नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्च म्यानेजर्स कन्फरेन्स सम्पन्न



नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पोखरामा ब्रान्च म्यानेजर्स कन्फरेन्स एण्ड एजेन्सी फ्यालिसिटेशन प्रोग्राम २०७६ सम्पन्न भएको छ।

उक्त कार्यक्रम एजेन्ट, एजेन्सी म्यानेजर, शाखा कार्यालय, उपशाखा कार्यालयलगायतका उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्ति तथा कर्मचारीलाई नगदसहित पुरस्कृत गर्दै सम्पन्न भएको हो। कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले गर्नुभएको हो।

देशभरिका एजेन्ट, एजेन्सी म्यानेजर, क्षेत्रीय कार्यालय, शाखा कार्यालय, उपशाखा कार्यालयलगायतका कर्मचारीहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा एजेन्टतर्फ ५० र एजेन्सी म्यानेजरतर्फ ५० जनालाई नगदसहित पुरस्कृत गरियो।

त्यसैगरी कम्पनीले उत्कृष्ट कार्यसम्पादन गर्ने आफ्ना कर्मचारीलाई पनि सम्मान गरेको छ।
कार्यक्रममा एजेन्सी म्यानेजरतर्फको एजेन्सी म्यानेजर अफ इयर अवार्डका लागि पहिलो हुने बिर्तामोड शाखाकी निर्मला खत्रीले ३ लाख ३३ हजार नगदसहित सम्मान–पत्र, दोस्रो हुने नयाँ बानेश्वर शाखाकी दुर्गाकुमारी खत्रीले १ लाख ८० हजार नगदसहित सम्मान–पत्र र तेस्रो हुने बिर्तामोड शाखाकै वेदनारायण गोदारले १ लाख नगदसहित सम्मान–पत्र हात पार्न सफल भएका छन्।

त्यस्तै एजेन्टतर्फको एजेन्ट अफ द इयर अवार्डका लागि पहिलो हुने नयाँ बानेश्वर शाखाका अच्युत पौडेलले ३ लाख ३३ हजार नगदसहित सम्मान–पत्र, दोस्रो हुने बिर्तामोड शाखाकी प्रमिला बस्नेतले १ लाख ८० हजार नगदसहित सम्मान–पत्र र तेस्रो हुने बूढानीलकण्ठ शाखाका नैनबहादुर खत्रीले १ लाख नगदसहित सम्मान–पत्र हात पार्न सफल भएका छन्।

कर्मचारीतर्फको वेष्ट पर्फमेन्स अफ द इयर अवार्ड विर्तामोड शाखाका अमेन्द्र कुमार कर्ण र वेस्ट रिजनल म्यानेजर अफ द इयर अवार्ड पूर्वाञ्चल क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक टीकादत्त प्याकुरेललाई प्रदान गरिएको छ।

नेपालको जीवन बीमा बजारको लगभग ३२ प्रतिशतभन्दा बढी बजारहिस्सा ओगटेको यस कम्पनीले आफ्ना कर्मचारी तथा एजेन्टलाई प्रोत्साहन गर्न हरेक वर्ष यस्ता सम्मान तथा उत्प्रेरण मूलक कार्यक्रम गर्दै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले जानकारी दिनुभयो।

कम्पनीको चुक्तापुँजी ५ अर्ब ४९ करोड रहेको छ भने लगानी ७२ अर्ब रुपियाँ रहेको छ। त्यस्तै कम्पनीको जीवन बीमा कोष ६७ अर्ब रुपियाँ रहेको छ।

१ लाख २८ हजारभन्दा बढी प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकका लागि देशभर फैलिएका करिब १ सय ८४ भन्दा बढी शाखा तथा उपशाखाहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ।

हालसम्म स्वदेश र विदेश गरी २६ लाख ३० हजार बढि व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्