क्याम्पसको गुणस्तरमा सुधार जनभावनालाई क्यूएए सिफारिस



विश्वविद्यालय अनुदान आयोगले नेपालमा उच्च शिक्षा सुधारका लागि गुणस्तर सुनिश्चितता एवं प्रत्यायन (क्यूएए) कार्यक्रम लागू गर्न थालेपछि शैक्षिक गुणस्तरमा क्रमशः सुधार आउन थालेको सरोकारवालाले बताएका छन्।

अनुदान आयोगले सरकारी, सामुदायिक तथा निजी क्याम्पसहरूको गुणस्तर मापन गर्दै क्यूएए प्रदान गर्दै आएको छ। गुणस्तर मापनका लागि उसले मूल्यांकन टोली (पीआरटी) गठन गरी टोलीको सुझावका आधारमा क्यूएए प्रमाणपत्र दिँदै आएको छ।

मूल्यांकन टोलीले क्यूएए प्रक्रियामा जान चाहने उच्च शैक्षिक संस्थाहरूको ८ आधारमा मूल्यांकन गरी प्रमाणपत्र प्राप्तिका लागि सिफारिस गर्छ।

नीति–नियम, पाठ्यक्रमसम्बन्धी पक्ष, पढाइ–सिकाइ र मूल्यांकन प्रणाली, अनुसन्धान, परामर्श, भौतिक पूर्वाधार र सिकाइका स्रोत, विद्यार्थी हित र दिशानिर्देश, सूचना प्रणाली, सार्वजनिक सूचना वितरण प्रणालीलाई मूल्यांकनका आधार आयोगले बनाएको छ।

हालै आयोगको पूर्वमूल्यांकन टोलीले दक्षिण ललितपुरको अग्रणी सामुदायिक क्याम्पस जनभावनालाई क्यूएए प्रमाणपत्र प्राप्तिका लागि सिफारिस गरेको छ।

अनुदान आयोगले प्राडा मनप्रसाद वाग्लेको संयोजकत्वमा विदेशी विज्ञ प्राडा महालिंग डोंग्रे, प्राडा पुष्पराज शर्मा, प्राडा माला मल्ल, अनुदान आयोगका क्यूएए अधिकृत गोपाल आचार्यको टोलीले जनभावनाको स्थलगत अवलोकन तथा एसआरआर प्रतिवेदन अध्ययन गरी क्यूएएका लागि सिफारिस गरेको हो।

मूल्यांकन टोलीले जनभावना क्याम्पसको भदौदेखि २० भदौसम्म चार दिन अध्ययन अवलोकन गरी क्यूएएका लागि विश्वविद्यालय अनुदान आयोगसमक्ष सिफारिस गरेको हो। मूल्यांकन टोलीले क्याम्पस व्यवस्थापन समितिसहित, प्राध्यापक, विद्यार्थी, कर्मचारी, एल्मुनाई, स्थानीयसँग छलफल गरेको थियो।

२०७५ मंसिरमा जनभावना क्याम्पसले बुझाएको स्वमूल्यांकन प्रतिवेदन (एसएसआर)पछि आयोगले प्राडा मनप्रसाद वाग्लेकै संयोजकत्वको दुई सदस्यीय टोलीले गत ७ देखि ९ वैशाखसम्म स्थलगत अनुगमन गरेको थियो। जनभावना क्याम्पसले २०७२ एलओआई पाएको थियो।

क्याम्पसका प्रिन्सिपल शिवराज सञ्जेलले अनुगमन टोलीले क्याम्पसलाई क्यूएए प्रदान गर्न सिफारिस गरिसकेको जानकारी दिँदै चाँडै नै जनभावना क्याम्पसले क्यूएए प्रमाणपत्र प्राप्त गर्ने बताए।

उनले अनुदान आयोगले निर्णय गरेसँगै जनभावना क्याम्पस क्यूएए पाउने ललितपुरको पहिलो सामुदायिक क्याम्पस बन्नेसमेत जानकारी दिए। अनुदान आयोगको क्यूएए विभागका अनुसार हालसम्म देशभरिका सरकारी, सामुदायिक तथा निजीस्तरका ३६ शैक्षिक संस्थाले क्यूएए प्रमाणपत्र पाइसकेका छन्।

नेपालमा हाल सामुदायिक र प्राइभेट गरी १ हजार १ सय ६६, आंगिक ६० गरी कुल १ हजार २ सय २६ वटा क्याम्पस छन्। आयोगमा त्रिविबाट सम्बन्धन प्राप्त ४ सय ५० वटा क्याम्पस दर्ता भएका छन्। अहिले ९ वटा विश्वविद्यालय छन्।

नेपालमा २०३९ सालबाटै सामुदायिक क्याम्पसहरू सञ्चालन गर्न थालिएको हो। पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत ६ र नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत २ वटा सामुदायिक क्याम्पस छन्।

नेपालमा सन् १९९० को राजनीतिक परिवर्तनसँगै तत्कालीन सरकारले सन् १९९३ मा विश्वविद्यालय अनुदान आयोग गठन गरी नेपालको उच्च शिक्षाको मापन र सुधारका प्रयास थालिएको हो।

उच्च शिक्षा सुधारका लागि विश्व बैंकको सहयोगमा सन् १९९७ देखि सन् २००२ सम्म पहिलो र सन् २००७ देखि सन् २०१४ सम्म दोस्रो उच्च शिक्षा सुधार परियोजना सम्पन्न भइसकेको छ भने तेस्रो उच्च शिक्षा सुधार परियोजना सन् २०१४ मा शुरू भई सन् २०२० मा सम्पन्न हुनेछ।

विश्वविद्यालय अनुदान आयोगको क्यूएए विभागले नेपालका उच्च शैक्षिक संस्थामा गुणस्तर कायम र सुधार प्रक्रिया गराई गुणस्तरको प्रमाणपत्र प्रदान गर्न सहजीकरण गर्दै आएको छ।

विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षासम्बन्धी गुणस्तरको मापदण्ड पूरा गरी उच्च शिक्षा प्रदान गर्ने सरकारी, सार्वजनिक वा निजी विश्वविद्यालय, क्याम्पसलाई अनुदान आयोगले क्यूएए प्रदान गर्दै आएको छ। अनुदान आयोगले गुणस्तर सुनिश्चिता प्रत्यायन समिति बनेको छ। आयोगमा क्यूएएका लागि छुट्टै विभाग पनि गठन भएको छ।

क्यूएए प्रक्रियामा जाने स्वीकृति एलओआई पाइसकेका संस्थाले दोस्रो चरणमा प्रवेश गरी स्वअध्ययन प्रतिवेदन (एसएसआर) प्रतिवेदन विश्वविद्यालय अनुदान आयोगमा बुझाउनुपर्छ। आयोगले एसएसआर प्रतिवेदन विज्ञहरूको मूल्यांकन टोली पियर रिभ्यु टिम (पीआरटी) खटाउँछ।

एसएसआर प्रतिवेदनका आधारमा शैक्षिक संस्थाको भ्रमण गरी संस्थाको प्रमाणीकरण गरिन्छ। विज्ञहरूको मूल्यांकन टोलीको सिफारिसको आधारमा आयोगको बैठकले क्यूएए प्रमाणपत्र दिने प्रचलन छ।

केही वर्षयता सरकारले सामुदायिक क्याम्पसलाई अनुदान आयोगमार्फत सहयोग गर्दै आएको छ। आयोगले सामुदायिक क्याम्पसहरूलाई नियमित अनुदान र भौतिक अनुदान दिँदै आएको छ। नियमित अनुदान क्याम्पसको उपलब्धिका आधारमा ३ लाखदेखि १२ लाख रुपियाँसम्म हुने गरेको छ।

भौतिक अनुदानतर्फ भवनलगायत पुस्तकालय, उपकरण खरिद, इन्टरनेट जडान, फर्निचर खरिद जस्ता शीर्षकमा बर्षेेनी सहयोग गर्छ। यसै गरी एउटा साइकल पार गरी नसकेका क्याम्पसलाई विशेष अनुदान भनेर थोरै रकम सहयोग गर्दै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्