डेंगु र असफल सरकार



महामारीका रूपमा फैलिएको डेंगु नियन्त्रणका लागि राज्यले प्रभावकारी कदम नचाल्दा लाखौं नेपाली प्रभावित हुन पुगेका छन्।

सरकारले डेंगु नियन्त्रणका लागि सबै उपाय अवलम्बन गरेको ढोंग पिटे पनि कार्यक्षेत्रमा भने त्यस्तो देख्न पाइँदैन।

मुलुकको एकमात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको हालत हेर्ने हो भने मुलुकमा सरकारको उपस्थिति छ कि छैन भन्ने भ्रम उत्पन्न हुन्छ।

हरेक एक घरमा एक जना ज्वरोका बिरामी देखिन थालेपछि चाहे गरिब होस्, चाहे धनी, जचाउनका लागि टेकु अस्पताल पुग्नेको संख्या दैनिक १ हजारभन्दा बढी रहेको छ।

तर, जनशक्ति एवं साधन–स्रोत भने नियमितरूपमा पहिला जसरी चलेको थियो त्यहीरूपमा परिचालन गरिएकाले सेवा अस्तव्यस्त देखिएको छ।

डेंगुका लागि रगत दिन र रिपोर्ट दिन एउटा बिरामीलाई कम्तीमा ४ घण्टा लाग्ने अवस्था सिर्जना हुँदा पनि राज्यको ध्यान जान नसक्नु पक्कै राम्रो होइन।

देशभरका सरकारी तथा निजी अस्पतालले समेत थप उपचारका लागि टेकु अस्पतालमा नै बिरामी रिफर गर्ने गरेका कारण अस्पतालमा बेडको समस्या चर्कोरूपमा बढेको देखिन्छ भने इमरजेन्सीमा सेवा लिन आउनेको हालत पनि दयनीय छ।

महामारीको रूप लिएको डेंगु नियन्त्रणका लागि र अस्पताल आउने बिरामीका लागि सहज वातावरण बनाउन लाग्नुपर्ने सरकार कानमा तेल हालेर बसेको देख्दा मुलुकमा दुई तिहाइको सरकार भएको दम्भ गर्ने सरकारलाई टेकु अस्पतालले जिस्क्याइरहेको हो कि भन्ने प्रतीत हुन्छ।

सरकारले हालको महामारी नियन्त्रण गर्न सो अस्पतालमा कार्यरत चिकित्सक, कर्मचारीले नपुगे अन्य अस्पतालबाट चिकित्सक तथा कर्मचारी काजमा ल्याएर भए पनि सहज सेवा दिनुपर्नेमा त्यस्तो गरेको देखिँदैन।

सीमित जनशक्तिले असीमित बिरामीको सेवा गर्नुपरेपछि समस्या आउने नै भयो। राज्यप्रति जनताको आकर्षण बढ्नुको साटो घट्दो अवस्थामा छ।

हरेक क्षेत्रमा थिति होइन बेथिति बढ्दै गएको छ। जनताले भरोसा गर्न लायकको राज्य नहुँदा मुलुकमा अराजकता बढ्दै गएको देखिन्छ।

राजधानीको सुविधासम्पन्न अस्पतालको हालत त दयनीय छ भने दूरदराजमा यस्तै खाले महामारी फैलियो भने के होला ? कल्पना पनि गर्न सकिँदैन।

राज्यले यसप्रति ध्यान दिने कहिले ? सरकारले भाषण गरेर जनतालाई भुलभुलैयामा पार्ने होइन, जनताको दुखेको ठाउँमा मलहम लगाउने काम गर।

त्यसपछि मात्रै जनताले यो मेरो सरकार हो, यसलाई संरक्षण गर्नुपर्छ भन्ने अभियानमा लाग्नेछन्।

होइन भने सार्वजनिक बसमा समेत सरकारका असफलताका कथाबाहेक अन्य केही सुन्न पाइनेछैन। समयमा नै ध्यान जाओस्।

प्रतिक्रिया दिनुहोस्