प्रधानसेनापति भ्रष्टाचार उन्मूलन गर्न प्रतिबद्ध



नेपाल समाचारपत्र, काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापाले संगठनभित्र रहेका भ्रष्टाचार, अनियमितता, कमिसनखोरी र अपारदर्शितालाई उन्मूलन गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

नेपाली सेनाको नेतृत्व सम्हालेको एक वर्ष पुगेको अवसरमा मंगलबार सैनिक मुख्यालयमा सबै दर्जाका सैनिक र सञ्चारकर्मीको भेला गराई थापाले भन्नुभयो– ‘राष्ट्र र राष्ट्रियताप्रति समर्पित नेपाली सेनामा कसैले घाउ बनाउँछ, अनि हामी संगठनको प्रतिष्ठालाई जोगाउने नाममा त्यस घाउमाथि टेप टाँस्छौं, तर अब त्यसो हुन्न, त्यस्ता घाउलाई शल्यक्रिया गरेरै फालिन्छ।’ हरेक व्यक्तिले गर्ने पापको भारी आफू नबोक्ने उद्घोष गर्दैै प्रधानसेनापति थापाले अवैध गतिविधिमा संलग्न हुने जोसुकैलाई पनि

कारबाही गरेरै छाड्ने चेतावनी दिनुभयो। कुनै व्यक्तिका कारण संगठन बद्नाम हुन नदिने बताउँदै उहाँंले नेपाली सेनाभित्र हुने भ्रष्टाचारलाई नियन्त्रण गर्न निरीक्षणाधिकृतको संयोजकत्वमा भ्रष्टाचार छानबिन गर्ने समिति बनाएको घोषणा गर्नुभयो।

‘सस्तो दर प्रस्ताव गर्यो भन्दैमा राशन आपूर्ति गर्ने ठेकेदारले हामीलाई कमसल खाद्यान्न पठाउन पाउँदैन, हामीले ऊसँग कमिसन खाएका छौं भने कुरा बेग्लै हो, नत्र राम्रो भोजन चाहिन्छ भन्न किन डराउने।’ –थापाले भन्नुभयो।

सुधार अभियान शुरू गर्दा एक वर्षको अवधि धान्न चुनौतीपूर्ण होला भन्ने आफ्नो विश्लेषण रहे पनि संगठनमा देखिएको उत्साह र सकारात्मक प्रभावले थप एक पाइला अगाडि बढ्न हौसला प्राप्त भएको उहाँको भनाइ थियो।

‘सेनामा काम थालेको सात वर्षभित्र राष्ट्रसंघीय शान्ति सेनामा पठाउने तयारीका साथ काम गर्दै छु’, थापाले करिब तीन घन्टा लामो सम्बोधनमा भन्नुभयो– ‘नेपाली सेनामा युवाको आकर्षण बढोस्, बाहिर रोजगारीमा जाने क्रम घटोस् भन्ने उद्देश्यका साथ काम भइरहेको छ।’

‘भनसुन र नातावादलाई हटाएर शान्ति सेनामा जाने कोटामा स्वच्छ छनोट गर्न मलाई शुरूमा चुनौती भएकै हो, तर सबैको सहयोगमा यसमा सुधार आएको तपाईंहरू सबैले महसुस गरेकै हुनुपर्छ’, प्रधानसेनापति थापाले भन्नुभयो– ‘मेरो कदमका कारण सेवारत जर्साबहरूलाई बाधा पुगेको हुन सक्छ।’ तर पनि सबैले सहयोग गरेको थापाले दाबी गर्नुभयो।

उहाँले भन्नुभयो– ‘विगत एक वर्षमा नेपाली सेना र यसका सदस्यहरूको प्रतिष्ठा बढाउनका लागि तपाईंहरू सबैको योगदान छ, सम्मानमा भएको अभिवृद्धिलाई ताली बजाएर स्वागत गरौं।’ थापाले सबै सहभागीका साथ आफूले पनि ताली पिटेर सैनिक परिवारको हौसला बढाउनुभयो।

‘नेपाली सेनालाई कमजोर बनाउने गरी ऐन बनाउने कार्यमा कसैले मलजल नगरोस्, म चेतावनी दिन चाहन्छु, यसले कसैको भलाइ गर्दैन।’ –उहाँले सतर्क गराउनुभयो।

आफूले हिरो बन्न वा सस्तो लोकप्रियताका लागि प्रणाली र पद्धतिमा सुधार प्रयास नथालेको थापाको भनाइ थियो। ‘मसँग धेरै सहज बाटाहरू पनि थिए र अझै पनि छन्। तर, मैले कठिन भए पनि सही

तरिकाले पदीय दायित्व निभाउने अठोट गरेको छु’, थापाले भन्नुभयो– ‘बाधा व्यवधानहरू पच्छाएर, गलत पद्धति विकास हुन नसक्ने गरी दुई वर्षपछि आउने उत्तराधिकारीलाई पद हस्तान्तरण गर्न चाहन्छु।’

यसका लागि आफू अझ कठोर हुने उहाँले बताउनुभयो। थापाले कार्यकालको अन्तिम वर्ष नेतृत्व हस्तान्तरणमा केन्द्रित रहने भन्दै त्यसअघि नै संगठनको क्यान्सर निको पार्ने आफ्नो लक्ष्य रहेको बताउनुभयो।

उहाँले संगठनभित्रको कमजोरीलाई क्यान्सर भन्नुभएको थियो।प्रधानसेनापति थापाले आफ्नो सम्पत्ति विवरण वेबसाइटमै राखेर सार्वजनिक गर्नुभएको छ।

आफू र आफ्नो परिवारको नाममा रहेको चल–अचल सम्पत्ति सार्वजनिक गर्दै थापाले भ्रष्टाचार निवारण ऐन–२०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन–२०४८ को दफा ३१ को उपदफा (१) को प्रयोजनका लागि भन्दै सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ।

‘मैले त सम्पत्ति सार्वजनिक गरें, तपाईंहरू पनि यसरी नै सार्वजनिक गर्नुस् म भन्दिनँ, तर संगठनलाई भने त्यसको विवरण दिनैपर्छ, विशेष कारण नभई र तपाईंको स्वीकृति नभई त्यो पब्लिकमा भने जाने छैन।’ –थापाको आह्वान थियो।

थापाले काठमाडौं, लम्जुङ, नवलपरासीलगायतका स्थानमा रहेको जग्गाको विवरण, सुन, चाँदी र हीराका गहना, बैंक, वित्तीय संस्थामा रहेको नगद, धितोपत्र, शेयरसहित बैंकबाट लिएको ऋणको पनि विवरण खुलाउनुभएको छ।

थापाले श्रीमती दीपा थापा र छोरी रूरू थापाको नाममा रहेको सम्पत्ति पनि सार्वजनिक गर्नुभएको छ। थापासँग ५५ तोला सुन, ५ सय ९० तोला चाँदी र करिब १० लाख रुपियाँमा खरिद गरेको हीराको हार र औंठी रहेको विवरणले देखाउँछ।

प्रधानसेनापति थापाका उपलब्धि र कार्यक्रमका बारेमा उद्घोष हुँदा दर्शकदीर्घाका सहभागीले बारम्बार ताली पिटेर स्वागत गरेका थिए।
सेनामा खुला प्रश्नोत्तर

प्रधानसेनापति थापाले शुरू गर्नुभएको गुनासो सुन्ने अभियानअन्तर्गतको प्रश्नोत्तर कार्यक्रममा सैनिक मुख्यालयभित्र नै सलाम नफर्काएको अभियोगमा ३० जनाभन्दा बढीलाई कारबाही गरिएको बताइएको छ। जवानदेखि अधिकृतसम्म सैनिक नियम पालना नगरेको भन्दै कारबाहीको भागिदार भएको पनि सवाल–जवाफमा खुलासा भएको छ।

सवाल–जवाफ कार्यक्रममा तल्ला तहका कर्मचारीले उठान गरेको विषयमा जवाफ दिँदै विभागीय प्रमुखहरूले प्रगति विवरणसहितको उत्तर दिएका थिए।

जमदार प्रेमबहादुर बस्नेतले सेनाभित्र सानाले सलाम गर्दा ठूलाले वास्ता नगर्ने र सकेसम्म आफ्नो मदर युनिटबाहेक अन्य युनिटका पदिक तथा अधिकृतलाई सलाम नगर्ने प्रवृत्ति बढेको भन्दै गरेको गुनासोको सुनुवाइ गर्दै मुख्यालयले ३० जनामाथि कारबाही नै गरेको र सलाम कार्यविधि नै निर्माण गरेर सबै ३ सय ८४ वटै युनिटमा पठाइएको जानकारी कार्यरथी विभागका उपरथी सुवर्णबहादुर शाहले प्रधानसेनापतिसहितको टोलीलाई जानकारी गराउनुभएको थियो।

प्रधानसेनापतिसँंग गुनासो तथा सुझाव कार्यक्रममा सहभागी हुने तल्लो दर्जाले व्यक्तिगत कुराभन्दा पनि संगठनको सुधारका विषयमा जोड दिएर प्रधानसेनापतिसंँग प्रश्न राखे भने अधिकृतहरूले सामूहिकभन्दा पनि आफूले यो पाएको र त्यो नपाएको भन्ने प्रश्न बढी गरेका थिए।

शुरू–शुरूमा देशभरबाट आउने फोन प्रधानसेनापति आफैंले उठाउने गरेकोमा कुन ठाउंँमा के भइरहेको छ भन्ने जानकारी प्रधानसेनापतिलाई नहुने भएका कारण विभागीय प्रमुखहरूलाई राखेर उक्त अभियान सञ्चालन भइरहेको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्