काठमाडौं महानगरपालिका खुला दिसामुक्त घोषित



नेपाल समाचारपत्र, काठमाडौं।मंगलबार काठमाडौं महानगरलाई खुला दिसामुक्त महानगरका रुपमा घोषणा गरिएको छ।

कार्यक्रममा जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्यले महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई महानगर खुला दिसामुक्त क्षेत्र घोषणा भएको प्रमाणपत्र प्रदान गर्नुभएको थियो।

प्रमुख शाक्यले महानगरमा यसअघि नै आधारभूत तहको सरसफाइको मापदण्ड पूरा भएको बताउँदै यसलाई पूर्ण सरसफाइमा रुपान्तरण गर्न नागरिक सचेत हुनुपर्ने र सरकारले अघि सारेका कार्यक्रममा नागरिकसहित साझेदारको सक्रिय सहभागिता हुनुपर्ने बताउनुभयो।

‘महानगरलाई पूर्ण सरसफाइ क्षेत्र बनाउन पर्याप्त सार्वजनिक शौचालयको आवश्यकता पर्छ, त्यसका लागि हामी प्राथमिकताका साथ काम गरिरहेका छौं’, शाक्यले भन्नुभयो– ‘काठमाडौंमा ७७ जिल्लाका मानिसबाहेक अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि मानिसहरू आउँछन्।

त्यसैले स्थानीयदेखि आगन्तुक सबै मानिसको शौच आवश्यकता पूरा गर्न दिगो समाधानका योजना बनाउँदै छौं।’

जिल्लासमन्वय समितिका अध्यक्ष शिवसुन्दर राजवैद्यले काठमाडौंलाई खुला दिसामुक्त महानगर घोषणा गर्न यसअघि नै मापदण्ड पूरा भइसकेको भएको बताउँदै शासन व्यवस्था परिवर्तनका कारण ढिला भएको धारणा राख्नुभयो।

‘हामीले काठमाडांैका सबै नगरलाई खुला दिसामुक्त नगर घोषित गरिसकेका छौं। आउँदो ३१ गते काठमाडौं जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्नेछौं’ –उहाँको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्