नेकपा प्रदेश २ को शपथ ग्रहण कार्यक्रममा कुटाकुट, प्रदेशस्तरीय थुप्रै नेताको टाउको फुट्यो



जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नम्बर २ का दुई जिल्लाका पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रममा कुटाकुट भएको छ ।

एकअर्काको कुटाईबाट झण्डै आधा दर्जन नेता तथा कार्यकर्ता घाइते भएका छन् । घाइते मध्ये एक जनाको टाउको नै फुटेको छ ।

बर्दिवासस्थित सेवा समितिको हलमा सप्तरी र सिरहाका पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रममा कुटाकुट भएको प्रहरीले जनाएको छ ।

शपथ ग्रहण कार्यक्रम सुरु हुनुभन्दा अगावै नेता तथा कार्यकर्ताहरुले नाराबाजी सुरु गर्दै हलभित्रका कुर्सीहरु तोड्फोड गरेका थिए ।

पार्टीका अध्यक्ष तथा महासचिवले शपथ ग्रहण स्थगित गर्न निर्देशन दिएपनि अध्यक्ष प्रभु साहसहितकाले बलजफ्ती गर्न खोजेपछि झडप भएको थियो । असन्तुष्ट कार्यकर्ताहरुले अध्यक्ष प्रभु साहलाई हलबाट बाहिर निकालिदिएका छन् ।

असन्तुष्ट समूहले नाराबाजी गर्दै कुर्सी तोड्न थालेपछि दुईतर्फी झड्प भएको छ । झड्पलाई नियन्त्रण गर्न आएको प्रहरीले लाठी प्रहार गर्दा नेकपाका सप्तरी नेता देबनाथ यादव युवा नेता मधुसुदन यादव र अन्य नेकपा प्रदेशस्तरी नेताको टाउको फुटेको छ ।
जिल्ला कमिटिमा कहिले सदस्य नै नभएका व्यक्तिलाई जिल्ला सदस्य बनाएको भन्दै सप्तरी, सिरहासहित प्रदेश २ को आठै जिल्लामा विवाद उत्पन्न भई झडप भएको प्रहरीले जनाएको छ ।

अहिले पार्टीका प्रदेश नेता सुमनराज प्याकुरेल र महेन्द्र पासवानले दुबै पक्षसँग वार्ता गरिरहेका छन् ।

महोत्तरीको बर्दिवासमा आठै जिल्लाका पदाधिकारीहरुको शपथ ग्रहण गर्ने कार्यक्रम निर्धारण गरिएकोमा मंगलबार सप्तरी र सिरहाका पदाधिकारीहरुको मात्रै शपथ ग्रहण कार्यक्रम राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्