इन्द्रजात्रा शुरू



नेपाल समाचारपत्र, काठमाडौं।मंगलबार बिहान ९ बजेर १७ मिनेटको साइतमा वसन्तपुर काल भैरवअगाडि विधिपूर्वक इन्द्रध्वज (लिंगो) ठड््याएपछि यस वर्ष इन्द्रजात्रा शुरू भएको छ।

इन्द्रध्वज उत्थान अवलोकन गर्न महानगरका प्रमुख विद्यासुन्दर शाक्य, सांसद जीवनराम श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, प्रदेश सांसद राजेश शाक्य, डा. अजयक्रान्ति शाक्यसहित काठमाडौंबाट संघीय तथा प्रदेश सभामा निर्वाचित सदस्य, वडाध्यक्ष, कार्यपालिका सदस्यहरू तथा वडा सदस्यहरू सहभागी थिए।

नेवार समुदायभित्रका मानन्धर थरका थकालीले पूजा गरेपछि लिंगो ठड््याउने चलन छ। इन्द्रध्वजका रूपमा गाडिने लिंगो ल्याउन भदौ १५ गते बिहान ११ बजेर ७ मिनेटको साइतमा गुठीयारहरू भक्तपुर गएका थिए। भदौ २० गते बिहान ९ बजेर ३५ मिनेटको साइतमा लिंगोलाई नगर प्रवेश गराइएको थियो।

वसन्तपुरमा इन्द्रध्वज ठड्याउनुअघि किलागलका ज्यापू समुदायले परम्परागत तान्त्रिक देवी प्रस्तुत गरेका थिए शार्दूलजंग गुल्मका पल्टनले साइतको तोपले बडाई गरेका थिए।

मंगलबार पहिलो दिन नेवार समुदायले काँचो माटोको दियोमा बत्ती बालेर उपाकु पर्व मनाउने गर्छन्। मंगलबार बेलुका राति ८ बजे गणेश र भैरवलाई कुमारी घरमा ल्याइन्छ।

त्यसपछि कुमारी, भैरव र गणेशलाई तलेजु भवानी मन्दिरको मुलद्वारमा लगेर लसकुस गरी भित्र लगेर निम्तो दिने चलन छ। भदौ २३ गते एकादशीका दिन सरकारको तर्फबाट गणेश र भैरवलाई इन्द्रजात्रामा सहभागी हुन निमन्त्रणा दिइएको थियो।

इन्द्र जात्रामा लिंगो ठड््याउने परम्परा कसले चलाए भन्ने एकिन नभए पनि रणबहादुर शाहका पालाबाट हालको स्थानमा लिंगोे ठड््याउन थालिएको र त्यसअघि मरुटोलस्थित अड्कोनारायण मन्दिरअघि यसरी नै लिंगो ठड््याइन्थ्यो भन्ने कथन छ।

इन्द्रध्वजलाई उल्लास, विजय र उत्सवका रूपमा हेरिन्छ।यसवर्ष भदौ २७ गते कुमारी रथ यात्रा शुरू गरेर वसन्तपुरबाट तल्लो टोलमा रथयात्रा गरिनेछ। सोही दिन साँझ साढे ४ बजे राष्ट्रपति वसन्तपुरमा पुगेर कुमारीको दर्शन गर्ने कार्यक्रम छ। २८ गते माथिल्लो टोलमा रथयात्रा हुनेछ।

यस अवधिमा लाखे, आकाश भैरव, पुलुकिसी, देवीलगायत तान्त्रिक विद्यामा आधारित नाच र दश अवतारलगायत पौराणिक कथामा आधारित नृत्य प्रदर्शन हुनेछन्।

भदौ ३१ गते हुने नानिचा यात्रासँगै राति ९ बजेर ३५ मिनेटको साइतमा इन्द्रध्वज ढालेपछि यस वर्षका लागि जात्राका औपचारिक कार्यक्रम समाप्त हुनेछ।

यस वर्षको इन्द्रजात्रा अवलोकनका लागि काठमाडौं महानगरले भगिनी सम्बन्ध भएका नगरबाट नगर प्रमुख र प्रतिनिधिलाई निमन्त्रणा गरेको छ।

महानगरको निमन्त्रणा स्वीकार गरेर ६ वटा देशका १३ वटा नगरबाट ५ जना मेयरसहित ४८ जना पाहुना आउने निश्चित भएको छ।

प्रतिक्रिया दिनुहोस्