सेनामा गलत काम गर्नेहरूप्रति कठोर हुने प्रधानसेनापतिको चेतावनी



काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले आफू हिरो बन्न वा सस्तो लोकप्रियताका लागि मात्र प्रणाली र पद्धतीमा सुधारको प्रयास नथालेको बताएका छन् । नेपाली सेनाको कमाण्ड सम्हालेको एक वर्ष पुगेको अवसरमा मंगलबार जङ्गी अड्डाबाट सकल दर्जालाई सम्बोधन गर्दै सेनापति थापाले यस्तो बताएका हुन् ।

‘परम्परागत शैलीबाट संगठन चलायौं भने हामी त सेवानिवृत्त भएर जान्छौं तर निकट भविश्यमा कुनै एक दिन फर्किन नसक्ने गरी समस्याहरुको भूमरीमा परी टाउकोमा हात राखेर बस्नुपर्छ अवस्था तपाईंहरुले भोग्नुपर्नसक्छ,’ थापाले भने । सुधार अभियान सुरु गर्दा एक वर्षको अवधि धान्न चुनौतीपूर्ण होला भन्ने आफ्नो विश्लेषण रहेपनि संगठनमा देखिएको उत्साह र सकारात्मक प्रभावले थप एक पाइला अगाडि बढ्न होसला प्रदान गरेको बताए ।

शान्ति सेनाको कोटाबारे आफूले चालेको कदम चुनौतीपूर्ण तर सेनामा घट्दो आकर्षणलाई रोक्न एक मात्र विकल्प भएको थापाले बताए । यसले सेवारत जर्साबहरुलाई बाधा पुगेको हुनसक्ने भए पनि सबैले सहयोग गरेको थापाले बताए ।

संगठनको समस्याका रुपमा भर्ना प्रक्रियामा भनसुन, घरकाज, अपारदर्शी खर्च, कमसल भौतिक संरचनाका साथै सेनाको चरित्रहरण गर्ने विषयलाई पहिल्याएको थापाले बताए । ‘जहाँ समस्या छ, त्यहाँ औषधि सर्जरी गर्दैनौं भने निको कसरी हुन्छ ?भन्दै थापाले समस्या समाधान गर्न नियमित अभ्यासले समय पनि लाग्न सक्ने बताए।’

थापाले थपे, ‘केही घाउ खटिरा हुनसक्छन् । घाउका रुपमा केही अवशेष र क्यान्सर बाँकी रहृयो भने त्यसले नेपाली सेनालाई सदा दुःख दिइरहने छ ।’

आफूले हिरो बन्न वा सस्तो लोकप्रियताका लागि प्रणाली र पद्धतीमा सुधार प्रयास नथालेको थापाले बताए । ‘मसँग धेरै सहज बाटाहरु पनि थिए र, अझै पनि छन् । तर मैले कठिन भएपनि सही तरिकाले पदीय दायित्व निभाउने अठोट गरेको छु,’ उनले भने, ‘बाधा व्यवधानहरु पच्छाएर, गलत पद्धती विकास हुन नसक्ने गरी सम्भावित उत्तराधिकारीलाई पद हस्तान्तरण गर्न चाहन्छु ।’

यसका लागि आफू अझ कठोर हुने उनले बताए । सेनापति थापाले भने, ‘आवश्यक परे घाउको शल्यक्रिया गरी फ्याक्ने उपचारका लागि आगामी वर्ष म केही कठोर हुनसक्ने सम्भावनाबारे तपाईंहरुलाई सजग गराउन चाहन्छु ।’

थापाले कार्याकालको अन्तिम वर्ष नेतृत्व हस्तान्तरणमा केन्द्रित रहने भन्दै त्यसअघि नै संगठनको क्यान्सर निको पार्ने आफ्नो लक्ष्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्