तातोपानीका धारा र मुहान म्याग्दीखोलाको चपेटामा



प्रताप बानियाँ, म्याग्दी। तातोपानीका धारा र मुहान म्याग्दीखोलाको चपेटामा परेका छन्। बिरामीका लागि प्राकृतिक उपचारको अस्पतालका रुपमा विकसित हुँदै गइरहेको तातोपानीका मुहान म्याग्दीखोलाको चपेटामा परेका हुन्।

हरेक वर्ष वर्षात्को समयमा आउने खोलाको भलबाढी र नदी कटानको जोखिममा तातोपानीका कुण्ड पर्दछन्। म्याग्दी सदरमुकाम बेनीबजारदेखि ९ किलोमिटर पश्चिम बेनी नगरपालिका–४ तातोपानी बजारमा तातोपानीको कुण्ड रहेको छ।

वर्षैपिच्छे असार महिनादेखि भदौसम्म म्याग्दीखोला उर्लेर आउने हुँदा कुण्डभन्दा बाहिर रहेका तातोपानीका दुईवटा मुहान पुरिने गरेका छन्।

यसवर्ष पनि म्याग्दी नदीमा पानीको बहाव बढेपछि त्यसको असरले गर्दा मुहान पुरिएको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ।

कुण्डभन्दा बाहिर रहेका दुईवटै तातोपानीका मुहान पुरिएपछि तातोपानी कुण्डमा स्नान गर्न जाने बिरामीहरूले कुण्डभन्दा बाहिरका मुहानमा नुहाउन पाएका छैनन्।

अन्य समयमा तातोपानी कुण्डमा डुबुल्की मारेर बाहिर कुवा र धारामा गएर खुला ठाउँमा नुहाउने गरेका बिरामीलाई कुवा पुरिँदा नुहाउन समस्या भएको हो।

वर्षासँगै म्याग्दीखोला बढ्ने भएकाले त्यसको प्रत्यक्ष असर खोला नजिकै रहेका दुईवटै कुवामा परेको छ। वर्षा नहुँदा खोलामा बहाव घट्दै गएमा भने पुरिएको कुवा पनि विस्तारै देखिने गरेको छ।

कुण्ड बाहिर रहेका कुवा र धारा पुरिएपछि तातोपानी कुण्ड व्यवस्थापन समितिले भने कुण्ड परिसरभित्रै बिरामीहरूका लागि नुहाउने व्यवस्था गरेको जानकारी दिएको छ। प्रत्येक दिन बिहान ६ बजेदेखि ७ बजेसम्म ड्रममा कुण्डको तातोपानी भरेर बिरामीका लागि नुहाउने व्यवस्था गरिएको छ।

महिलाका लागि ३ वटा ड्रम र पुरुषका लागि २ ओटा छुट्टाछुट्टै ड्रमहरू राखी त्यसमा पानी भरेर बिरामीलाई नुहाउने व्यवस्थापन गरिएको छ।

तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामीलाई नै लक्षित गरेर कुण्डभित्रै नुहाउने व्यवस्था मिलाइएको हो।

तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले म्याग्दीखोलाको किनारमा रहेका दुईवटा तातोपानीका कुवा वर्षेनी जोखिममा परेको हुँदा आवश्यक सुरक्षा सतर्कता अपनाइएको बताउनुभयो।

उहाँले कुण्ड व्यवस्थापन समितिको तर्फदेखि भू–गर्भविद्समेत ल्याएर तातोपानीका कुवा देखाइए पनि त्यसको मूल स्रोत पहिचान नहुँदा संरक्षणको काम गर्न नसकिएको बताउनुभएको छ।

तातोपानी कुण्डको संरक्षण, संवद्र्धन, व्यवस्थापन तथा प्रचारप्रसारका लागि कुण्डको तर्फदेखि आवश्यक पहल गर्दै आइरहेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष शाक्यको भनाइ छ।

गएको वर्ष अबिरल वर्षासँगै तातोपानी बजारको ढल व्यवस्थापन गर्ने क्रममा कुण्डमाथि थुपारिएको ढुङ्गा, गिटी र बालुवाका कारण वर्षाको पानी जम्मा हुँदा जमिन भासिएको थियो। तातोपानी कुण्डमा हाल दैनिक १ सयदेखि १ सय ५० जनासम्म बिरामीहरूले स्नान गर्दै आइरहेका छन्।

दैनिक झण्डै १५ जना नयाँ बिरामीहरू थपिने गरेको कुण्डका कर्मचारीको भनाइ छ। तातोपानी कुण्डमा स्नान गरेपछि ग्यास्टिक, बाथ, युरिकएसिड, हाडजोर्नी दुख्ने, सड्केको, मर्किएको, घाउ, खटिरा, नशासम्बन्धी रोगलगायत चिसोका कारण उत्पन्न सबैखाले रोग निको हुने जनविश्वास रहेको छ।

प्रतिक्रिया दिनुहोस्