दुई विधेयक पारित गरी सकियो प्रदेशसभा



हेटौंडा । प्रदेश–३ को बुधबार बसेको प्रदेशसभा बैठकले दुई वटा विधेयक बहुमतले पारित गरी अन्त्य भएको छ ।
बैठकले प्रदेशमा सार्वजनिक–निजी–सहकारी साझेदारी व्यवस्था गर्न बनेको विधेयक–२०७६ र प्रदेशभित्र औद्योगिक व्यवसाय स्थापना र सञ्चालन गर्न बनेको विधेयक–२०७६ बहुमतले पारित गरेको हो ।

बैठकमा आन्तरिक मामिला मन्त्री कैलाशप्रसाद ढुंगेलले सार्वजनिक–निजी–सहकारी साझेदारीको व्यवस्था गर्न बनेको विधेयक र उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपालले प्रदेशभित्र औद्योगिक व्यवसाय स्थापना र सञ्चालन गर्न बनेको विधेयक पारित गरियोस् भनी प्रस्ताव राख्नुभएको थियो ।

छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै मन्त्री ढुंगेलले सरकार निष्पक्ष र पारदर्शीका लागि सार्वजनिक–निजी क्षेत्रका सहकारीलाई समन्वय र सहकार्यबाट प्रदेशका दुर्गम भेगका जनतालाई कृषिउत्पादन, पशुपालन एवम् आर्थिक आत्मनिर्भर बढाउने कार्यक्रमलाई प्रभावकारी बनाउँदै लैजान प्रतिवद्ध रहेको बताउनुभयो ।

सांसद् विजया श्रेष्ठ केसीले निजी र सहकारीसँगको साझेदारीका लागि छुट्टाछुट्टै नियमावली निर्माण हुनुपर्ने बताउँदै सूचना र प्रविधि क्षेत्रमा साझेदारी प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

सांसद् नारायणबहादुर सिलवालले विधेयक व्यापक छलफल गरेर आएको र कार्यान्वयनका क्रममा देखिएका समस्या समाधानका लागि तत्पर हुनुपर्ने बताउनुभयो । विधेयकमाथि छलफल गर्दै सांसद् रिना गुरुङले विधेयक पास गर्ने क्रम छिटो भएको र पर्याप्त छलफल हुन नसकेको बताउनुभयो । निजी क्षेत्रलाई यस विषयमा समावेश गरिनुपर्नेमा उहाँको जोड थियो ।

प्रदेशसभाको चौथो अधिवेशन वैशाख ३० गते सुरु भएर बुधबारसम्म ३२ पटक बैठक सञ्चालन भएको प्रदेशसभा सचिवालयले जनाएको छ । उक्त अवधिभित्र सचिवालयमा ४५ वटा विधेयक दर्ता गरिएकोमध्ये बुधबार बैठकसम्म ४१ वटा विधेयक पारित गरिएको प्रदेशसभा सचिवालयले बताएको छ ।

पारित विधेयकमध्ये ३८ वटा विधेयकमा प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रमाणीकरण गरिसक्नुभएको छ । प्रदेशसभामा एक स्वतन्त्र सांसद्सहित १ सय ९ जना प्रदेशसभा सदस्य छन् ।

प्रदेशसभा बैठक मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख कोइरालाले बुधबार राति १२ बजेबाट अन्त्य गर्नुभएको छ । अधिवेशन अन्त्य भएको प्रदेश प्रमुख कार्यालयको सूचना सभामुख सानुकुमार श्रेष्ठले सुनाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्