महाशिलाले शुरू गर्यो कालोपत्रे सडक अभियान



नेपाल समाचारपत्र,पर्वत।कहिले गाउँका बेरोजगार युवाहरूलाई स्वयम्सेवकका रुपमा नियुक्ति गरेर, कहिले बाँदर नियन्त्रण अभियान त कहिले सुत्केरीलाई भाले र घिउ दिने अध्यक्ष उपहार कार्यक्रम गरेर चर्चामा आएको यहाँको एक गाउँपालिकाले फेरि जिल्लामै नमुनायोग्य काम शुरु गरेको छ।

स्थानीय तहमा सानातिना योजनामा बजेट बिनियोजन गर्ने, ठुला योजनाहरू निर्माण गर्नुपरेमा प्रदेश वा संघीय सरकारसँग बजेट माग गर्ने गरेको पाइन्छ। तर पर्वतको महाशीला गाउँपालिकाले जिल्लामै पहिलोपटक आफ्नै लगानीको ठूलो योजना शुरु गरेको छ।

वडा नं. ५ लुंखुदेउरालीदेखि वडा नं. ४ पाखापानीस्थित गानावाङसम्मको सडक कालोपत्रे गर्न थालेको हो। पाँच किलोमिटर सडक आफ्नै लगानीमा निर्माण गर्न थालेको हो।

अहिलेसम्म पुरै कच्ची सडक मात्र रहेको उक्त गाउँपालिकामा पहिलोपटक गाउँपालिकाले संघ र प्रदेशको मुख नताकी आफैं बजेट बिनियोजन गरेर सडक कालोपत्रे गर्न थालेको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिनुभयो।

उहाँका अनुसार शनिबारदेखि उक्त सडकको कालोपत्रेको काम शुरु गरेको हो। ६ करोड ४६ लाखको लागतमा निर्माण हुन लागेको उक्त सडक १८ महिनाको सम्झौता अवधि रहेको छ।
सडक निर्माणको जिम्मा फेवा कन्ट्रक्सनले पाएको छ।

विसं. २०७७ मंसिरसम्म सम्पन्न गर्नुपर्ने सडक कालोपत्रेका कामका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले शिलान्यास गर्नुभएको छ। कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले अबको पाँच वर्षभित्र गण्डकी प्रदेशका अधिकांश मुख्यमुख्य ग्रामीण सडकहरू कालोपत्रे भइसक्ने बताउनुभयो।

उहाँले अबको समय विकास निर्माण र समृद्धिको भएकाले प्रदेश सकारले दीर्घकालीन महत्वका योजनालाई प्राथमिकता दिएको बताउनुभयो। मन्त्री बस्नेतले तोकिएकै गुणस्तर र मापदण्डमा रहेर काम सम्पन्न गर्न आग्रह गर्दै यसमा जनप्रतिनिधिले निरन्तर निगरानी बढाउनुपर्ने बताउनुभयो।

कार्यक्रममा महाशीला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले टुक्रे योजनालाई न्यूनिकरण गर्दै दिर्घकालीन महत्वका योजनाहरूमा बजेट केन्द्रित गरिएको बताउनुभयो।
उहाँले उक्त सडक निर्माणपछि आगामी आर्थिक वर्षको बजेटमा यस्तै ठूला योजनामा बजेट बिनियोजन गर्ने बताउनुभयो

। योजनाहरूमा बजेट बिनियोजन गरेर काम धेरै देखाउनुभन्दा पनि थोरै तर दीर्घकालीन योजनामा बजेट बिनियोजन गर्न गाउँसभाले नै निर्णय गरेको थियो।

उक्त सडक निर्माणपश्चात दक्षिण पर्वतका पैंयु, र विहादी गाउँपालिकाका साविकका एक दर्जनभन्दा बढी गाविसका बासिन्दालाई सदरमुकाम आउजाउ गर्न सहज हुने भएको छ। पर्वतको फलेवास नगरपालिकास्थित लमाएदेखि लुंखुदेउरालीसम्मको सडक पनि कालोपत्रेको काम पनि भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्