जेभियर, इनोभेटिभ र स्वप्न वाटिका च्याम्पियन



नेपाल समाचारपत्र, काठमाडौं।काठमाडौं जेभियर, इनोभेटिभ र स्वप्न वाटिकाले १०औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगितामा सोमबार च्याम्पियन बनेका छन्।

शंखमूलस्थित एआईएको कोर्टमा भएका फाइनल खेल जित्दै काठमाडौं जेभियर सिनियर ब्वाइज, इनोभेटिभ सिनियर गल्र्स र स्वप्न वाटिका जुनियर ब्वाइजमा च्याम्पियन बनेका हुन्।

प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा काठमाडौं जेभियरले न्यू समिटलाई ५८–४५ ले पराजित गरेको थियो। टोलीका जितमा प्रशान्त चहरले २६ अंकको योगदान गरे।

सो विधामा प्रकाश केसीको २४ अंकको सहयोगमा एसियन पब्लिकले स्पाङगेललाई ६५–५५ ले हराउँदै तेस्रो स्थान हात पारेको थियो।

यस्तै सिनियर गल्र्सको उपाधि भिडन्तमा इनोभेटिभले स्वप्न वाटिकालाई अक्तिरिक्त समयमा २७–२२ ले पाखा लगाएर उपाधि सुरक्षित गरेको थियो।

निर्धारित समयमा १८–१८ अंकले बराबरी भएपछि खेल अतिरिक्त समयसम्म पुगेको थियो। जसमा इनोभेटिभकी जेनिभा महर्जनले ९ स्कोर गरिन्।

काठमाडौं जेभियरले एसियनमाथि १७–१२ को जित निकाल्दै तेस्रो स्थानमा रह्यो। टोलीकी सविना खड्काले ९ अंक बटुलेकी थिइन्।

यसैगरी जुनियर ब्वाइज फाइनलमा स्वप्न वाटिकाले एसियनलाई २७–१८ ले पन्छाएर उपाधि जितेको थियो।

टोलीको जितमा प्रतीक राउत र अश्विक केसीले समान ९–९ अंकको योगदान दिएका थिए।

तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा हेम्सले चैतन्यलाई ११–८ ले पराजित गर्यो। विजेता टोलीका महेशराज भाटले ८ स्कोर गरे।

प्रतियोगितामा सिनियर ब्वाइजमा काठमाडौं जेभियरका प्रशान्त चहर, सिनियर गल्र्समा इनोभेटिभकी जेनिभा महर्जन र जुनियर ब्वाइजमा स्वप्न वाटिकाका अश्विक केसी ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए।

सिनियर ब्वाइजमा स्पाङगेलका रोहित बलामी, सिनियर गल्र्समा काठमाडौं जेभियरकी अपेक्षा गुरुङ र जुनियर ब्वाइजमा हेम्सका महेशराज भाट उदीयमान खेलाडी चुनिए।

सिनियर ब्वाइजमा न्यू समिटका सशांक महर्जन (१०५ अंक), सिनियर गल्र्समा स्वप्न वाटिकाकी सम्झना शाही (३३ अंक) र जुनियर ब्वाइजमा एसियनका सिमोन गुरुङ (५० अंक) प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने।

विजेतालाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), काठमाडौं प्याब्सनका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, एआईएका प्रिन्सिपल विष्णुप्रसाद अर्याललगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभएको थियो।

भदौ १३ गतेदेखि शुरू प्रतियोगितामा विभिन्न २४ विद्यालयका ५३ टिम सहभागी थिए। सिनियर ब्वाइजमा २५, सिनियर गल्र्समा १२ र जुनियर ब्वाइजमा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए। अर्को संस्करण डिल्लीबजारस्थित सूर्योदय स्कुलमा हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्