‘पेन किलर’ प्रयोग नगरौं



डा. शेरबहादुर पुन

काठमाडौं, (नेस)। डेंगु रोगको जटिताको प्रमुख कारण रोगको पहिचान गर्न नसक्नु र जथाभावी औषधिको प्रयोग हुनु मुख्य कारण भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनले दाबी गर्नुभएको छ। औषधि पसलले दिने दुखाइ कम गर्ने औषधि डेंगुका बिरामीका लागि खतरा हुन सक्ने चेतावनी डा. पुनले दिनुभएको छ।

विश्व स्वास्थ्य संगठनले एस्पिरिन, ब्रुसेट, फ्लेक्सोन जस्ता दुखाइ कम गर्ने औषधिको प्रयोग नगर्न बिरामीलाई सचेत गराएको छ।

छिमेकी मुलुक भारतले डेंगुको महामारी फैलिएलगत्तै दिल्लीमा यस्ता औषधिको प्रयोगमा डेंगु महामारी अवधिभर निषेध गरेको थियो।

दुखाई कम गर्ने औषधिको प्रयोगले डेंगु संक्रमितमा रक्तश्रापमा वृद्धि हुने र बिरामी अचेत भई मृत्युसमेत हुने भएपछि यस्ता औषधिमा रोक लगाएको थियो।

यस्तो समस्या विशेष गरेर अल्सर वा ग्यासट्राइटिस भएकालाई बढी खतरा हुने डा. पुनले जानकारी दिनुभयो।

रगत बान्ता गर्नु, दिसा कालो हुनु वा शरीरका विभिन्न अंगहरूबाट रक्तश्राप हुनु खतराको संकेत हो।

डेंगुको संक्रमितलाई टाउको दुख्ने, ज्वरो आउने, आँखाको गेडी दुख्ने, जोर्नी दुख्ने भएकाले सोझै नजिकैको औषधि पसलमा जाने र त्यहाँ उनीहरूले कम्तीमा दुखाई कम हुने औषधिको माग्ने गरेको उहाँले जानकारी दिनुभयो।

‘नदुख्ने केही समयअगाडि मैले गरेको अनुसन्धान र प्रकाशित सामग्रीले डेंगु विशेष गरेर युवाहरूमा कडा भएको देखाएको थियो, जुन मेरा लागि पनि अचम्मित तर चाखलाग्दो नतिजा थियो।’ –डा. पुनले भन्नुभयो।

यसको विशेष एन्टीभाइरल औषधि नभएको र डेंगुविरुद्धको खोप पनि विकास नभइसकेको अवस्थामा जटिलताबाट बच्नु नै हाम्रा लागि मुख्य चुनौती देखिन्छ। हाल नेपालको इतिहासमा नै आधा नेपाल डेंगुले ढाकिसकेको अवस्था छ।

यति लामो समयदेखि निरन्तर डेंगु फैलँदो क्रममा रहेको र यो रफ्तार अहिले पनि कायम नै रहेकोले छिटोभन्दा छिटो उपाय अवलम्बन गर्न सके सम्भावित मृत्युदरलाई सीमित अवस्थामा राख्न ठूलो मद्दत मिल्ने थियो।

प्रतिक्रिया दिनुहोस्