काभ्रेमा डेंगुका ६ जना विरामी



मोतीराम तिमल्सिना, काभ्रे । देशभर फैलिएको डेंगु रोगका विरामीहरु काभ्रेमा पनि देखिन थालेका छन् । बुधबारसम्म ६ जना विरामी अस्पतालमा भर्ना भएको स्वास्थ्य कार्यालय काभ्रेले जानकारी दिएको छ ।

भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धुलिखेलले आयोजना गरेकोे जुनोटिक रोग सम्वन्धी अन्र्तक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले ब्यक्तिको घरमा जम्मा भएर बसेको सफा पानीलाई तत्काल हटाउन, टायर तथा प्लास्टिकजन्य बस्तुमा जमेको सफा पानीमा लामखुट्टेले बच्चा जन्माउने र त्यहिबाट फैलँदै ब्यक्तिलाई टोकेर डेंगु फैलिएको बताउनु भयो । ‘पहिले तपाईहरु आफ्नो घरको छतमा जम्मा भएर बसेको पानी हटाउनुस्, फुलको गमला होस् वा अन्य भाँडामा जम्मा गरेको पानी होस् त्यसलाई दैैनीक सफा गर्दा लामखुट्टेले बच्चा हुर्काउन पाउँदैन, घर वरपर टायर तथा प्लास्टिकजन्य बस्तुहरुमा जमेको पानी हटाउनु पर्छ’–उहाँले भन्नुभयो–‘सबै लामखुट्टेले टोकेको अवस्थामा डेंगु फैलँदैन ।

पोथी लामखुट्टे जो आफै संक्रमित छ, उसले टोेकेको अवस्थामा डेंगु हुन्छ र त्यस्तो लामखुट्टेले एकै पटक १४ जनासम्मलाई टोेक्न सक्छ । १ महिना आयु रहने उक्त लामखुट्टेले एक पटकमा १ हजारसम्म बच्चा हुर्काउन सक्छ ।’ डेंगु हुन नदिन तत्काल घर वरपरको वातावरण सफा गर्नु पर्ने उहाँले बताउनु भयो ।

जिल्लामा बुधबार साँझसम्म ६ जना ब्यक्ति डेंगुका कारण अस्पतालमा भर्ना भएका छन् । डा. झाका अनुसार जिल्लाको कोशिपारी, पाँचखाल लगायतका क्षेत्रबाट आएका विरामीहरु मध्ये ६ जनालाई डेंगु देखिएको छ । स्वास्थ्य कार्यालय काभ्रेले जिल्लाका १३ वटै स्थानीय तहमा त्यस बारेमा जनतेतना फैलाउन र अभियान संचालन गर्न परिपत्र गरिसकेको छ भने स्थानीय सरकारहरुले पनि नागरिकहरुको स्वास्थ्यलाई ख्याल राख्दै डेंगुबाट बच्न र हुनै नदिन अपनाउनु पर्ने सर्तकताका बारेमा ध्यानार्कषण गराउन थालेका छन् । पनौती, धुलिखेल, मण्डन देउपुर नगरपालिकाले अभियान शुरु गरिसकेका छन् ।

जुनोटिकबाट जोगिउँ

पशुपंक्षिजन्य रोग मान्छेमा सर्ने र त्यसले ब्यक्तिको निधन र महामारी समेत हुने भएकाले जोगिन अपनाउुन पर्ने सरोकारवाला निकायले सर्वसाधारणको ध्यानार्कषण गर्नु पर्ने बताएका छन् । जुनोटिक रोगका बारेमा जिल्ला भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले मंगलबार धुलिखेलमा अन्र्तक्रिया कार्यक्रम आयोजना गरी उक्त रोगबाट बच्न अपनाउनु पर्ने उपायका बारेमा जानकारी गराएको थियो । पशु विज्ञ केन्द्रका प्रमुख डा. मगोलप्रसाद शाहले चमेरा, कुुकुर तथा अन्य पशुहरुबाट मान्छेमा सर्ने रोगका बारेमा जानकारी गराउनु भएको थियो ।

विरामी पशुबाट सर्ने रोग तथा अपनाउनु पर्ने सुरक्षाका उपायहरु, घरपालुवा तथा सामुदायिक कुकुरहरुबाट सर्ने रोग, चमेरा लगायतका पंक्षिहरुबाट सर्ने रोगका बारेमा डा. मगोलप्रसाद शाहले जानकारी गराउनु भएको थियो । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झाले डेंगु रोगका बारेमा जानकारी गराउनु भएको थियो । जिल्लाका १३ वटै स्थानीय सरकार अन्र्तगत काम गर्ने पशु विकास प्राविधिकहरुलाई जानकारी गराउँदै जुनोटिक रोगका बारेमा अझै प्रचारप्रसार गर्न निर्देशन दिईएको थियो ।

रेविज रोगबाट ब्यक्तिको तत्कालै निधन भएको तथा महामारी जन्य रोगहरुबाट संक्रमति पशुको दुध सेवन गर्दा अन्य ब्यक्तिहरुलाई समेत प्रभाव पर्ने सोहि अवसरमा जानकारी गराईएको थियो । कार्यक्रममा कार्यालयका पशु विकास अधिकृत राजकुमार हुमागाई, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना लगायतले जुनोटिक रोगबाट बच्न सबै सचेत हुनु पर्ने बताएका थिए । सहभागिहरुले नगरपालिका र गाउँपालिकाका सबै वडाहरुमा जुनोटिक रोगका बारेमा बुझाउन स्कुल शिक्षा कार्यक्रम राखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्