प्रवेशमान र पवित्रमान दाजुभाइ एकल साँझमा



कला क्षेत्र एउटा काँडासरीको गुलाफ हो। तसर्थ यसको संरक्षण र सम्वद्र्धन गर्न आफ्नो दक्षता लुकाउनु हुँदैन।

देशबाट लिने होइन, देशलाई के दिन सकिन्छ भन्ने भाव राख्नुपर्छ’ यस्तै भन्थे गायक तथा संगीतकार पन्नाकाजी।

उनले आफू रहुञ्जेल नेपाली गीग–संगीत क्षेत्रलाई उल्लेख्य योगदान दिए। अब भने उनका गायक छोराद्वय प्रवेशमान शाक्य र पवित्रमान शाक्य आफ्नो बुबाको सपना पूरा गर्न लागिपरेका छन्।

प्रवेशमान र पवित्रमानकै योजनाअनुसार प्रतिभा भएर पनि आर्थिक अभावका कारण गीत–संगीत क्षेत्रमा आउन नसकेका प्रतिभाको सहयोगार्थ आगामी शनिबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा प्रवेशमान शाक्य र पवित्रमान शाक्य एक साँझ आयोजना हुने भएको छ।

राजधानीमा मंगलबार एक कार्यक्रमको आयोजना गरी गायकद्वय प्रवेशमान शाक्य तथा पवित्रमान शाक्यले भने– ‘हामीले एकल गायन कमै गरेका छौं।

प्रायः हामी सँगसँगै गीत गाइरहेका हुन्छौं। दुई जनाले गाउने भएपछि युगल साँझ भन्ने चलन पनि छ।

तर, हामी दुई एकै आमाका दुई सन्तान र यही क्षेत्रमा सँगसँगै लागिरहेकाले एकल साँझ भनेका हौं।’ उक्त एकल साँझमा १६ जना वाद्यवादकसहित प्रवेशमान र पवित्रमान आफ्ना संगीतसाधक पिता पन्नाकाजीका गरी २० गीतका साथ प्रस्तुत हुनेछन्।

‘भाइ र म तिरिरी मुराली बज्यो वनैमा, किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ, वा माया वा पनि (नेवारी गीत) जस्ता गीतहरू संयुक्तरूपमा गाउनेछौं’, प्रवेशमानले भने– ‘आर्थिक अभावका कारण कुनै पनि नवप्रतिभाले गायनबाट वञ्चित हुन नपरोस् भन्ने हाम्रो उद्देश्य हो।

किनभने हामी पनि त्यही अवस्था पार गरेर यो स्थानमा आएका हौं। हामी गीत निकाल्नका लागि पैसा वचत गरेर राख्थ्यौं। यो कार्यक्रमबाट उठेको रकमबाट नवप्रतिभाको स्वरमा बुबाका १० गीत रेकर्ड गराउनेछौं।’

प्रवेशमानले थपे– ‘हुन त पुरानो गीत गाउन हुन्न भन्ने पनि छन्। तर, पुराना गीतलाई कपी गरेर बेच्नुहुन्न।

हामीले कभर भर्सन गाउन दिन लागेका हौं। जसका लागि हिट कम्पनी नामक कम्पनीसँग एग्रिमेन्ट गरेका छौं।’

प्रवेशमानले आफ्नो मूर्धन्य गायक पितालाई सम्झिँदै भने– ‘बुबाले रेडियो नेपालको स्थापनादेखि करिब ३२/३३ वर्ष रेडियो नेपालमा आबद्ध भएर गाउनुभयो। संगीतलाई निकै माया गर्नुभयो।

२०२३ सालमा रेडियो नेपालको स्थापना दिवसको अवसरमा भएको गीत–संगीत प्रतियोगितामा मेरो बुबा र नारायण गोपाल पनि सहभागी हुनुहुन्थ्यो। जसमा बुबाले गायन र नारायण गोपालले संगीतकारको पुरस्कार जित्नुभएको थियो।’

प्रवेशमानले पहिले राजा महेन्द्रको नेतृत्वमा रेडियो नेपाल, एकेडेमी, नाचघर आदि स्थापना भए पनि अहिले राम्रो प्रतिभा भएकालाई सिक्नका लागि राम्रो स्कुलको अभाव भएको बताए।

कार्यक्रममा पवित्रमान शाक्यको एल्बम धरातल विमोचन हुनेछ। करिब १५ वर्षपछि निकाल्न लागेको एल्बम धरातल नै आफ्नो अन्तिम एल्बम हुने पवित्रमानले बताए। ‘यसको मतलब गीत गाउनै छोड्छु भन्ने होइन। गीत त गाइनै रहन्छु।’ –पवित्रमानले भने।

उनको यो एल्बममा १७ गीत संगृहित हुनेछन्। ‘जुन एकदमै गाह्रो कुरा हो। यति धेरै गीतमा ३ वटा एल्बम निकाल्न सकिन्थ्यो।

तर, मैले कहिल्यै पनि एल्बम बेचेर पैसा कमाउनेतिर सोचिनँ। यो एल्बम पनि आर्थिक अवस्था कमजोर भएकालाई सहयोग गर्ने उद्देश्यले निकाल्न लागेको हो।’ –पेसाले सिभिल इन्जिनियर रहेका पवित्रमानले भने।

प्रतिक्रिया दिनुहोस्