विश्वकप छनोटमा नेपालको पहिलो जित

अन्जनको २ गोल



नेपाल समाचारपत्र, काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप एसियातर्फ दोस्रो चरणको छनोटमा नेपालले पहिलो जित हात पारेको छ।

नेपालले मंगलबार भएको खेलमा चिनियाँ ताइपेइलाई उसकै मैदानमा २–० ले हराएर जित हासिल गरेको हो। नेपालको जितमा दुबै गोल अन्जन विष्टले गरेका हुन्।

यो नेपालको विश्वकपअन्तर्गत दोस्रो चरणको छनोेटमा पहिलो जितसमेत हो। योसँगै नेपालले विश्वकप छनोट यात्रामा महत्वपूर्ण ३ अंक पनि जोडेको छ।

यस्तै यो नेपालको विश्वकप छनोट यात्रा दौरान उत्कृष्ट पुनरागमन पनि हो। नेपालले पहिलो खेलमा कुवेतसँग ७–० को लज्जास्पद पराजय बेहोरेको थियो।

साथै नेपालका मुख्य प्रशिक्षक योहान कलिनको नेतृत्वमा नेपाली टोलीको पहिलो ठूलो जित पनि हो।

अब समूह ‘बी’ मा रहेको नेपालले तेस्रो खेलमा अस्टे«लियाविरुद्ध उसकै भूमिमा अक्टोबर १० मा खेल्नेछ। प्रशिक्षक कलिनले अन्जनलाई कुवेतविरुद्धको खेलमा वैकल्पिक खेलाडीका रुपमा राखेका थिए।

तर यस खेलका लागि भने उनले अन्जनलाई शुरुआती टोलीमै राखे। जसको नतिजा सकारात्मक निस्क्यो। उनले पहिलो हाफको शुरुआतमा एक र दोस्रो हाफमा एक गोल गरे।
चिनियाँ ताइपेइको दाँजोमा उत्कृष्ट खेल पस्केको नेपालले शुरुमै अग्रता लिएको थियो।

खेलको तेस्रो मिनेटमैे अन्जनले करिब २५ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहारलाई गोलमा परिणत गरेका थिए। पहिलो हाफमा नेपालले १–० को अग्रतामा समाप्त गरेको थियो। यस्तै ६२औं मिनेटमा अन्जनले अर्को उत्कृष्ट गोल गरे।

दायाँ विंगबाट सुजल श्रेष्ठले गरेको क्रसमा डिबक्समा रहेका उनले बल नियन्त्रण लिँदै हाफ भली प्रहारलाई जाली चुुमाएका थिए। यसपछि कुनै गोल नभएपछि नेपाल २–० ले जित्यो।

प्रतिक्रिया दिनुहोस्