२३ गुँला खलःलाई १–१ लाख



काठमाडौं, (नेस)।काठमाडौ महानगरपालिकाले गुँला पर्वमा बजाइने बाजा संरक्षण गर्ने २३ गुँला खलःलाई जनही १ लाख रुपियाँ अनुदान दिएको छ।

राजधानीमा आयोजना गरिएको कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्य, सांसद एवं पूर्वमन्त्री भीमसेनदास प्रधान, कृष्णगोपाल श्रेष्ठ, प्रदेश सांसद राजेश शाक्य, महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र गुँला बाजा व्यवस्थापन तथा संरक्षण संघका अध्यक्ष अमिरमान शाक्यले संयुक्तरूपमा उक्त रकम वितरण गर्नुभएको थियो।

अनुदान रकम वितरण गर्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो– ‘मूर्त अमूर्त सांस्कृतिक सम्पदाको पहिचान र संरक्षण विषयमा व्यक्तिपिच्छे फरक धारणा हुँदा लोप हुन लागेका सम्पदा जोगाउन कठिन हुन्छ। मर्मत गर्नै पर्ने अवस्थामा पुगेको सम्पदा बचाउन कठिन हुन्छ।’

कार्यक्रममा सांसद एवं पूर्वमन्त्री प्रधानले मेयर शाक्यको कार्यकालमा सम्पदा जोगाउने कोणबाट महत्वपूर्ण काम हुने आशा व्यक्त गर्नुभयो।

महानगरभित्र भएका धेरै सम्पदा बचाउनु पर्नेछ। सार्वजनिक ठाउँ पनि सम्पदा नै हुन् तिनको पनि ख्याल गर्नु पर्छ उहाँले भन्नुभयो ।

सांसद कृष्णगोपाल श्रेष्ठले बाजा बचाउन महानगरले गुंला बाजा खलःलाई उपलब्ध गरेको अनुदान रकमको प्रशंसा गर्दै भन्नुभयो— ‘यो उत्कृष्ट काम हो। यस्तै धेरै उत्कृष्ट काम गरेपछि महानगरको इज्जत बढ्छ।’

कार्यक्रममा कामपा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले अब सांस्कृतिक चालचलन लंैगिकमैत्री बनाउँदै लैजानुपर्ने बताउनुभयो।

उहाले भन्नुभयो– ‘हाम्रा संस्कारभित्र केही पुस्तान्तरण गर्नुपर्ने काम छन्। ती कामलाई निरन्तर चलाउनु पर्छ। केही सुधार गरेर पुस्तान्तरण गर्नुपर्ने छ।

कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, गुठी तथा सम्पदा संरक्षणमा चासो राख्ने प्रतिनिधि र स्थानीयको सहभागिता थियो।

 

प्रतिक्रिया दिनुहोस्