पुनर्निर्माण र जीविकोपार्जनमा सघाउने प्रयास



नेपाल समाचारपत्र,मकवानपुर। २०७२ सालको विनाशकारी महाभूकम्पबाट मुलुकले ठूलो जनधनको क्षति व्यहोर्यो। भूकम्पबाट प्रभावित विभिन्न जिल्लामध्ये मकवानपुर पनि एक हो।

भूकम्पमा ठुलो क्षति बेहोरेको मकवानपुर विस्तारै तंग्रिँदै छ। विपद्पछि धेरै संस्थाले तत्काल राहत र उद्धारमा सहयोग गरे पनि अधिकांश सहयोगी संस्थाहरू भने फर्किसकेका छन्।

सरकारले दिएको पहिलो किस्ताबापत्को ५० हजार रुपियाँ अन्य प्रयोजनमा खर्च गरेर दोस्रो किस्ता पाउनबाट वञ्चित भएका विपन्न परिवारलाई सीसीडीएनले आर्थिक
सहयोग गरेको छ। साथै उनीहरूको आयआर्जनका लागि पनि विभिन्न जीविकोपार्जनका काममा पनि सहयोग गरेको छ।

तर, केयर नेपाल भने मकवानपुरको सबैभन्दा बढी भूकम्पबाट क्षति भएको क्षेत्र हो, भीमफेदी गाउँपालिकमा विपद् व्यवस्थान र जिविकोपार्जनमा सक्रियता देखाएको छ। सरकारले घर पुर्निर्माणका लागि सहयोग गरिरहेको छ।

तर भूकम्पबाट अति जोखिममा परेका विपन्न परिवारलाई घर पुनर्निर्माण र जीविकोपार्जनमा सहयोग गर्दै दैनिकी सहज बनाउने हेतुले स्थानीय तहसँगको सहकार्यमा गाउँको विकास र स्थानीयको जनजीवन जोखिममुक्त र सहज बनाउन प्रयास दोस्रो परियोजनाले विभिन्न कामहरू गर्दै आएको छ।

सन् २०१८ जुलाई १ बाट शुरु भएको प्रयास दोस्रो परियोजनाबाट आफूहरू लाभान्वित भएको बताउँछन्, स्थानीय बासिन्दाहरू।

भीमभेदी गाउँपालिका–९ का एकबहादुर तितुङको पारिवारिक अवस्था निकै कमजोर छ। ५७ वर्षीया एकबहादुरको घरमा नौ सदस्य छन्। उनका दुई जवान छोरा हिँडडुल गर्न सक्दैनन्।

भूकम्पले उनको घर पूर्णरुपमा क्षतिग्रस्त भयो। सीसीडीएनले ५० हजार रुपियाँसहित उनको घर पुर्निर्माणका लागि सिमेन्ट, रड सहयोग गरेपछि अहिले उनको घर निर्माण अन्तिम चरणमा पुगेको छ।

सीसीडीएनको सहयोगमा नै एकबहादुरले आयआर्जनका लागि अदुवा खेती पनि गरेका छन्। अहिले एकबहादुर निकै दंग छन्।

मानवीय सहायता र नागरिक सुरक्षाका लागि युरोपियन कमिसन (ईको) र एडीसी (केयर अस्ट्रिया) को आर्थिक सहयोगमा सीसीडीएनले केयर नेपाल र आईसीसीओ कोअपरेसनसँगको सहकार्यमा ‘प्रयास दोस्रो’ परियोजना सञ्चालन गरिरहेको छ।

सामुदायिक विकास केन्द्र नेपाल सीसीडीएनले केयर नेपालसँगको सहयोगमा विपत् व्यवस्थापनमा प्रयास दोस्रो परियोजनाअन्तर्गत भीमभेदी गाउँपालिकाका ४३ घरधुरीलाई घर निर्माण र जीविकोपार्जनमा सहयोग गर्दै आएको छ।

त्यस्तै मकवानपुर जिल्लाको थाहा गाउँपालिका र कैलाश गाँउपालिकाका पनि संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गरेको संस्थाका कार्यकारी निर्देशक महेन्द्रबहादुर मगर बताउँछन्।

सरकारले दिएको पहिलो किस्ताबापत्को ५० हजार रुपियाँ अन्य प्रयोजनमा खर्च गरेर दोस्रो किस्ता पाउनबाट वञ्चित भएका विपन्न परिवारलाई सीसीडीएनले आर्थिक सहयोग गरेको छ।

साथै उनीहरूको आयआर्जनका लागि पनि विभिन्न जीविकोपार्जनका काममा पनि सहयोग गरेको छ।

भीमभेदी–९ कै मानबहादुर बम्जन र लालबहादुर बल दुबै एकल पुरुष हुन्। दुबैको घर भूकम्पले भत्काइदिएपछि सीसीडीएनकै सहयोगमा घर पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने जीविकोपार्जनका लागि उनीहरूले तरकारी खेती गरिरहेका छन्।

भीमभेदी गाउँपालिकाको–९ वडामा मात्रै सीसीडीएनले २७ घरपरिवारलाई पुननिर्माणसँगै जीविकोपार्जनमा सहयोग गरेको छ। सीसीडीएनले आयआर्जनका लागि त्यहाँको माटो र परिवारको रुचीअनुसारको काम गर्न सहयोग गर्ने गरेको छ

गरिब, असहाय, एकल महिला, पुरुष, बृद्धहरूलाई परियोजनाले प्राथमिकता दिएको छ। स्थानीय निकायसँगको समन्वयमा परियोजनाले लाभग्राही छनोट गरेको छ। जो साँच्चै समस्यामा परेका छन्, परियोजनाले उनीहरूलाई स्थानीय तहको सहकार्यमा प्राथमिकता दिएर सघाउ पुर्याएको छ।

वडाको बैठक बसेर घर बनाउन नसक्ने परिवारलाई वडाकै सिफारिसमा सीसीडीएनले सहयोग गरेको भीमभेदी गाउँपालिका –९ का वडाअध्यक्ष प्रकाश पुडासैनी बताउनुहुन्छ।

मकवानपुर जिल्लामा ४९ हजारले घर पुनर्निर्माणका लागि प्राधिकरणमा नाम दर्ता गराएका छन्।

पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ। अति जोखिममा परेका व्यक्तिलाई सीसीडीएनजस्ता संस्थाले प्राविधिक सहयोग, सामाजिक परिचालनका साथै आर्थिक सहयोग गरेकाले सरकारलाई निकै सहयोग पुगेको बताउनुहुन्छ, राष्ट्रिय पुनर्निर्माण प्राधिकार, मकवानपुरका कार्यकारी प्रमुख विमल किशोर केपी।

पुनर्निर्माणको कामसँगसँगै जीविकोपार्जनका लागि सीसीडीएनजस्ता संस्थाले गरेको कामको भीमभेदी गाउँपालिका अध्यक्ष हृदम लामा मुक्तकण्ठले प्रशंसा गर्नुहुन्छ।

गाउँपालिका एक्लैको साधन स्रोत र पहलले मात्र विकास सम्भव नहुने भएकाले गैसरकारीसंस्थासँग मिलेर अगाडि बढ्ने रणनीति गाउँपालिकाको रहेको उहाँको भनाइ छ।

केयर नेपालको सहयोगमा सीसीडीएनले आयआर्जनका लागि तरकारी खेती, व्यवसाय, पशुपालनका साथै उद्यमशीलतामा सहयोग गर्दै आएको छ। भीमभेदी २ कालिटारकी गोपिनी थापाले सीसीडीएनको सहयोगमा गोलभेडा खेती शुरु गर्नुभएको छ।

एकल महिला थापा उमेरले ७० वर्ष पुरा भइसक्नुभयो। बारीभरी लटरम्म गोलभेडा फलेका छन्। गोलभेडा खेतीले आम्दानी बढ्ने भएपछि थापा आर्थिक रुपमा अरुमा निर्भर हुनुनपर्ने भन्दै उहाँ खुसी हुनुहुन्छ।

थापाजस्तै ५० वर्षीया फुलमाया प्रजा पनि एकल महिला हुन्। भीमफेदी गाउँपालिका वडा नं. ४ पान्द्राङमा बस्नुहुने प्रजाको आर्थिक अवस्था निकै दयनीय छ।

रिफ्लेक्ट सदस्यसमेत रहनुभएकी प्रजाले किरानापसल सञ्चालन गर्नुभएको छ, त्यसका लागि सीसीडीएनले आर्थिक सहयोग गरेको हो।

पुनर्निर्माण र आयआर्जनका क्षेत्रमा मात्र नभएर सीसीडीएनले समुदायको सशक्तीकरणका साथै सचेतना जगाउने काम पनि गर्दै आएको छ।

समुदायलाई सशक्तीकरण गर्दै समुदायमा रहेका समस्यालाई पहिचान गरी मुद्दाको रुपमा उठाइ समाधानको उपाय खोजी गरिन्छ।

जसलाई रिफ्लेक्ट भनिन्छ। केन्द्रमा प्राकृतिक विपत्का बेला आवश्यक पर्ने सामग्रीहरूको प्रबन्ध मिलाउनुका साथै विपत्मा काम गर्न युवाहरूलाई प्रशिक्षणसमेत दिइन्छ।

यस्तै भीमभेदी गाउँपालिका–४ मा पनि रिफ्लेक्ट सञ्चालनमा छ। रिफ्लेक्ट कारण समूहमा छलफल गरेर व्यक्तिगत र समुदायका समस्याहरू समाधानका लागि सहयोग पुगेको रिफ्लेक्ट सदस्यहरू बताउँछन्।

प्रयास दोस्रो परियोजनाअन्तर्गत सीसीडीएनले जोखिम न्यूनिकरणको क्षेत्रमा पनि काम गर्दै आएको छ। श्री लेकाली बसीफाँट माध्यमिक विद्यालय फाँसीफाटमा पहिरोको जोखिम हटाउन तारजाली लगाउने काम भइरहेको छ भने विद्यालयमा हुने विपद् न्यूनिकरणका लागि सीसीडीएनले पाँच वर्षे योजना निर्माणमा सहयोग गरेको छ।

फाँसीफाट जिल्लाकै सबैभन्दा बढी चट्याङको जोखिम क्षेत्रका रुपमा पनि चिनिन्छ। त्यसका लागि पनि सीसीडीएनले चट्याङबाट बच्नका लागि आवश्यक सुरक्षा अपनाउन पाइलटिङको काम गरिरहेको सीसीडीएनका प्रोग्राम म्यानेजर सुवास न्यौपानले जानकारी गराए।

प्रयास दोस्रो परियोजना ग्रामीण भेगका अतिविपन्न नागरिकका लागि जीविकोपार्जनका लागि उदाहरणीय बनेको छ। परियोजनाबाट लाभान्वित परिवार आयआर्जनको नयाँ बाटो फेला परेकोमा खुसी छन्। प्रयास दोस्रो परियोजना अहिलेसम्मकै सफल कार्यक्रम भएको बताउनुहुन्छ, सीसीडीएनका कार्यकारी निर्देशक महेन्द्र बहादुर मगर।

सीसीडीएन सामाजिक क्षेत्रमा काम गर्ने मकवानपुर जिल्लाकै अग्रणी संस्थाका रुपमा चिनिन्छ। नागरिकको जीवनस्तर सुधारको क्षेत्रमा काम गर्दै आएकाले पनि सीसीडीएनको आफ्नो छुट्टै पहिचान बनेको छ।

जोखिम न्यूनिकरण र सिमान्तकृत समुदायको जीविकोपार्जन, सामाजिक, आर्थिक विकासमा संस्थाले आफूलाई अगाडि बढाउँदै लैजाने बताइरहँदा स्थानीय पनि संस्थाप्रति आभारी देखिन्छन्।

 

प्रतिक्रिया दिनुहोस्