झाँक्रीले पेट काटेर रगत चुसेपछि…



सीताराम अधिकारी, धादिङ।उपचारको बहानामा नीलकण्ठ नगरपालिका– ९ का राजु मगरको पेटमा एक लामा झाँक्रीले प्वाल पारिदिएका छन्।

पेट ब्लेडले चिरेर प्वाल पारेपछि दुई महिनादेखि जण्डिसको बिरामी परेका मगर जीवनमरणको दोसाँधमा पुगेका छन्।

धादिङको नीलकण्ठ नगरपालिका ३ का गजबहादुर लामाले मोटो रकम लिएर पेट चिरेर छाडेका थिए।

जिल्ला अस्पतालमा आमस्मिक कक्षमा उपचारका लागि भर्ना भएका मगरको अवस्था गम्भीर भएकाले थप उपचारका लागि बुधबार काठमाडौंस्थित वीर अस्पतालमा रिफर गरिएको जिल्ला अस्पतालले जानकारी दिएको छ।

बिरामी मगरको भदौ १५ गते पेट चिरेर उपचार गरेको भन्दै झाँक्रीले रगतसमेत चुसेको जिल्ला अस्पतालमा उपचार गराइरहेका बिरामीले बताउनुभयो।

२ महिनादेखि जण्डिसले बिरामी परेका मगर झाँक्रीले निको पार्ने विश्वासमा लामाकोमा पुगेका थिए।

उपचारका क्रममा यस किसिमको रोग आफूले धेरैको निको पारेको भन्दै बिकार तानेर निको पर्ने बताएका थिए।

सोहीबेला उपचारका लागि भनेर जण्डिस तानेको, औषधी दिएको र बिकार तानेको भनेर बिरामीसँग ८ हजार ३ सय ८० रुपियाँ रकम लिएर ब्लेडले देब्रेपटी पेटमा चिरेको मगरकी श्रीमती विमलाले जानकारी दिनुभयो।

पेट चिर्ने बेलामा झाँक्रीले बिरामीका श्रीमती र बहिनीलाई बाहिर निकालेर पेटमा सुई लगाएर बिरामीको पेटमा चिरेका थिए।

पेट चिरेपछि आएको रगतसमेत झाँक्रीले आफूँले चुसेर एउटा बाटामा थुकेको बिरामी मगरले बताउनुभयो।

ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका मगर अहिले मृत्युसँग जुधिरहेका छन्। आर्थिक अवस्था कमजोर भएकै कारण उपचारमा समेत समस्या भएको बिरामीकी श्रीमती विमलाको भनाइ छ।

लामा तान्त्रिक विधिद्वारा उपचार गराउँदै आइरहेका विवादित व्यक्ति हुन्। उनको यसअघि पनि केही घटना विवादमा आएका थिए।

३ वर्षअघि पनि धादिङ मुलपानीकै एक महिलाको पेटमा रहेको ५ महिनाको बच्चा उपचार गर्ने बहानामा हातैले निकालेर फालिदिएका थिए।

त्यसपछि ती महिलालाई प्रहरीकोमा उजुरी गर्न भनिए पनि लामा झाँक्रीले डरधम्की देखाएर तर्साएपछि उजुरी गर्न गएर पनि उजुरी नगरी फर्केको मानव अधिकारकर्मी राधिका सापकोटाले जानाकारी दिनुभयो।

लामो समयदेखि यस किसिमको उपचार गरेर धेरै मानिसको पेट चिरेर बिरामी निको पारेको बताउने झाँक्री विगतबाटै राजनीतिक संरक्षणमा काराबाहीबाट उन्मुक्ति पाउँदै आएका छन्।

घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका अनुसन्धानमा खटिनुभएका प्रहरी निरीक्षक मोतिराम भट्टले जिल्ला प्रहरी कार्यालयमा उजुरी परेकाले आवश्यक कारबाही गरिने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्