कांग्रेसको जागरण अभियान:मातृ पार्टीको सिकार बन्यो नेविसंघ



नेपाल समाचारपत्र, काठमाडौं। नेपाली कांग्रेसले हिजो मंगलबारदेखि दोस्रो चरणको राष्ट्रिय जागरण अभियान शुरु गरेको छ।

३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रीय यो जागरण अभियानप्रति भ्रातृ संस्था नेपाल विद्यार्थी संघका नेताहरूले आपत्ति जनाएका छन्।

आफ्नो मातृ पार्टी कांग्रेसले पहिलो चरणको जागरण अभियानमा पार्टीको भ्रातृ तथा शुभेच्छुक संघसंगठन गठन गरी पार्टीका विभागसमेत गठन गरी पार्टीमा एकता र मेलमिलाप अभियानका साथ दोस्रो चरणको जागरण सुरु गर्ने गरी जनतासँग भएका प्रतिबद्धता झुटो सावित भएको भन्दै नेविसंघले आपत्ति जनाएको हो।

नेविसंघका नेता मोतीलाल भण्डारीले जानकारी दिएअनुसार नेविसंघ महिनौंदेखि नेतृत्वविहीन छ भने पछिल्लो अधिवेशनदेखि नै चार जनाको केन्द्रीय समितिमा सीमित भएको नेपाल तरुण दलको पनि म्याद सकिन लागेको छ।

बाँकी रहेका कैयन भ्रातृ तथा शुभेच्छुक संघसंगठनको अवस्था पनि यस्तै रहेको छ। कांग्रेसले दोस्रो चरणको जागरण अभियान शुरु गरेकै दिन पत्रकार सम्मेलन गर्दै नेविसंघका नेताहरूले देशकै गौरवशाली इतिहास बोकेको शक्तिशाली विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ आफ्नै मातृ पार्टी नेपाली कांग्रेसको सिकार बनेको पनि जनाएका छन्।

समयमा महाधिवेशन सम्पन्न गरी सबै भ्रातृ संस्थाको निर्वाचनमार्फत नेतृत्व चयन गरी पार्टीलाई बलियो बनाउनुपर्ने बेलामा नेपाली कांगे्रस पार्टी नेतृत्वको अकर्मण्यताका कारण पार्टीको भ्रातृ तथा शुभेच्छुक संघसंगठन अलपत्र परेका भन्दै पत्रकार सम्मेलनमा नेविसंघका नेताहरूले भनेका छन्– ‘पार्टीको केन्द्रीय तहदेखि वडा तहसम्मका संरचना लथालि· भएका छन्।’

हालै सम्पन्न कांग्रेस केन्द्रीय समितिको बैठकले पार्टी महाधिवेशन उन्मुख गराउनुको साटो छलछाम गरी पार्टीको महाधिवेशनसमेत टार्ने षड्यन्त्र भएकोप्रति नेविसंघको ध्यानाकर्षण भएको जनाएका छन्।

वर्तमान सरकारको जनविरोधी कदम, वाइडबडी काण्ड, निर्मला हत्याकाण्ड, एनसेल करछली प्रकरणदेखि संवैधानिक निकायमा ना·ो हस्तक्षेप, विश्वविद्यालयहरूको स्वायत्ततामाथि गम्भीर प्रहार भइरहँदा र देशमा संस्थागत भ्रष्टाचारका विरुद्ध नेपाली कांग्रेस सदनमा मौन रहनुले नेतृत्वको कतै मिलेमतो त होइन भन्ने प्रश्न उब्जिएको नेविसंघ नेता भण्डारीले बताउनुभयो।

नेविसंघका महाधिवेशन पक्षधरका विद्यार्थीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख प्रतिपक्ष दलका रुपमा रहेको कांग्रेसले जनसरोकारको विषय उठाई सडकदेखि सदनसम्म प्रतिवाद गर्ने र पार्टी सुधार गर्नुको सट्टा झारा टार्नका लागि दोस्रो जागरण अभियान शुरु गरी पार्टीका भ्रातृ संस्थालाई निस्क्रिय बनाएको आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्