बहुविवाहको आरोपमा पालिका अध्यक्ष प्रहरी हिरासतमा



सलिम अन्सारी,प्यूठान।आफ्नै श्रीमतीले दिएको बहुविवाहको उजुरीले प्यूठानको गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीलाई प्रहरी हिरासत पुर्याएको छ।

बहुविवाह गरेको भन्दै परस्त्रीसँग खिचिएका अर्धनग्न तस्वीरसहित उजुरी परेपछि प्रहरीले अध्यक्ष गिरी र उनकी प्रेमिका दुवैलाई हिरासतमा लिएको हो।

गिरीकी पत्नीले बहुविवाहको मुद्दा दर्ता गरेपछि आइतबार साँझ आफैं जिल्ला प्रहरी कार्यालय प्यूठान पुगेका गिरीलाई प्रहरीले नियन्त्रणमा लिए हिरासतमा राखेको छ।

आइतबार साँझ गिरी आफैं जिल्ला प्रहरी कार्यालय प्यूठानमा उपस्थित भएको प्रहरी नायब उपरीक्षक नरेन्द्रबहादुर कार्कीले बताउनुभयो। ‘हिरासतमा राखेर दुवैमाथि अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो।’

यसअघि गत भदौ १० गते गौमुखी गाउँपालिका ४ बस्ने पत्नी सीता केसीले गिरीविरुद्ध हुलाकमार्फत बहुविवाहको मुद्दा प्रहरीमा दर्ता गरेकी थिइन। उनले दोस्रो विवाह गरेको प्रमाणको आधारमा मुद्दा दायर गरेको दाबी गरेकी छन्।

डीएसपी कार्कीका अनुसार अध्यक्ष गिरीले आफूले दोस्रो विवाह नगरेको प्रहरी समक्ष स्पष्टीकरण दिएका छन्। नेपाली कांग्रेस प्यूठानका युवा नेतासमेत रहेका गिरीले श्रीमतीसँग १० वर्षदेखि अलग बस्दै आएको बताएका छन्।

आफूमाथि लागेको बहुविवाहको आरोप सत्य नभएको र यसको अनुसन्धानमा प्रहरीलाई सहयोग गर्ने पनि बताएका छन्। ‘बिहे गरेको भए त सबैलाई थाहा दिएर गर्थें नि’, उहाँले भन्नुभयो– ‘बिहे पनि लुकाउने कुरा हो र ?’

यसअघि सम्बन्ध विच्छेदको मुद्दा आफूले हारेको प्रतिक्रिया दिँदै गिरीले सम्पत्तीको विषयमा मुद्दा चलिरहेको पनि बताउनुभयो।

पत्नी केसी दुई छोरीसँगै बिजुवारमा कोठा भाडामा बस्दै आएका छन्। गिरीको बहुविवाह प्रमाणित भएदेखि १ वर्षदेखि ५ वर्षसम्म कैद र १० हजारदेखि ५० हजार रुपियाँसम्म जरिवाना तिर्नुपर्छ।

 

प्रतिक्रिया दिनुहोस्