प्रहरी संवेदनशील बन्नै पर्छ



यति बेला देशभर हत्या, हिंसा र बलात्कारका घटना ह्वात्तै बढेका छन्। यस्ता घटनाहरू तुलनात्मकरूपमा बढेका हुन् वा सहजै बाहिर आएका हुन्, त्यो अध्ययनको पाटो हो।

तर केही घटनाहरू यसरी आएका छन् कि ती घटनाको प्रकृतिले नेपाली समाज कति निर्दयी र हिंस्रक बनिरहेको छ भन्ने देखाएको छ।

जस्तै– निर्मला पन्त बलात्कारपछिको हत्या भएको अझैसम्म पनि पत्ता लाग्न सकेको छैन। प्रत्रकार शालिकराम पुडासैनीको मृत्यु हत्या हो या आत्महत्या भन्ने पनि अझैसम्म पत्ता लाग्न सकेको छैन।

यद्यपि यसअघि धेरै घटनाहरू लुकेर बाहिर आउने अवसरसमेत पाएका थिएनन्। सञ्चार, सामाजिक सञ्जाल र नेपाली समाजको सचेतनाको कारण आपराधिक घटनाहरू सार्वजनिक गर्न सहज भएको छ।

अनुसन्धानको लागि नेपाल प्रहरीले पनि धेरै सुधार गरेर अप्ठ्यारो अवस्थामा पनि अनुसन्धान गरेको छ। यो सबै परिणतीले पीडितले राहत पाउने अवसर पनि बनेको छ।

तर केही यस्ता प्रतिनिधि घटना छन्, जहाँ नेपालका सबै सुरक्षा निकाय पनि चुकेका छन्। मौन छन् वा अनुसन्धान गर्नै सकेका छैनन्। त्यो नेपाली जनताले बुझ्न सकेका छैनन्।

कन्चनपुर घटना यसको एउटा जिउँदो उदाहरण हो। यहाँ नेपालको प्रहरी निकायको वरिष्ठ अधिकारी निलम्बन गर्नेसम्मको घटना भएको छ। चौबीस घन्टामै सिडिओ र प्रहरी प्रमुख फिर्ता बोलाउनेसम्मको सरकारले काम गरेको छ।

यसरी हेर्दा सरकार निकै चनाखो छ भन्ने पनि देखिन्छ। तर सरकारकै सुरक्षा निकाय भने निलम्बन हुने काम किन गरिरहेको छ ? अथवा यो कतै सरकारको देखाउने खेल त होइन ?

एउटा बालिकाको बलात्कारपछि हत्या भएको घटनामा प्रमुख दोषी देखाइएको व्यक्ति त्यहीँको समाज मान्न तयार छैन। उनीहरूले मुख्य अपराधी अर्कै छ भन्छन्। सरकार सुरक्षा प्रमुखहरूलाई फिर्ता र निलम्बन गरेर बसेको छ।

यहाँ सरकारका मन्त्रीहरूलाई थाहा भएको र अनुसन्धान गर्ने प्रहरी अधिकारीहरूलाई थाहा नभएको अवस्था हो ? किन यस्ता घटना भएका हुन् ? त्यति मात्र नभएर घटनापछिको आन्दोलनमा पनि बालबालिकाकै हत्या भएको छ।

आन्दोलनमा ढुंगामुढा गरेको व्यक्तिलाई गोली लागेको भए सामान्यरूपमा पचाउने अवस्था हुन्थ्यो। तर त्यहाँ संलग्न नभएको, हुन नसक्ने अवस्थाको मानिस मारिनुले राज्य संयन्त्र कति गैरजिम्मेवार छ भन्ने प्रस्ट हुन्छ।

त्यति मात्र होइन, नेपालको प्रहरी, सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानमा घटनापूर्व अनुसन्धान गर्ने संयन्त्र पनि छ। पूर्वतयारी गर्ने तथा घटनालाई पहिले नै रोक्नेसम्मका संयन्त्र बनाइएको छ।

तर कन्चनपुर घटनापछि त्यस्ता घटनामा राज्य अलि गम्भीर होलाभन्दा फेरि पोखरालगायतका स्थानमा पनि त्यस्तै प्रकृतिका घटना झन् दोहोरिएका छन्।अनुसन्धानले कतिपय घटना पुष्टि हुन बाँकी छन्, तर आमजनतामा फेरि उस्तै प्रकृतिका घटना दोहोरिएकोले सन्त्रास फैलिरहेको छ।

आमजनताले दबाबमूलक कार्यक्रम गर्दा उल्टै गोली खानुपर्ने अवस्था भैरहेकै अवस्थामा फेरि यस्ता घटना दोहोरिनुले आमनागरिकले सुरक्षाको प्रत्याभूति कहिले महसुस गर्ने हो ?

किन राज्यले आफ्नो प्रशासन, कानुन र सुरक्षालाई मजबुत बनाउन नसकेको हो ? यो समय देशलाई सुशासन र समृद्धिमा लैजानेबाहेक अरू कुनै उद्देश्य नभएकै समयमा यति धेरै समस्या आउँछन् भने नेपाली जनताले सुरक्षा, न्याय र कानुनी शासनका लागि कुन युग, कुन सरकार पर्खेर बस्नुपर्ने हो ?

देशभर बढिरहेको बलात्कारका घटनाका विषयमा सडकदेखि सदनसम्म जनआक्रोश बढेको छ। कन्चनपुरमा १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा सरकारले गम्भीर ढंगले छानबिन नगरेको प्रकरण एक दृष्टान्त हो।

उक्त घटनाप्रति राज्य गम्भीर हुन नसक्दा घटनाले अनपेक्षित मोड लिन पुग्यो। कैयौं संघसस्था बलात्कारीलाई पक्राउ गर्न माग गर्दै सडकदेखि संसद्सम्म हंगामा गरियो अखिरमा राजनितिक दबाबका कारण घटना बिस्तारै सेलाउँदै गएको छ।

बालिका बलात्कारका घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग चौतर्फी बढिरहेका बेला उक्त घटनामा प्रहरीको संवेदनशीलता नदेखिनु आपत्तिजनक कुरा हो।

दोषीमाथि कारबाहीको माग गरी जनता सडकमा ओर्लिएपछि प्रहरीले गोली बर्साको घटना पनि जीवितै छ। अहिले स्थिति गम्भीर मात्रै नभएर हराइसकेको छ।

स्थानीयले राज्यलाई दबाबस्वरूप प्रदर्शन व्यापक बनाएका थिए तर उनीहरू पनि सेलाएका छन्। यस्ता जघन्य आपराधिक क्रियाकलाप सधैँ भैरहन्छन्।

तर प्रहरीले अपराधी जोगाउन खोज्ने, भ्रष्टाचार गर्ने, आर्थिक प्रलोभनमा परी सबुत लुकाउने खालका क्रियाकलापले जनताले सामाजिक सुरक्षाको प्रत्याभूति गर्न पाएका छैनन्। यससम्बन्धमा प्रहरी प्रशासन सक्रिय र संवेदनशील बन्न अत्यन्तै जरुरी छ।

– अस्मिता अधिकारी,
काभ्रेस्थली, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्