तातोपानीका धारा र मुहान म्याग्दीखोलाको चपेटामा (फोटोफिचर)



प्रताप बानियाँ, म्याग्दी । तातोपानीका धारा र मुहान म्याग्दीखोलाको चपेटमा परेका छन् । बिरामीहरुका लागि प्राकृतिक उपचारको अस्पतालका रुपमा विकसित हुँदै गैरहेको तातोपानीका मुहान म्याग्दीखोलाको चपेटामा परेका हुन् ।

हरेक वर्ष वर्षात्को समयमा आउने खोलाको भलबाढी र नदी कटानको जोखिममा तातोपानीका कुण्ड पर्दछन् । म्याग्दी सदरमुकाम बेनीबजारदेखि ९ किलोमिटर पश्चिम बेनी नगरपालिका–४, सिङ्गास्थित तातोपानी बजारमा तातोपानीको कुण्ड रहेको छ ।

वर्षैपिच्छे असार महिनादेखि भदौसम्म म्याग्दीखोला उर्लेर आउने हुँदा कुण्डभन्दा बाहिर रहेका तातोपानीका दुईवटा मुहानहरु पुरिने गरेका छन् । यसवर्ष पनि म्याग्दी नदीमा पानीको बहाव बढेपछि त्यसको असरले गर्दा मुहान पुरिएको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

कुण्डभन्दा बाहिर रहेका दुईवटै तातोपानीका मुहान पुरिएपछि तातोपानी कुण्डमा स्नान गर्न जाने बिरामीहरुले कुण्डभन्दा बाहिरका मुहानमा नुहाउन पाएका छैनन् । अन्य समयमा तातोपानी कुण्डमा डुबुल्की मारेर बाहिर कुवा र धारामा गएर खुला ठाउँमा नुहाउने गरेका बिरामीलाई कुवा पुरिँदा नुहाउन समस्या भएको हो ।

वर्षासँगै म्याग्दीखोला बढ्ने भएकाले त्यसको प्रत्यक्ष असर खोला नजिकै रहेका दुईवटै कुवामा परेको छ । वर्षा नहुँदा खोलामा बहाव घट्दै गएमा भने पुरिएको कुवा पनि विस्तारै देखिने गरेको छ ।

कुण्ड बाहिर रहेका कुवा र धारा पुरिएपछि तातोपानी कुण्ड व्यवस्थापन समितिले भने कुण्ड परिसरभित्रै बिरामीहरुका लागि नुहाउने व्यवस्था गरेको जानकारी दिएको छ । प्रत्येक दिन बिहान ६ बजेदेखि ७ बजेसम्म ड्रममा कुण्डको तातोपानी भरेर बिरामीका लागि नुहाउने व्यवस्था गरिएको छ ।

महिलाका लागि ३ ओटा ड्रम र पुरुषका लागि २ ओटा छुट्टाछुट्टै ड्रमहरु राखी त्यसमा पानी भरेर बिरामीलाई नुहाउने व्यवस्थापन गरिएको छ । तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामीहरुलाई नै लक्षित गरेर कुण्डभित्रै नुहाउने व्यवस्था मिलाइएको हो ।

तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले म्याग्दीखोलाको किनारमा रहेका दुईवटा तातोपानीका कुवा वर्षेनी जोखिममा परेको हुँदा आवश्यक सुरक्षा सतर्कता अपनाइएको बताउनुभयो ।

उहाँले कुण्ड व्यवस्थापन समितिको तर्फदेखि भू–गर्भविद् समेत ल्याएर तातोपानीका कुवा देखाइए पनि त्यसको मूल स्रोत पहिचान नहुँदा संरक्षणको काम गर्न नसकिएको बताउनुभएको छ ।

तातोपानी कुण्डको संरक्षण, संवद्र्धन, व्यवस्थापन तथा प्रचारप्रसारका लागि कुण्डको तर्फदेखि आवश्यक पहल गर्दै आइरहेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष शाक्यको भनाइ छ ।

गएको वर्ष अविरल वर्षासँगै तातोपानी बजारको ढल व्यवस्थापन गर्ने क्रममा कुण्डमाथी थुपारिएको ढुङ्गा, गिटी र बालुवाका कारण वर्षाको पानी जम्मा हुँदा जमिन भासिएको थियो । तातोपानी कुण्डमा हाल दैनिक १ सयदेखि १ सय ५० जनासम्म बिरामीहरुले स्नान गर्दै आइरहेका छन् ।

दैनिक झण्डै १५ जना नयाँ बिरामीहरु थपिने गरेको कुण्डका कर्मचारीको भनाइ छ । तातोपानी कुण्डमा स्नान गरेपछि ग्यास्टिक, बाथ, युरिकएसिड, हाडजोर्नी दुख्ने, सड्केको, मर्किएको, घाउ, खटिरा, नशासम्बन्धी रोगलगायत चिसोका कारण उत्पन्न सबैखाले रोगहरु निको हुने जनविश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्