थियो।

प्रतिक्रिया दिनुहोस्