विश्व आत्महत्या रोकथाम दिवस आत्महत्याको घटनामा कमी आएन



नेपाल समाचारपत्र,बैतडी।मंगलबार विश्व आत्महत्या रोकथाम दिवस, ‘आत्महत्या रोकथाममा सबैको सहकार्य’ नारासहित नेपालमा पनि विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदैछ।

प्रत्येक वर्ष सेप्टेम्बर १० मा आत्महत्या न्यूनीकरण गर्नका लागि जनचेतना बढाउन तथा आत्महत्या गरेर ज्यान गुमाएको सम्झनामा विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ।

पछिल्लो समय बैतडीमा आत्महत्याका घटनाहरू कमी आएको भएपनि आत्महत्याका घटना महिनैपिच्छे हुने गरेका छन्। जिल्ला प्रहरी कार्यालयको पछिल्लो ३ वर्षको तथ्यांकले आत्महत्याका घटनामा कमी आएको देखाएको हो।

आर्थिक वर्ष २०७३–०७४मा बैतडीमा ३६ जनाले आत्महत्या गरेका थिए जसमा २२ महिला, १३ पुरुष र १ बालक रहेका छन्।

यस्तै आर्थिक वर्ष २०७४–०७५ मा १३ महिला, १२ पुरुष, ३ बालक ३ बालिका गरी ३१ जनाले आत्महत्या गरेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिनुभयो।

प्रहरी निरीक्षक चन्दका अनुसार गत आर्थिक वर्ष २०७५–०७६ मा २२ जनाले आत्महत्या गरेका छन्। जसमा १० महिला, ९ पुरुष, ४ बालिका रहेका छन्। चालू आर्थिक वर्षको हालसम्म ३ महिलाले आत्महत्या गरेका छन्।

यो तथ्यांकलाई हेर्दा आत्महत्याको घटनामा केही कमी आएको भए पनि उल्लेख्यरूपमा भने कमी आउन सकेको छैन। प्रहरीले पछिल्लो समय विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएकोले आत्महत्याका घटनामा कमी आएको प्रहरीको दाबी छ।

यसका साथै सरकारी तथा गैरसरकारी संघसंस्थाले पनि आत्महत्या सम्बन्धी सचेतनामूलक कार्यक्रम गर्दै आएका छन्। आत्महत्यालाई कम गर्न प्रहरीले जनचेतनाको कार्यक्रम व्यापकरूपमा सञ्चालन गरिरहेको भएपनि सोचेअनुसार यो नियन्त्रणमा आउन सकेको छैन।

आत्महत्याका कारणमा प्रेममा धोका, पारिवारिक कलह, कमजोर आर्थिक स्थिति, मानसिक रोग, मादक पदार्थ सेवनलगायतका रहेको प्रहरीको अनुसन्धान ठहर छ।

मानिस विकल्पविहीन अवस्थामा पुगेपछि मात्रै आत्महत्या गर्ने भएकोले तनावमुक्त जीवनशैलीको उपाय खोज्नुपर्ने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको भनाइ छ।

कामको अवसर वृद्धि गर्ने र तनावमा रहेको समाजलाई सुखी र खुसी बनाउन प्रयत्न गर्नुपर्नेमा उहाँको जोड रहेको छ। माथिको तथ्यांकलाई हेर्दा पुरुषभन्दा महिलाले बढी आत्महत्या रोजेको देखिन्छ। यसका साथै बालबालिकाले पनि आत्महत्या गरेको देखिएको छ।

महिलालाई बढी घरायसी कामको बोझका साथै घरेलु हिंसा हुने गरेकाले आत्महत्या बढेको प्रहरीले जनाएको छ। बालबालिका पनि केही न केही तनावमा रहेको आत्महत्या रोज्छन्।
आत्महत्या गर्नेले खास गरेर कसैबाट पीडित भएर गर्ने भएकाले सम्झाउनतर्फ लाग्नुपर्ने रोकथामका लागि परिवारले पनि सहयोग गर्नुपर्ने प्रहरीको भनाइ रहेको छ।

आत्महत्या मानसिक बिरामी भएकोले रोकथामका लागि परिवारले पनि सहयोग गर्नुपर्छ जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर जगदीशचन्द्र विष्टले भन्नुभया– ‘घरेलु हिंसा न्युनीकरण गर्न सके आत्महत्या गर्ने दर पनि घट्छ’तनावमा रहेका व्यक्ती घोरिने, चिट्चिट गर्ने, बेलाबेलामा झस्किने, कसैसँग कुरा नगर्ने, बहकिने, एकान्तमा बस्न मन पराउने, लागूपदार्थ सेवनलगायतका लक्षण देखा पर्ने भएकाले यस्तो लक्षण देखिनासाथ डाक्टरको सल्लाह लिनुका साथै त्यस्तो व्यक्तीलाई सम्झाइ बुझाइ गर्नुपर्ने, एक्लै यताउती जान नदिने डाक्टर विष्टको सुझाव रहेको छ।

भेदभावरहित सामाजिक जीवनयापन बिताउन सक्ने वातावरण भए आत्महत्याका घटनामा कमी आउने विश्वास रहेको छ।

प्रतिक्रिया दिनुहोस्