म्याग्दीको जगन्नाथ मन्दिरमा १२ घण्टे अखण्ड किर्तन



प्रताप बानियाँ, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरस्थित गाजनेमा रहेको जगन्नाथ मन्दिरमा १२ घण्टे अखण्ड किर्तन गरिएको छ । रघुगंगा तथा मंगला गाउँपालिका र बेनपा अन्तर्गत विभिन्न वडाका स्थानीयले सोमबार बिहान ३ बजेदेखि दिउँसो ३ बजेसम्म मन्दिर परिसरमा अखण्ड किर्तन गरेका हुन् ।

चौमास ब्रत अन्तर्गतको हरिपरिवर्तनी एकादशी पर्वको अवसर पारेर धार्मिक क्षेत्रमा अखण्ड किर्तन गरिएको जगन्नाथ मन्दिरले जनाएको छ । पाखापानी, झीँ, वाखेत, गाजने र पूर्णगाउँका स्थानीयवासीहरु आइतबार साँझ जगन्नाथ मन्दिरमा भेला भई रातीबाट अखण्ड किर्तन गरिएको जगन्नाथधाम गुठी सञ्चालन तथा व्यवस्थापन समितिका सचिव निलकण्ठ शर्माले जानकारी दिएका छन् ।

अखण्ड किर्तनमा करिब १ सय ५० जनाले सहभागिता जनाएका थिए । आषाढ शुक्लपक्षदेखि कार्तिक शुक्लपक्षसम्म वैकुण्ठधामबाट भगवान् विष्णु पनि पातालमा आएर बस्ने हुँदा उनैको नाम पारेर अखण्ड हरिकिर्तनका साथै चौमास ब्रत बस्ने गरिएको सचिव शर्माको भनाइ छ । आजैको दिन अर्थात् हरिपरिवर्तनी एकादशी तिथिको दिनमा भगवान् विष्णुले कोल्टे फेर्ने गरेको किम्बदन्ती रहेको छ । गाउँघरमा हराउँदै जान थालेको भजनकिर्तन गाउने कार्यलाई जोगाउन लागि मन्दिर परिसरमा किर्तन गरिएको सहभागीहरुले बताएका छन् ।

जगन्नाथ मन्दिरमा धान्य पूर्णिमाको अवसरमा हरेक वर्षको मंसिर तथा पुस महिनामा समेत अखण्ड किर्तन गरिँदै आएको छ । लामो समयसम्म खडेरी परेर पानी नपर्दाको समयमा पनि जगन्नाथ मन्दिर परिसरमा अखण्ड किर्तन र हवन गर्ने परम्परा रहेको स्थानीय बताउँछन् । पछिल्लो समय गाउँघरमा भजनकिर्तन गर्ने परम्परा हराउँदै गैरहेको अवस्थामा धार्मिक क्षेत्रमा भने यसले निरन्तरता पाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्