एटीएम नचल्दा सेवाग्राही मर्कामा

राष्ट्र बैंक भन्छ– नेप्सबाहेकको सबै चलेको छ



परिवर्तन देवकोटा, काठमाडौं।नेपालका विभिन्न बैंकको एटीएम सेवामा समस्या आउँदा सेवाग्राही मर्कामा परेका छन्।

नेपाललगायत बाहिरी देशका विभिन्न स्थानमा रहेका एटीएममा समस्या आउँदा देशभित्र र बाहिर रहेका सेवाग्राही समस्यामा परेका हुन्।

गत भदौ १४ गते शनिबार चिनियाँह्याकरहरूले नेपाल तथा भारतका विभिन्न बैंकको एटीएमबाट रकम चोरी गरेका थिए।

त्यसपछि असुरक्षित भएको तथा अनुसन्धानका लागि भन्दै नेपाल राष्ट्र बैंकले आकस्मिकरूपमा सबै एटीएम सेवा सञ्चालन रोकेको थियो।

केही समयपछि केही बैंकको एटीएममा समस्या नआए पनि लुटिएका बैंकहरूको एटीएममा अवरोध जारी नै रह्यो। नेपालबाट प्रभु, नबिल तथा हिमालयन बैंकबाट रकम लुटिएको थियो।

यी बैंकबाट रकम लुटिएसँगै अवरुद्ध बनेका एटीएम सेवा अझैसम्म सञ्चालनमा नआउँदा सेवाग्राही मर्कामा परेका छन्।

नेपालमा रहेका सेवाग्राहीका साथसाथै भारत, बैंकक तथा सिंगापुरमा रहेका नेपाली एटीएम सञ्चालनमा नआउँदा समस्यामा परेका हुन्।

समस्यामा पर्नेहरूमा विशेष गरी अस्पताल गएका बिरामी तथा विद्यार्थी रहेको नेपाल समाचारपत्रलाई सूचना प्राप्त भएको छ। अस्पतालमा तिर्ने रकम नहँुदा उपचार नै प्रभावित हुन थालेको उनीहरूले गुनासो गरेका छन्।

‘एटीएमबाट रकम निकाल्ने भनेर ब्यागमा बोकिएन, अहिले न एटीएम चल्छ, न अस्पतालमा तिर्ने रकम छ’, नेपाल समाचारपत्रसँग कुरा गर्दै भारतमा रहेका एक नेपालीले भने– ‘हामीलाई निकै नै समस्या भएको छ।’

एटीएमबाट पैसा निकाल्न नमिलेपछि सम्बन्धित बैंकलाई सम्पर्क गर्दा उनीहरूले झर्कोफर्को गर्ने गरेको समेत उनको गुनासो छ। ‘बैंकलाई फोन गर्दा उल्टै हामीलाई थर्काउँछन्, हामीले के गर्ने गर्ने ?’ –उनले प्रश्न गरे।

‘सबैतिरका बैंकको एटीएम ह्याक भएको छ, हाम्रो मात्रै हैन, यस्तो बेला किन कराएको भन्दै उनीहरूले हामीलाई झपारे’ –उनले नेपाल समाचारपत्रसँग भने।

यता, नेपाल राष्ट्र बैंक भने सबै एटीएम सञ्चालनमा आइसकेको बताउँछ। सबै बैंकका एटीएमहरू सञ्चालनमा रहेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताउनुभयो।

अहिले नेपाल इलेन्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स), प्रभु बैंक, नविल बैंक र हिमालयन बैंकको स्विचबाट एटीएम लिएका छन्।

अहिले नेप्सबाहेक ती बैंकहरूको स्विचबाट एटीएम सञ्चालन गरेकाहरूको एटीएम निर्वाध रुपमा चलिरहेको उहाँले बताउनुभयो।

चिनियाँह्याकरले नेप्सको सिस्टम नै ह्याक गरी एटीएमबाट रकम निकालेका थिए। अहिले नेप्सको सिस्टम तथा नेटवर्कहरू अपग्रेड गर्ने काम भइरहेको छ। ती काम छिट्टै सकिने भएकाले यसको विकल्प अपनाउन समेत प्रवक्ता निरौलाले आग्रह गर्नुभयो।

बैंकहरूले सेवाग्राहीलाई समस्याबारे नम्र भएर जानकारी दिनुपर्ने र काम कारवाही सञ्चालनमा ल्याउनुपर्ने उहाँले बताउनुभयो।

नेपाल समाचारपत्रको कुराकानीमा राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले भन्नुभयो– ‘बैंकहरूको एटीएममा समस्या आएको छ, सेवाग्राहीले सेवा पाएका छैनन्, यति हुँदा पनि बैंकका कर्मचारीले उनीहरूलाई थर्काउने ? यो त मिल्दैमिल्दैन।’

बैंकका कर्मचारीलाई संयमित हुन आग्रह गर्दै उहाँले थप्नुभयो– ‘सेवाग्राहीको समस्या सुन्ने धैर्यता राख्नुपर्छ, त्यसै गर्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौं।’

कुनै सेवाग्राहीले यो बैंकले हामीलाई झर्कोफर्को गर्यो भनेर नामसहित भनेमा राष्ट्र बैंकले त्यो बैंकलाई कारबाही गर्ने पनि उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्