विशेष सम्पादकीय:लाचार सरकार



लामखुट्टेको टोकाइबाट मानवमा सर्ने रोग डेंगुका कारण आजसम्म ६ जना नेपालीले ज्यान गुमाएको तथ्यांक सरकार उपलब्ध गराउँछ तर निजी क्षेत्र यस तथ्यांकलाई मान्दैन, स्वयं सरकारी अधिकारीहरू योभन्दा बढी हताहतको अनुमान गर्छन् ।

समयमै उपचार गरिएका कारण धेरै बिरामीले ज्यान जोगाए पनि उनीहरूले भोगेका त्रास, मानसिक तनाव, धन र श्रमको क्षति सामान्य छैन । तर, सरकारले अभियानका रूपमा डेंगु निर्मूल गर्न पहल गरेन ।

बहालवाला मन्त्री र प्रभावशाली राजनीतिक दलका नेता तथा वरिष्ठ चिकित्सकहरू नै यसबाट बिरामी परे, तर सरकारले नागरिकलाई पूर्णरूपले सूचनाको हक पनि प्रदान गरेन ।

डेंगुका कारण कति पीडित प्रभावित भए र उपचारका लागि राज्यले कहाँ के गर्यो भनेर कम्तीमा दैनिक बुलेटिनसम्म निकाल्ने आवश्यकता उसले देखेन । डेंगुको आतंकका अगाडि सेवा प्रदायक संस्थाहरू उपायरहित, अलमल र अकर्मण्य देखिए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता र सूचना अधिकारी पनि यस विषयमा निरीह देखिएका छन् । उनीहरू अस्तव्यस्त र व्यग्र देखिन्छन्, देशका विभिन्न स्थानबाट तत्काल सूचना पाउने संरचना र त्यसलाई प्रशोधन गरी नागरिकलाई जानकारी दिने संयन्त्र उनीहरूको तक्दिरमा देखिएन ।

न त विशेष परिस्थितिले सिर्जना गरेको जटिल अवस्थामा मन्त्रालयले तत्काल निर्देशन दिएर निराकरण गर्न सकेको नै पाइयो ।

यसै अवस्थामा स्वास्थ्यमन्त्री लामो समयका लागि विदेश यात्रामा रहनुले पनि सरकार डेंगु नियन्त्रणप्रति पर्याप्त गम्भीर नभएको नभएको पुष्टि भयो ।

डेंगुले आधार इलाकासरह बनाएको चितवन–बुटवल क्षेत्रमा रहेका बिरामीको तथ्यांक दिन र उपचारमा केन्द्रित हुन पनि सरकार अक्षम देखियो ।

काठमाडौं महानगरपालिकालगायतका स्थानीय सरकारले डेंगु नियन्त्रणका लागि प्रयास त गरेको देखियो तर अपेक्षाकृतरूपमा त्यो प्रभावकारी हुन सकेन ।

४० लाख नागरिकको बसोबास रहेको काठमाडौंका बागमती, विष्णुमती, धोबीखोलालगायतका जलप्रवाहका क्षेत्रमा डेंगुले बढी प्रभाव पारेको देखिए तापनि आत्मविश्वासरहित मनस्थितिले मट्टितेल र फिनेल छर्किने उपायमा अलमलिने काम गरियो ।

यस विधिबाट लामखुट्टे मार्न सकिने कुरामा स्वयं महानगरपालिकालाई विश्वास भएन । न त डेंगु नसर्ने उपाय नै पहिचान गर्न सकियो ।

लाचार र निरीह बनेर सरकार, नागरिक समाज र निजी क्षेत्र नियतिको भरोसे बसिरहेका छन्– जाडो छिटो आइदिए लामखुट्टे मर्थे कि भन्ने प्रार्थनामा ।

यस हदको लाचारी सह्य छैन । तर, संकटकाल जस्तो कुनै घोषणाले पनि यसबाट पार पाउन सकिन्न ।

यसका लागि हरेक नागरिक डेंगुविरुद्धको अभियानमा जुट्नु र सरकारले त्यसको सक्रिय अभिभावकत्व निर्वाह गर्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्