इन्द्रजात्रालाई अन्तरराष्ट्रिय महत्व प्रदान गर्दै महानगर



ईश्वरराज ढकाल, काठमाडौं ।

इन्द्रजात्रा अवलोकन गर्न पहिलो पटक अन्तरराष्ट्रिय नगरका प्रमुख र प्रतिनिधिलाई सहभागी गराउन लागिएको औपचारिक जानकारी दिँदै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले भोलि आमन्त्रित सबै पाहुना काठमाडौं आइपुग्ने जानकारी दिनुभएको छ ।

यस बर्षको इन्द्रजात्रा सञ्चालन तथा व्यवस्थापन र नेपाल पर्यटन बर्षको पूर्वसन्ध्यामा काठमाडौंका जीवन्त एवम अमूर्त सम्पदा अन्तरराष्ट्रिय क्षेत्रमा प्रचारप्रसारलगायत महानगरले अघि बढाएका कार्यक्रमका बारेमा जानकारी दिदै मेयर शाक्यले पाहुनाहरुले ४ रात ५ दिन काठमाडौंमा बिताउने बताउनुभयो ।

उहाँहरु नेपाल आइपुगुञ्जेलको खर्च उहाँहरु आफैंको हो । यहाँ आइपुगिसकेपछि आवास, खानपान र भ्रमण अवलोकनको व्यवस्था महानगरले मिलाउने छ । पाहुना व्यवस्थापनका बिषयमा कुरा गर्दै उहाँले, अवलोकनमा आउने पाहुनालाई ललितपुर महानगरसँगको समन्वयमा पाटन दरबार स्क्वायर, भक्तपुर नगरपालिकाको सहयोगमा भक्तपुर दरबार स्क्वायर र चन्द्रागिरी नगरको समन्वयनमा चन्द्रागिरी क्षेत्रका भ्रमण अवलोकन गराउने योजना सुनाउनुभयो ।

काठमाडौं उपत्यकालाई एकीकृत पर्यटन प्रवर्धनमा गरे मात्र धेरै लाभ हुन सक्छ । उहाले भन्नुभयो– यसैलाई मध्यनजर राखेर महानगरको निम्तामा आएका प्रतिनिधि मण्डललाई महानगरसँगै उपत्यकाका महत्वपूर्ण सम्पदा क्षेत्रको भ्रमण अवलोकन गराउने लक्ष्य राखिएको हो । भोलि काठमाडौं आइ पुग्ने पाहुनालाइै पर्सि हनुमान ढोका आसपास कुमारी रथयात्रा हुने तल्लो र माथिल्लो टोलको स्थलगत भ्रमण अवलोकन गराइनेछ भने मध्यान्न राष्ट्रप्रमुखको उपस्थितिमा हुने रथ यात्राको अवलोकन गराइनेछ ।

भदौ २८ गते चन्द्रागिरी, छाउनीको प्राकृतिक संग्रहालय र स्वयम्भूको अवलोकन गर्ने योजना छ । त्यस्तै २९ गते आइतबार भक्तपुर र पाटन दरबार स्क्वायरको भ्रमण अवलोकन हुनेछ । त्यसै दिन साँझ बिदाइ समारोह आयोजना गरिनेछ । त्यस समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई पनि सहभागी हुनुहुनेछ । त्यस बिदाइ समारोहमा इन्द्रजात्रासहित उपत्यकाका मौलिक जात्रा र पर्वको पर्यटकीय आकर्षण र नेपाल भ्रमण बर्ष २०२० मा नेपालकातर्फबाट महानगरका भगिनी सम्बन्ध भएका सहरहरुलाई सहभागिताका लागि निमन्त्रणा हुनेछ ।

‘अन्तरराष्ट्रिय जगतमा इन्द्रजात्राको मौलिक र दार्शनिक पक्षको उजागर गर्न मात्र होइन, नगरबासीको सभ्यता चिनाउने कामका लागि पनि सबै मिलेर पर्वलाई सभ्य, भव्य र सुसंस्कृत बनाउनुपर्छ । नेवार समुदायको मात्र होइन, यो सबै नेपालीको राष्ट्रिय पर्व हो भन्ने भावना जागृत गराउनु पर्छ –शाक्यले भन्नुभयो ।

परम्परा अनुसार मंगलबार विहान ९ बजेर १७ मिनेटको साईतमा बसन्तपुर काल भैरव अगाडि विधिपूर्वक इन्द्रध्वज (नेपाल भाषामा यः सिं, नेपालीमा लिङ्गो) ठड््याएपछि यस बर्ष इन्द्र जात्राका कार्यक्रम विधिवत् शुरु भएका छन् । यः सिं ठड्याउनु अघि नेवार समुदायभित्रका मानन्धर थरका थकालीले पूजा गरेका थिए । मंगलबार राती गणेश र भैरवलाई कुमारी घरमा ल्याइयो । त्यसपछि कुमारी, भैरव र गणेशलाई तलेजु भवानी मन्दिरको मुलद्वारमा लगेर लसकुस गरी भित्र लगेर निम्तो तलेजु भवानीलाई निम्तो दिइयो । सरकारले भदौ २३ गते एकादशीका दिन आफ्नातर्फबाट गणेश र भैरवलाई इन्द्रजात्रामा सहभागी हुन निमन्त्रणा दिएको थियो ।

यस बर्ष भदौ २७ गते कुमारी रथ यात्रा शुरु गरेर बसन्तपुरबाट तल्लो टोलमा रथ यात्रा गरिनेछ । त्यसक्रममा साँझ साढे ४ बजे राष्ट्रपति बसन्तपुरमा पुगेर कुमारीको दर्शन गर्ने कार्यक्रम छ । २८ गते माथिल्लो टोलमा रथ यात्रा हुनेछ । यस अवधिमा लाखे, हलचोक भैरव, पुलुकिसी, देवीलगायत तान्त्रिक बिद्यामा आधारित नाचहरु र दशअवतारलगायत पौराणिक कथामा आधारित प्रदर्शन हुनेछन् ।
भदौ ३१ गते हुने नानिचा यात्रासँगै त्यसै दिन साँझ ०९ ३५ को साइतमा इन्द्रध्वज ढालेपछि यस बर्षका लािग जात्राका औपचारिक कार्यक्रम समाप्त हुनेछन् ।

कहाँ—कहाँबाट को को सहभागि हुँदैछन् जात्रामा ?

यस बर्षको इन्द्रजात्राको अवलोकन गर्न महानगरको भगिनी सम्बन्ध भएका ६ वटा देशका १३ वटा नगरबाट ५ जना मेयरसहित ४८ जना पाहुना आउने निश्चित भएको छ । गएको ७ महिनादेखि इन्द्रजात्रा अवलोकनका लागि भगिनी सम्बन्ध भएका नगर प्रमुखहरुलाई निमन्त्रणा पठाउन थालिएको थियो ।

यसै निमन्त्रणाका आधारमा अहिलेसम्म चीनको ल्हासाका मेयर गुहेओ गुहेओ, बङ्गालादेशको ढाका साउथ सिटी कर्पोरेसनका मेयर मोहम्मद सहिद खोकन, भुटानको थिम्पु नगरका मेयर किन्ले दोर्जे, भारत इष्ट दिल्ली म्युनिसिपल कर्पोरेसनका मेयर अञ्जु कमलकान्त र नर्थ दिल्ली म्युनिसिपलबाट मेयर सरदार अभतार सिंहको नेतृत्वमा जात्रा अबलोकन टोली आउने पत्र प्राप्त भएको छ ।

त्यस्तै चीनबाट सियान, छेन्दु, सेञ्जेन, नान्जिन र लाञ्चाउ नगर, जापानको मात्सुमोतो नगर, संयुक्त राज्य अमेरिकाका फेडेरिकबर्ग र बोल्डर नगरबाट उच्च अधिकारीको नेतृत्वमा जात्रा अवलोकन टोली आउने भएको छ । यसरी आउने पाहुनाको संख्या ४८ जना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्