नेपालको सान्त्वना जित



नेपाल समाचारपत्र,काठमाडौं।नेपालले श्रीलंकामा जारी एसीसी यू १९ एसिया कप क्रिकेट प्रतियोगितामा सान्त्वना जित हासिल गरेको छ।

मंगलबार आफ्नो अन्तिम खेलमा नेपालले यूएईलाई १ सय ६० रनले हराएकोे हो। नेपालले २ सय ८६ रनको विशाल लक्ष्य दिएकोमा यूूएई ३४.४ ओभरमा अलआउट हुदै १ सय २५ रनमा समेटिएको थियो।

यसअघि नेपालले श्रीलंका र बंगलादेशसँग पराजय बेहोरेर सेमिफाइनल पुग्नबाट वञ्चित भएको थियो। यूएईविरुद्ध प्रतिष्ठाका लागि खेलेको उक्त खेलमा नेपालले ठूलो जित निकालेको थियो।

टोलीको फराकिलो जितमा ब्याटस्म्यान र बलरले उत्कृष्ट प्रदर्शन गरे। नेपालका लागि ब्याटिङमा कप्तान रोहितकुमार पौडेलले ३३ ओभरमा आउट हुन अगाडि ६७ रनको योगदान दिए। यो खेलमा बनेको एक मात्र अद्र्धशतक पनि थियो।

उनले ८४ बलमा ९ चौका र १ छक्का प्रहार गरेका थिए। त्यस्तै सन्दीप जोराले ६ चौकाको सहयोगमा ४८ रन जोडे। उनी २ रनले अद्र्धशतक बनाउन चुकेका थिए।

यसैगरी आशिफ शेखले ४५, राशिद खानले ४४, कमलसिंह ऐरीलले ४१ रन बनाएका थिए। बलिङमा पनि नेपालको पकड राम्रोे भएको थियो।

कमलसिंहले नवौं ओभरमा विकेट लिँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए। यसपछि १३औैं आोेभरमा अर्का ओेपनरलाई आउट गर्दै सागर ढकालले दोस्रो सफलता दिलाए।

उनले थप दुई विकेट लिएर खेलमा कूल ३ विकेट हात पारेका थिए। यति विकेट लिन उनले मात्र २० रन खर्चेका थिए। अन्यमा पवन शर्राफ, सूर्य तामाङ र राशिद खानले २/२ विकेट लिए।

 

प्रतिक्रिया दिनुहोस्