एक सय उत्कृष्ट शिक्षक सम्मानित हुने



काठमाडौं, (नेस)।सरकारले मुलुकभरका १ सय १ उत्कृष्ट शिक्षकलाई पुरस्कृत गर्ने भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा उनीहरूलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।

सामुदायिक विद्यालयका ७७, संस्थागत विद्यालयका नेपाल स्काउटतर्फ ६, विश्व विद्यालयतर्फका ११ र प्राविधिक शिक्षालयका ७ गरी १ सय १ शिक्षकलाई पुरस्कारका लागि छनोट गरिएको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुरस्कारका लागि खुलारूपमा आवेदन माग गरी उनीहरूबाट उत्कृष्ट शिक्षकको छनोट गरेको हो। सबैलाई शिक्षा दिवस पदक तथा प्रमाणपत्र दिने भएको छ।

४०औं राष्ट्रिय शिक्षा दिवस तथा ५३औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शिक्षक र प्रशिक्षक तथा प्राध्यापकहरूलाई पदक, प्रमाणपत्र तथा प्रशंसापत्रद्वारा पुरस्कृत गर्ने निर्णय भएको शिक्षा मन्त्रालयले जनाएको छ।

मन्त्रालयले ललितपुर जिल्लाबाट प्रगति शिक्षासदन कुपन्डोलका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेलाई पुरस्कृत गर्ने भएको छ।

काठमाडौंबाट कालीदेवी तारकेश्वर नगरपालिकाका निमावि शिक्षक प्रकाशप्रसाद फुयाल, भक्तपुरबाट सूर्यविनायक नपाका भैरवी आधारभूत विद्यालय प्रावि शिक्षक राजकुमार बस्नेतलाई पुरस्कृत गर्ने निर्णय गरेको छ।

७७ जिल्लाबाट शिक्षा समन्वय समितिले पुरस्कृत शिक्षकको नाम सिफारिस गरी मन्त्रालयमा पठाएको थियो।

राम्रो भन्दा पनि हाम्रा र राजनितिक सोर्सका आधारमा शिक्षक छनौट गर्ने प्रचलनले गर्दा सरकारको आलोचना भएपछि मन्त्रालयले तीन वर्षअघि सो प्रावधान हटाएको थियो। पछि यो वर्षदेखि पुनः शरू भएको हो।

प्रतिक्रिया दिनुहोस्