भद्रपुरमा १३ दशमलव ३३ प्रतिशत विद्युत् चुहावट



उत्तम नेपाल, भद्रपुर।नेपाल विद्युत प्राधिकरण भद्रपुर वितरण केन्द्रमा १३ दशमलव ३३ प्रतिशत विद्युत् चुहावट रहेको छ।

विगत तीन वर्षको तथ्याङ्कले यस्तो देखाएको हो। वार्षिक रुपमा विद्युत् चुहावट घटाउँदै आइरहे पनि अझै बाँकी रहेको पाइएको छ।

भद्रपुर वितरण केन्द्रअन्तर्गत नगरपालिकामा भद्रपुर, मेचीनगर, अर्जुनधारा १ र विर्तामोड ८ पर्दछन्। त्यस्तै बुद्धशान्ति, कचनकवल र हल्दीबारी गाउँपालिका रहेका छन्।

केन्द्रको तथ्यांक अनुसार आर्थिक वर्ष २०७३/७४ मा १६ दशमलव ४१ प्रतिशत रहेको थियो।

सो वर्ष ४७ हजार ७ सय ग्राहक थिए। आर्थिक वर्ष २०७४/७५ मा १५ दशमलव ३८ प्रतिशत रहेको थियो।

प्रतिशतलाइ तुलना गर्दा १ दशमलव शून्य ३ प्रतिशतले तल झरेको देखिन्छ। सो वर्ष ५३ हजार ९ सय ४१ ग्राहक थिए।

गत आर्थिक वर्ष २०७५/७६ मा केन्द्रले २ दशमलव ५ प्रतिशत कम गरी १३ दशमलव ३३ प्रतिशतमा घटाएको छ। गएको वर्ष १० हजार ३ सय ५४ ग्राहक वृद्धि गरी ५८ हजार ५४ पुर्याएको भद्रपुर वितरण केन्द्रको तथ्याङ्कले देखाएको छ।

मिटर वाइपास, हुकिङ, पातलो तार, ट्रान्समिटरभन्दा टाढा तार लगायतले चुहावट बढ्ने गरेको इन्जिनियर नरेन्द्र शाहले बताउनुभयो।

क्षेत्रभित्र रहेका ३१ थान मिटरबाट वाइपास गरेर विद्युत् चुहावट गरीरहेको समयमा मिटर बरामद गरेपछि चुहावटमा कमि आएको उहाँको भनाइ छ।

ग्राहकले विभिन्न प्रयोजनमा मिटर वाइपास र हुकिङ गरेको विद्युत् कर्मचारीले पत्ता लगाएपछि चुहावटमा कमि हुँदै आएको चुहावट नियन्त्रण फाँटका कर्मचारी केशर वानीयाँले बताउनुभयो। मिटर बरामदबाट २ लाख ४६ हजार ५ सय ९ रुपियाँ जरीवाना समेत असुलेको उहाले जनाउँनुभयो।

विभिन्न कारणले १३ सय २० जनाको लाइन काटेर ३ करोड ६८ लाख ९८ हजार ८ सय ३८ रुपियाँ असुल गरेको उहाँले जानकारी दिनुभयो। सबै समस्या हल भएपछि चुहावटमा कमि आउँदै गरेको केन्द्र प्रमुख रामउदगार शाहले बताउनुभयो।

विगतका वर्षबाट चुहावटको प्रतिशत घट्दो क्रममा रहेको उहाँको भनाइ छ। अर्को प्रसंगमा अनारमनीदेखि चन्द्रगढीसम्म आएको ३३ केभी प्रसारण लाइनको तारको क्षमतामा वृद्धि गरेपछि गर्मी समयमा हुने अघोषित लोडसडिङ बन्द भएको उहाँले बताउनुभयो।

बक्यौता रकम घट्दै

केन्द्रले पछिल्लो समय बक्यौता रकममा समेत घटाउँदै गएको छ। आर्थिक वर्ष २०७४/७५मा ८६ करोड ८१ लाख ४ हजार ५ सय ६० रुपियाँ देखिएकोमा गत आर्थिक वर्ष २०७५/७६ मा करिब १० करोडले कमि आएको छ।

केन्द्रले ७६ असार मसान्तसम्म ७६ करोड ३५ लाख १ हजार ३ सय ३० रुपियाँ बक्यौता उठाउन देखिएको लेखा अधिकृत टंक उप्रेतीले बताउनुभयो।

रकम संकलनमा समेत गत वर्षभन्दा २०७५/७६ मा १२ दशमलव २८ प्रतिशतले वृद्धि गरी ७२ करोड ५३ लाख ५५ हजार ६ सय ३२ रुपियाँ संकलन भएको उहाँले जनाउनुभयो। वार्षिक संकलन ९७ दशमलव ५४ प्रतिशत रहेको उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्