चिनियाँ विदेशमन्त्री वाङ स्वदेश प्रस्थान



काठमाडौं, (नेस)। नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी चीनको राज्य परिषद् सदस्य एवं चिनियाँ विदेशमन्त्री वाङ यी मंगलबार स्वदेश फर्कनुभएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्रसचिव शंकरदास वैरागी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायतले बिदाइ गर्नुभयो।

स्वदेश फर्कनुअघि विदेश मन्त्री वाङले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ।

उहाँहरूसँगको भेटवार्ता नेपाल–चीन सम्बन्धका विविध विषयमा केन्द्रित रहेको र चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणका बारेमा पनि केन्द्रित भएको बताइएको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका वाङले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो।

सोमबार नै दुवै मुलुकका परराष्ट्रमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता भएको छ। वार्तामा पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी विभिन्न तीनवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ।

प्रतिक्रिया दिनुहोस्