पेट्रोलियम पाइपलाइन उद्घाटनः मोदीले स्वीच थिचेर डिजल ‘सेन्ड’ गरे, ओलीले स्वीच थिचेर रिसिभ गरे



न्युज अफ नेपाल, काठमाडौं । नेपाल र भारतका प्रधानमन्त्रीले आ–आफ्नै निवासबाट मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीबाट एकै पटक स्वीच थिचेर पाइपलाइनको उद्घाटन गरेका हुन्।

मोदीले स्वीच थिचेर डिजल ‘सेन्ड’ गरे भने ओलीले बालुवाटारबाट स्वीच थिचेर रिसिभ गरेका हुन् ।

कम्प्युटरकै माध्यमले पाइपलाइन बन्द र खुला गर्न अमलेखगञ्जमा कन्ट्रोल रुम बनाइएको छ। पेट्रोलियम पाइपलाइनलको क्षमता दैनिक २४ घण्टासम्म सञ्चालन हुन सक्ने छ।

प्रति घन्टा २९४ किलोलिटर तेल पाइपबाट आउँछ। पाइपलाइनबाट आएको तेल आजैबाट बजारमा पठाइने आयल निगमले जानकारी दिएको छ। तेल शुरूमा प्रमुख शहर काठमाडौं, पोखरा र अमलेखञ्जमा पठाइन्छ निगमले जनाएको छ ।

अमलेखगन्ज डिपोमा पाइपलाइनबाट आएको तेल भण्डारणका लागि ४ वटा ट्याङ्की राखिएका छन्। ४१ सय किलोलिटर क्षमताका दुई वटा र ३९ सय किलोलिटर क्षमताका दुई वटा ट्याङ्की छन्।

पाइपलाईनबाट तेल आउन थालेपछि झन्डै बार्षिक ७० देखि ८० करोड रुपैँया बचत हुने बताइएको छ । अहिले डिजल मात्र आउने र पेटोल आउन भने करिव १ वर्ष लाग्ने निगमले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्