ग्वाल्लेकमा औलोको बिरामी फेला



विनोद सिंह विष्ट, बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा नं ९ ग्वाल्लेकमा पहिलोपटक औलो (मलेरिया) का बिरामी भेट्टिएका छन् । जोशीबुंगा स्वास्थ्य चौकीमा बिरामी भएर आएकी स्थानीय ३० बर्षीया लक्ष्मी ओडमा औलोरोग भेट्टिएको स्वास्थ्य चौकी इञ्चार्ज हेल्थ असिस्टेन्ट शिव कुमार कठरियाले जानकारी दिनुभयो ।

कामेर ज्वरो आउँने, वेहोस हुने लक्षणसहित स्वास्थ्यचौकीमा चेकजाँचको लागी आएकी लक्ष्मीको रगत परिक्षण गर्दा औलो भएको पुष्टि भएको उहाँले बताउनुभयो । लक्ष्मी गएको १ महिनायता जिल्ला बाहिर कतै नगएको भएपनि औलो रोग देखापर्नुले आसंका पैदा गरेको स्वास्थ्य चौकीले जनाएको छ ।

चिसो ठाउँ हिउँदको समयमा हिउँ पर्ने भएपनि यस्तो ठाउँमा औलो देखिनुले अरु पनि औलो भएको हुनसक्ने स्वास्थ्य चौकी इञ्चार्ज कठरियाको भनाई छ । पोथी एनोफेलेस जातिको लामखुट्टेले टोकेपछि सर्ने भएकोले लामखुट्टको टोकाइबाट बच्न स्वास्थ्यकर्मीको सुझाव रहेकोछ ।

सबै स्वास्थ्यसंस्थाहरुमा यसको निशुल्क चेकजाँच र उपचार हुने भएकोले मलेरियाको भएको शंका लागेका समयमै स्वास्थ्यसंस्था जानुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्