क्यानाडाका सिटि बसमा भिजिट नेपाल २०२० को प्रचार तिब्र



नयुज अफ नेपाल ,काठमान्डौँ । नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी देश तथा बिदेशमा प्रचार प्रसारलाई तिब्रता दिइन थालिएको छ । सोही क्रममा क्यानाडाका सिटि बसमा नेपालका महत्वपूर्ण पर्यटकीय स्थलका तस्विरहरु राखी प्रचार प्रसार थालिएको छ । नेपाल पर्यटन बोर्ड क्यानाडाका मानार्थ प्रतिनिधि नरबहादुर टण्डनको अगुवाई तथा नेपाल र क्यानाडामा रहेका विभिन्न संघ संस्थाको सहकार्यमा सो अभियान थालिएको हो ।

मिसिसागाका १० वटा सार्वजनिक बसमा नेपालको सर्बाेच्च शिखर सगरमाथा, पशुपतिनाथ, लुम्विनी, पोखरा, नेपालकी जीवित देवी कुमारी, सुदूरपश्चिम प्रदेशको खप्तड, बडिमालिका, अपि सैपाल हिमाल लगायतका पर्यटकीय गन्तव्यस्थलहरु राखिएका छन् ।

दुई महिनासम्म मिसासागा, टोरन्टो, ब्रहामटन लगायतका सहरमा यसरी प्रचार प्रसार गरिने मानार्थ प्रतिनिधि टण्डनले बताउनुभयो । क्यानाडाको मिसिसागा रिभरवड पार्कमा नेपाल झल्काउने तस्विर अंकित सिटि बस ल्याई पञ्चकन्याका साथ कार्यक्रमको उद्घाटन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि मिसिसागाका सांसद दीपक आनन्दले सिटि बसको प्रचारप्रसारले भ्रमण वर्षलाई सघाउ पुर्याउने बताउनुभयो । आफू पनि भिजिट नेपाल २०२० का बीच सपरिवार नेपाल जाने बताउँदै उहाँले अरु क्यानाडीयन पर्यटकहरुलाई पनि नेपाल जान आग्रह गर्नुभयो । नेपाल पर्यटन बोर्डको समन्वयमा, क्यानाडा नेपाल पर्यटन संस्कृति तथा व्यापार मंच, टिपिएन नेपाल, गोइङ्ग नेपाल, एभिन्यूज खबर सुदूरपश्चिम प्रदेश ब्यूरो कार्यालयको सहकार्यमा यसरी पर्यटन प्रवद्र्धनको प्रचार प्रसार सुरु गरिएको हो ।

नेपाल पर्यटन बोर्ड क्यानाडाका मानार्थ प्रतिनिधि नरबहादुर टण्डनले नेपालको पर्यटन प्रर्बद्धनका लागी बिगतका दिनहरुमा पनि बिशेष कार्यक्रममहरु क्यानडामा गर्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्