प्रदेश–३ मा ४ हजार डेंगुका बिरामी, काठमाडाैँमा मात्रै साढेँ एक हजार जनामा डेंगु भेटियाे



न्युज अफ नेपाल, हेटौंडा । प्रदेश–३ मा हालसम्म ३ हजार ७ सय ६६ जनामा डेंगु देखापरेको छ । प्रदेशका १३ वटै जिल्लामा डेंगुका बिरामी फेला परेका हुन् ।

१३ जिल्लामध्ये सबभन्दा बढी चितवनमा एक हजार ४ सय ६० बिरामी फेला परेका छन् । मकवानपुरमा ७ सय २८ जना र काठमाडांैमा एक हजार ३ सय ४५ जनामा डेंगु देखा परेको प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बताउनुभयो ।

मन्त्री दुलालले डेंगु नियन्त्रणका लागि प्रदेशका १ सय १९ वटै स्थानीय तहमा अभियान चलाइएको बताउनुभएको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रत्येक हप्ता डेंगु नियन्त्रणका लागि हरेक स्थानीय तह र जिल्लास्तरमा अभियान चलाइने बताउनुभयो ।

‘सबै जागौं, सबै लागौं–वरिपरि जमेको पानी हटाई डेंगु भगाऔं’ विषयक पत्रकार सम्मेलनमा उहाँले अभियानमा सबै क्षेत्र एकैपटक जुट्न आग्रह गर्नुभयो । प्रदेश तहका अस्पतालमा डेंगु परीक्षण किटको अभाव नभएको मन्त्री दुलालले दाबी गर्नुभयो । प्रदेश तहका ६ जिल्ला अस्पतालमा डेंगुका बिरामीका लागि संघीय सरकारको सहयोगमा ३ सय वटा झुल वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रदेश सरकारको मुख्यालयसमेत रहेको हेटौंडामा फैलँदो क्रममा देखिएको डेंगु नियन्त्रणमा प्रदेशको सहयोग नपाएर एक्लै अगाडि बढ्नुपरेको हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतको गुनासोपछि प्रदेश सरकार अगाडि बढेको हो ।

प्रदेश र नगरपालिकाबीच समन्वय अभावका कारण डेंगु नियन्त्रणको प्रयास सफल हुन नसकेको हो । स्थानीय स्वास्थ्यकर्मी नै भन्छन् प्रदेश र पालिकाबीच समन्वय नहुँदा डेंगु नियन्त्रण हुन सकेको छैन ।

हेटौंडाहुँदै दैनिक सयौं सवारीसाधन राजधानी काठमाडौं जाने भएकोले हेटौंडामा फैलिएको डेंगुको प्रत्यक्ष प्रभाव काठमाडौंमा पर्नसक्ने र यसले काठमाडौंमा बस्दै आएका नागरिकको स्वास्थ्य अवस्था भयावह बनाउनसक्ने देखिन्छ ।

हेटौंडा उपमहानगर मेयर महतले डेंगु नियन्त्रणका लागि तीव्ररुपमा काम गरिरहेको बताउनुभएको छ । जनचेतना जगाउँदै यसबाट बच्ने उपाय सिकाएर सचेत रहन आग्रह गरिएको छ । हेटौंडामा डेंगुको प्रकोप नियन्त्रणका लागि १९ वटै वडामा वडा अध्यक्षको नेतृत्वमा टोली परिचालन गरिएको छ ।

डेंगु नियन्त्रणका लागि हरेक वडामा वडा अध्यक्षको नेतृत्वमा स्थानीय महिला स्वास्थ्य स्वयम्सेविका, टोल विकास संस्था, स्थानीय समुदायलाई एकसाथ परिचालन गरिएको मेयर महतले बताउनुभयो ।

विशेषगरी डेंगु सार्ने लामखुट्टेको बढी बासस्थान भएको हेटौंडा–११ को थानाभर्याङ, हेटौंडा–४ र १० नम्बर वडामा रहेका पुराना टायर नष्ट गर्ने, टायरमा भएका पानी नष्ट गर्ने अभियानमा लागिएको उहाँले बताउनुभयो । जनचेतना जगाउँदै डेंगुको लार्भा र प्युपाको बासस्थान नष्ट गर्ने गरी काम गरिएको हो । उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुपेन्द्र कार्कीसहित टोली हेटौंडाका हरेक वडामा पुगेर समुदायलाई जनचेतना जगाउने र डेंगुको लार्भा र प्युपा बस्ने स्थान नष्ट गर्ने कार्य जारी राखेको हो ।

प्रतिक्रिया दिनुहोस्